बुटवल । सर्प सम्बन्धी अध्ययन अनुसन्धान गर्ने संस्था अल्कोबाका अनुसार सन् २०२२ मा नेपालमा ४० हजार जनालाई सर्पले डसको थियो । सर्पदंशबाट सो वर्ष करिब तीन हजार जनाको मृत्यु भयो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् १९८७ मा नेपालमा वार्षिक २० हजार जना सर्पको टोकाईबाट प्रभावित भएका थिए भने एक हजार जनाको मृत्यु भएको थियो ।
यसरी हेर्दा नेपालमा सर्पदंशको दर र मृत्यु दर वर्षेनी बढ्दो छ । अन्य वन्यजन्तुको तुलनामा सर्पदंशबाट हुने मानवीय क्षति बढी भएपनि यसको रोकथामका लागि सम्बन्धित सरकारी निकायले पर्याप्त चासो नदिएको र लगानी पनि नगरेको यो क्षेत्रमा काम गर्ने संस्था र व्यक्तिहरुको गुनासो छ ।
यही परिवेशमा ‘मानव र सर्प बीच सहअस्तित्व प्रवद्र्धन’ नारासहित लुम्बिनी प्रदेशमै पहिलो सर्प महोत्सव तथा अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवस हुने भएको छ । तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयोगमा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्र परिसरमा अन्तराष्ट्रिय सर्पदंश दिवस पारेर असोज असोज १ र २ गते महोत्सव हुन लागेको महोत्सवका संयोजक तथा सर्पविशेषज्ञ कमल देवकोटाले बताए ।
महोत्सवले सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व पनि उजागर गर्ने छ । यस्तै सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी, सर्पको उद्घार कसरी गर्ने, औजारहरुको प्रयोग, सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुबाट आवश्यक जानकारी दिईनेछ ।
महोत्सवमा सर्पका प्रजातिबारे जानकारी, सर्पले टोकेको अवस्थामा के गर्ने, सर्पलाई मार्न नहुनेबारे आम जनसमुदायमा सचेतना फैलाउने विभिन्न गतिविधिहरु हुने सर्पविज्ञ कमल देवकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा ५ हजारजना बढीको सहभागिता हुने छ । जसमा सर्पविज्ञहरु करिब ३५ जना, स्कुल र कलेजका विद्यार्थी, शिक्षकहरु करिब ५ हजार जना सहभागी हुने छन् । महोत्सवले सर्प र पर्यावरण तथा वातावरणबीचको सम्बन्ध, जैविक विविधता संरक्षणमा सर्पको भूमिका विषयमा विज्ञहरुले जानकारी गराउने छन् ।
‘महोत्सवमा सर्पका प्रजातीबारे चिनाउने, सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी, सर्पको उद्घार कसरी गर्ने, औजारहरुको प्रयोग, सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुबाट आवश्यक जानकारी दिने छौ ’-देवकोटाले भने ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढि सर्पका बारेमा चिकित्सकहरुलाई तालिम दिएको प्रदेश पर्दछ । तर पनि उपचारको क्रममा विशेषज्ञ चिकित्सकहरु उपलब्ध नहुने समस्याका कारण धेरै घटनाहरु हुने उनले बताए । नेपालमा एक दर्जनभन्दा बढी विज्ञ चिकित्सक नरहेको हुंदा पनि देशभर उचित उपचार सेवा दिन सक्ने अवस्था नरहेको उनले बताए । ‘अस्पतालहरुमा तालिम प्राप्त विशेषज्ञ नहुदा पनि उपचारमा समस्या रहेको छ’—उनले भने । सर्पमा पनि पछिल्लोसमय राजगोमन बचाउने अभियानलाई बढी जोड दिएको उनले बताए ।
महोत्सवलाई सफल बनाउन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले आयोजकको रुपमा सक्दो सहयोग गर्ने अध्यक्ष बेलप्रसाद शर्माले बताए ।
‘सर्प महोत्सव लुम्बिनी प्रदेशमा पहिलोपटक हुन लागेको हो, यसले सर्पको अनुसन्धानमा पनि सहयोग पुराउने भएकाले हामी आयोजक भएर सहकार्य गरेका छौं’-शर्माले भने ।
केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले अधिकांश सर्पहरु विषालु नहुने भएकाले सर्पलाई देखेपछि मार्नुपर्छ भन्ने गलत मान्यताबारे महोत्सवले जनचेतना फैलाएर सर्प र मान्छे दुबैलाई जोगाउन भूमिका खेल्ने बताए ।
सर्पका कति प्रजाति छन् ?
विश्वमा करिब ४ हजार बढी प्रजातिका सर्पहरु पाइन्छन्, जसमध्ये करिब ७ सय प्रजातिका सर्पहरु मात्र बिषालु हुन्छन् । नेपालमा विभिन्न अनुसन्धानकर्ताहरुका अनुसार करिब ८४ देखि ९० प्रजातिका सर्पहरु पाइन्छन्, जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वको हिसाबले १८ प्रजातिका बिषालु सर्पहरु रहेको रेकर्ड गरिएको छ । नेपालमा तराईको सय मिटरदेखि हिमालको ४८ सय मिटर सम्म सर्पहरु पाइन्छन् । देवकोटाका अनुसार नेपालमा बिषालु सर्पहरुमा एलापिडाए परिवार अन्तर्गत कोब्रा, करेत र कोरल मात्रै पर्दछन् । जसको न्यूरोटक्सिन भेनोम हुन्छ । राजगोमन विश्वकै सबैभन्दा लामो र बिषालु सर्प हो र यो नेपालमा पनि पाइन्छ । भाइपरडाई परिवार अन्तर्गत बाघे सर्प (रसेल्स भाइपर र पिट भाइपर्स सर्पहरु पर्दछन्, जसको हेमोटक्सिन भेनोम हुन्छ । कोलोब्राइड परिवार अन्तर्गत नेपालमा र्हाब्डोफिस प्रजातिको सर्प मात्र बिषालु पाइएको सर्पविज्ञ देवकोटाले बताए ।
सबै सर्पहरु बिषालु हुंदैनन्
सर्पविज्ञ कमल देवकोटाका अनुसार सबै सर्पहरु बिषालु हुंदैनन् । सर्पले मानिसलाई टोक्ने भनेको पेट भर्नका लागि नभई यो त आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्र हो । यसको मुख्य आहारा त ससाना जीवहरु जस्तै मुसा, भ्यागुता, कीराफट्यांग्रा आदि हुन् । सर्पले आफुलाई खतरा महशुस भएमा मात्र मानिसलाई टोक्ने वा आक्रमण गर्ने हो । जब मानिसले झुक्किएर वा जानाजान सर्पलाई चलाउन पुग्छ, तब सर्पले आफ्नो प्रतिरक्षा स्वरूप टोक्न पुग्छ । सर्पलाई समात्न खोज्दा, जिस्क्याउँदा वा मार्न खोज्दा प्रायजसो सर्पदंशको घटना हुने गर्दछ । सर्पले मानिसलाई आक्रमण गर्छु वा टोक्छु भनी कुरेर बस्दैन, तिनीहरु मानिसलाई देख्दा त सकेसम्म भाग्नै खोज्छन् ।
पर्यावरणीय, धार्मिक र सांस्कृतिक महत्व
वातावरण विज्ञका अनुसार सर्पले पृथ्वीमा मानिस जत्तिकै महत्व बोकेको हुन्छ, किनकि सर्प पनि पारिस्थितिक पद्धति को एउटा अभिन्न अङ्ग हो ।
सर्पले ससाना कीराफट्यांग्रा, माछा, भ्यागुता, छेपारो, चरा र स्तनधारीहरुको आहार गर्दछ भने चिल, बाज़, न्याउरी मुसो आदि प्राणीहरुले सर्प र तिनीहरुको अण्डा आहार गर्दछन् । यसरी नै इको सिस्टम सन्तुलन भैराखेको हुन्छ ।
सर्पले प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा वातावरण र जीवजन्तुहरुलाई फाईदा नै पुर्याइरहेको हुन्छ । बर्षेनी लाखौँ रुपैयाँ बराबरको बालीनाली नष्ट गर्ने मुसा र अन्य कीराफट्यांग्रा मार्न किसानहरुले बिभिन्न पेस्ट कन्ट्रोल केमिकल प्रयोग गर्छन् । सर्पले प्राकृतिक तरिकाले नै यी मुसा र कीराफट्यांग्रा खाइदिएर एकातिर किसानको उत्पादन बढाईरहेको हुन्छ भने अर्कोतिर पेस्ट कन्ट्रोल केमिकलको प्रयोगमा कमी ल्याई वातावरण जोगाउन पनि मद्दत पुर्याइरहेको हुन्छ ।
धार्मिक तथा सांस्कृतिक महत्व
धार्मिक तथा सांस्कृतिक महत्वको हिसाबले पनि सर्प सम्बन्धी धेरै नै किम्वदन्तीहरु सुन्नमा आउँछन् । हिन्दु धर्ममा नागपंचमीका दिन सर्पलाई देवताको रुपमा पूजा गर्ने चलन छ । यसो गर्नाले सर्पदंशबाट बच्ने र सुख शान्तिले बास गर्छ भन्ने धार्मिक आस्था रहिआएको छ ।
चिकित्सकीय महत्व
सर्पको बिष, एन्टी स्नेक भेनम बनाउन प्रयोग हुन्छ जुन फेरी सर्पकै टोकाईको उपचार गर्न प्रयोग गरिन्छ ।
मानिसको ज्यान बचाउन सक्ने अन्य धेरै औषधीहरु बनाउन पनि सर्पको बिष प्रयोग गरिन्छ ।
न्युरोटक्सिन बिषबाट बनाइएका औषधीहरु मस्तिष्कको चोट, स्ट्रोक, मानसिक तनावको उपचारका साथै पीडा कम गर्ने औषधीको रुपमा प्रयोग हुन्छ ।
हेमोटक्सिन बिषबाट बनाइएका औषधीहरु हृदयघात र रक्तचाप सम्बन्धि उपचार गर्न प्रयोग गरिन्छ ।
यी सबै पक्षबारे महोत्सवले आम सर्वसाधारण र सरोकारवाला निकायमा जनचेतना फैलाउने आयोजकको विश्वास छ ।




