बुटवल । बुद्धको जन्मस्थल लुम्बिनीदेखि बुद्धले ज्ञान प्राप्त गरेको बोधगयासम्म बोधिबृक्ष कोरिडोर बनाउने लक्ष्य सहित पहिलो चरणमा तिलौराकोट-लुम्बिनी सडकको दुबैतर्फ बृक्ष रोपण गर्न थालिएको छ । ३२ कलोमिटर दुरीको यो सडक खण्डमा भारत र नेपालका बृक्षरोपण अभियान्ताहरु दुई दिनसम्म पैदल यात्रा गर्दै करिब एक हजार थान बिरुवा रोप्ने छन् ।
असोज ५ र ६ गते (आज र भोलि) दुई दिनसम्म तिलौराकोटदेखि लुम्बिनीसम्म पीपल, बर, पारिजात, गुलमोहर, निम, तुलसी, कपुर लगायत जातका करिब एक हजार बिरुवाहरु रोप्न लागिएको हो ।
पीपल, निम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राविधिक समाजको आयोजना र तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहआयोजनामा बृक्षरोपण हुन लागेको हो ।
भारतको उत्तरप्रदेश,उत्तराखण्ड,हिमाञ्चल, उडिसा लगायत प्रदेशबाट २५ जना र जनकपुरबाट २५ जनाको टोलीले विभिन्न जातका बिरुवा ल्याएर रोप्नेछन् भने तिलौराकोट साझेदारी वन उपभोक्ता समूहले करिब एक हजार बिरुवा उपलब्ध गराउने भएको छ ।
यो अभियानमा कपिलवस्तुका कपिलवस्तु नगरपालिका,शुद्धोधन गाउंपालिका, मायादेवी गाउंपालिका,मायादेवी साझेदारी वन तथा रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी साझेदारी वनले सहकार्य गरेका छन् ।
यो बृक्षारोपण अभियानले लुम्बिनीको पर्यटन प्रवद्र्धनसंगै वातावरण र जैविक विविधता संरक्षण तथा जलवायू परिवर्तनका असर न्यूनिकरणमा ठूलो योगदान पुग्ने आयोजकको विश्वास छ ।
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले सरकारले लुम्बिनी-तिलौराकोट सडकलाई मायादेवी सुत्केरी मार्ग बनाउने योजना सरकारले अगाडि सारेको सन्दर्भमा यही सडकको दुबै तर्फ बृक्षरोपण गरी बोधीबृक्ष कोरिडोर बनाउंदा देशमै नमूना र हरियालीयुक्त सडक बन्ने बताए । ‘यो अभियानलाई निरन्तरता दिएर बोधीबृक्ष प्रजातिका रुखैरुखको हरियाली हुंदा यो सडक सांच्चिकै नमूना बन्न सक्छ, यसले पर्यटक र सडक प्रयोगकर्तालाई छहारी र शितलता दिन्छ र पर्यटकको बसाई लम्ब्याउंछ’-नगर प्रमुख पौडेलले भने ।
तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जयप्रकाश पाण्डेयले बृक्षरोपण अभियानले सडकलाई हरियालीयुक्त र मनोरम बनाउनुका साथै लुम्बिनीको पर्यटन प्रवद्र्धन, वातावरण र जैविक विविधता संरक्षणमा ठूलो योगदान पुग्ने बताए । ‘सडकको दुबैतर्फ तीनसयदेखि ५ सय मिटरको दुरीमा पीपल, बर, पारिजात, गुलमोहर, निम, तुलसी, कपुर, जग्रेण्डा लगायत जातका करिब एक हजार बिरुवा रोप्दै छौं, यसबाट सडक क्षेत्रमा पर्याप्त अक्सिजन उत्सर्जन भई जैविक विविधता संरक्षणमा राम्रो प्रभाव पर्छ’-पाण्डेय भन्छन्-‘बृक्षरोपण अभियानलाई निरन्तरता दिंदै बुद्धले ज्ञान प्राप्त गरेको बोधगयासम्मै बोधिबृक्ष कोरिडोर बनाउने लक्ष्य छ ।’
लुम्बिनी विकास कोषका वरिष्ठ प्रशमसकीय अधिकृत ज्ञानिन राईले तिलौराकोटा-लुम्बिनी हुंदै बोधगयासम्म बोधिबृक्ष कोरिडोर निर्माणको योजना सांच्चिकै कार्यान्वयन हुने र रोपिएका बिरुवा संरक्षण हुने हो भने लुम्बिनीको पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुने बताए । ‘बुद्धको जन्स्थलदेखि ज्ञान प्राप्ति स्थल बोधगयासम्म बोधिबृक्ष कोरिडोर बनाउने अवधारणा बौद्ध पर्यटन प्रवद्र्धनसंगै विश्वकै चुनौति बनेको जलवायू परिवर्तनका असर न्यूनिकरणमा पनि ठूलो महत्व राख्ने उदाहरण बन्नसक्छ’-राईले भने-‘बिरुवा रोपेपछि तिनलाई संरक्षण गर्नु र हुर्काउनु महत्वपूणर् हुन्छ ।’
यो अभियानमा अहिले लुम्बिनी विकास कोष नजोडिएपनि भविष्यमा ठोस प्रस्ताव आए जोडिएर सहकार्य गर्न तयार रहेको बताए ।




