आज संविधान दिवस । नागरिकले चुनेका प्रतिनिधि रहेको संविधानसभाले संविधान बनाएको नौ वर्ष पुगेको छ । यो हिसाबले २०७२ साल असोज ३ गते जारी भएको संविधानको व्यवहारिक कार्यान्वयन भएको दशक पुग्दैछ ।
यो संविधानले नेपाली जनताले लामो समयदेखि गर्दै आएको एकताबद्ध संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई नागरिकले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटी निर्माण गर्न सम्भव गराएको हो । नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको छ । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमामात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्दै हामी अघि बढिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवन पद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ । कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्ताबेजको रुपमा संविधान स्थापित भएको छ । साथै कार्यान्वयनका क्रममा देखिएका कतिपय कमी कमजोरीका बारेमा बहस र छलफल हुन थालेको छ । संविधान अपर्वतनीय हुँदैन्, यो गतिशील दस्ताबेज हो । शासन प्रणालीलाई चुस्त बनाउन, नागरिक आकांक्षा पूरा गर्न र राष्ट्रिय हित तथा स्वार्थको रक्षाको लागि संविधान संशोधन हुनसक्छ । अहिले प्रमुख दुई दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन भएको छ । यी दुई दलले संविधान संशोधन गरी अघि बढ्ने समझदारी गरेका छन् । निर्वाचन प्रणालीलगायत कतिपय विषयलाई संशोधन गरेर अघि बढ्न सक्दा राजनैतिक स्थिरता कायम गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेर अघि बढेका छन् । प्रमुख दुई दलले अरु दललाई समेत साथमा लिएर संविधान संशोधनको कामलाई अघि बढाउनु पर्छ ।
संविधान बनेपछि चर्केको दलीय झगडाको व्यवस्थापन नहुँदा शासन प्रणाली संस्थागत र बलियो हुन सकेको छैन । अहिले नागरिकले व्यवस्था फेरियो तर अवस्था फेरिएन भन्न थालेका छन् । आज नै नागरिकको अवस्था बदल्लने संकल्प गरौं । शासन प्रणालीलाई संस्थागत गर्दै उद्योगधन्दाको विकास, रोजगारी श्रृजना र युवा जनशक्तिलाई देशमै केही गरेर बस्न सक्ने बनाउन राजनैतिक नेतृत्वले योजना बनाएर कार्यान्वयन गर्न ढिलाइ गर्न हुन्न । नागरिकको मुहारमा खुशी देखिदा नै संविधान कार्यान्वयन सफल मानिने हो । र, राजनैतिक व्यवस्था बलियो र संस्थागत हुने हो ।
अन्त्यमा, संविधान दिवसको अवसरमा सबैमा शुभकामना !




