बुटवल । बुटवल नेपालगन्जरोडको हैदराबादी बिरयानी सेन्टर पुनः सञ्चालनमा आएको छ । गत भदौ २० गते बुटवल उपमहानगरपालिकाको टोलीले अनुगमन गर्दा भान्सा (किचन) मा सरसफाई सुधार गर्न निर्देशन दिएको थियो ।
सोही अनुसार सेन्टरले केही दिन बन्द गरी किचनलाई आधुनिक र सरसफाईयुक्त बनाएपछि उपमहानगरको अनुगमन टोलीले शुक्रबार पुनः अनुगमन गर्दा धेरै राम्रो सुधार भएको भन्दै सञ्चालन गर्न भनेको हो । होटलले मापदण्ड अनुसार भान्सा सुधार गरेपछि सञ्चालनको लागि अनुमति दिइएको उपमेयर सावित्रादेवी अर्यालले जानकारी दिइन् ।
अनुगमनको क्रममा भान्सा सफा र ब्यवस्थित पाइएको उनको भनाई छ ।
‘हामीले कुनै व्यवसायीलाई हतोत्साही बनाउनु हुंदैन भन्नेमा स्पष्ट छौं’–अर्यालले भनिन्–‘व्यवसायीले पनि उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर व्यवसाय चलाउनुपर्छ ।’ उनले उपमहानगरपालिकाले अनुगमनलाई निरन्तरता दिइरहने समेत बताइन् ।
अनुगमन पछि उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले हैदराबादी बिरयानी सेन्टरको भान्सामा धेरै राम्रो सुधार भएकोले ढुक्कसँग यहाँको खाना खान सकिने बताए । उनले पहिले पनि राम्रो रहेको तर भान्सामा सरसफाईमा सुधार गर्नुपर्ने भएको कारण केही दिन बन्द गर्नुपर्ने स्थिति आएको बताए ।
बिरयानी सेन्टरका सञ्चालक जनक खड्काले बुटवल उपमहानगरपालिकाले दिएको निर्देशन अनुसार भान्सामा सुधार गरेर पुनः सञ्चालनमा ल्याएको बताए । ‘पहिलेको भन्दा धेरै राम्रो गुणस्तरमा बिरयानी र अन्य परिकार उपभोक्ताई दिन्छौं’–खड्काले भने–‘सरसफाईका मापदण्ड अनुसार किचनमा काम गर्ने कर्मचारीले एप्रोन, पन्जा अनिवार्य गरिएको छ । ’
यसअघि उपमहानगरको टोलीले अनुगमनमा क्रममा भेटाएका र दिएका सुझाव भन्दा फरक ढंगले एकतर्फी समाचार आउंदा आफ्नो ब्राण्ड र गुणस्तरमा भ्रम उत्पन्न भएको भन्दै खड्काले भ्रममा नपरी विगतमा जस्तै विश्वास गर्न आग्रह गरे ।




