अर्घाखाँची । अर्घाखाँचीका ३३ जना नागरिकले आफ्नो नेपाली नागरिकता त्याग गरेका छन् ।जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार स्थाई बसोबार विदेशमै गर्ने मनासाय बनाएर उतैको नागरिकता लिएका ३३ जनाले नेपालको नागरिकता परित्याग गरेका हुन् । वैवाहिक सम्बन्ध, पठन–पाठन, रोजगारी, व्यापार लगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन पर्ने गरेको छ ।
विशेष गरी अमेरिका, अष्ट्रेलिया, जापान लगायत युरोपियन मुलुक जाने र त्यहाँको परिचय–पत्र लिएपछी नेपालको नागरिकता परित्याग गर्ने गरेको पाईएको हो । नेपाल नागरिकता ऐन २०६३ जारी भएपछी प्रशासन कार्यालयबाट ३३ जनाले नागरिकता त्याग गरेका जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नुमलाल पन्थीले जानकारी दिए ।
विसं. २०७२ सालदेखी जिल्ला प्रशासनले नागरिकता त्यागेको अभिलेख राख्दै आएको छ । २०७२ साल यता ३३ जनाले औपचारिक रुपमा निवेदन दिएर नागरिकता त्यागेका हुन् । कुनै नेपालीले नागरिकता त्याग्न चाहेमा नागरिकता त्याग्न चाहेको व्यक्ती नेपालमै बसेको भए सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष तथा नेपाल बाहिर बसिरहेको भए सम्बन्धीत नेपाली राजदुत वा नेपाली नियोग प्रमुख, महाबाणिज्य दुत वा बाणिज्य दुतसमक्ष निवेदन दिनुपर्ने हुन्छ ।
अर्घाखाँचीबाट गत आव २०८०÷०८१ मा मात्र १८ जनाले गैरआवासिय नागरिकता बनाएका छन् । यो आव मा सात हजार ६ जनाले नेपाली नागरिकता बनाएकामा १८ जनाले गैरआवासिय तथा ६ जनाले वैवाहिक आंगिकृत नागरिकता बनाएका प्रशासनले जनाएको छ । जनगणना २०७८ अनुसार अर्घाखाँचीको कुल जनसंख्या १ लाख ७७ हजार ८६ रहेको छ ।




