पदम न्यौपाने - बुटवल । पाल्पामा राज्य गरेका सेन वंशीय राजाहरुले आफ्नो राज्य सञ्चालनका क्रममा राज्यलाइ निकै सवल र समृद्ध बनाएको देखिन्छ । पाल्पाको रिब्दिकोट राजधानी बनाएका सेन राजाहरु नेपाल एकिकरणका दौरान सम्म छिमेकी मुलुक भारतमा शासन गरिरहेका अंग्रेजहरुको नजरमा समेत परेका थिए । राज्य सञ्चालनमा थिति र सवलताको मापनमा अंग्रेजहरु मोहित भएका थिए । प्रकृति, वनजंगल र तिब्बतसंग व्यापारका लागि सहज व्यापारिक नाका पनि भएको कारण पाल्पा उनीहरुको नजरमा परेको थियो । शक्तिशाली पाल्पा राज्यमा आफ्नो कब्जा हुन सके त्यस माथिका साना राज्यहरु सहजै आफ्नो मातहत ल्याउन सक्ने अनुमान उनीहरुको थियो ।
पाल्पा राज्य जब नेपाल एकिकरणको प्रकृयामा प्रवेश गर्यो त्यसपछिका नेपाली शासकहरुले पाल्पाको महत्व विशेष रहेको बुझाइवाटै पाल्पालाइ नै मुख्य केन्द्र वनाइ थप सुरक्षा नीति अवलम्वन गरेको देखिन्छ । राज्यकालागि आवश्यक आर्थिक व्यवस्थापन र यस क्षेत्रको महत्वालाई बुझेर आफ्ना भरपर्दा र बहुआयामिक छवि बनाएका विश्वाशिला पात्रहरुलाई पाल्पा पठाएको देखिन्छ । उनीहरुबाट यो क्षेत्रको सवलतासंगै अग्रेजहरुको नजरलाई गहिरो अध्ययन सहितको रणनीति बनाएको पाइन्छ । यसैको परिणाम स्वरुप दुई पटकको अंग्रेज आक्रमणलाई निस्तेज बनाउन सफल भएको मात्र होइन, अंग्रेजहरुलाई सम्झौता गर्न बाध्यपनि गरायो । जसलाई नेपालको इतिहासमा सुगौली सन्धिको नामले परिचित पनि छ ।
त्यसै समयदेखि पाल्पा क्षेत्र इतिहास, संस्कृति र प्रकृतिले भरिपूणर् सोही अनुरुपका सम्पदायुक्त अवसर प्राप्त क्षेत्रको रुपमा रहेको छ । कतिपय सम्पदाहरु सांस्कृतिक विरासत समेत बनेको पाइन्छ । यस्ता विरासत भएका केही सम्पदाहरु पछिल्लो समयमा प्रशासनिक विभाजनवाट रुपन्देहीको बुटवल उपमनपाको वडा नम्बर १ बटौली क्षेत्रमा रहन पुगेका छन् । यस लेखमा बुटवलले प्राप्त गरेका त्यस्ता सम्पदा र इतिहास, संस्कृति र प्रकृतिका अनुपम सम्पदा र बुटवलले प्राप्त गरेका उपहार स्वरुपका सम्पतिहरुको व्यवस्थापनवाट समृद्धि र उन्नती ल्याउन सक्ने सम्भावनाका सन्दर्भका जिज्ञासा र सुझाव सहितको टिप्पणी गर्ने प्रयत्न गरिएको छ ।
गत महिना स्थानीय समाजसेवी निरोज मास्केले वडा अध्यक्ष र नगरपालिकाका प्रमुखलाइ बटौलीका सामयिक समस्या र आगामी कदमका लागि नपाको ध्यानाकर्षण गराउँदै तत्काल गर्नै पर्ने र नीतिगत व्यवस्था सहितको कदम चाल्न माग गर्दै बुझाएको पत्रलाइ उदृतगर्दै विषय उठान गर्ने जमर्को गरिएकोछ ।
सम्पदाहरु सार्वजनिक सम्पती हुन् । स्थानीय सरकारले यस्ता सम्पदा वा सम्पतीहरुको माध्यमवाटै आफ्नो पहिचान बनाउन सक्छन् । बटौली बजार र यस सेरोफेरोको क्षेत्र बहुमूल्य सम्पति रहेको क्षेत्र हो । बुउमनपा १ बुटवलका (बटौली) बासिन्दाहरु यसवाट गौरवान्वित हुनुपर्छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्र रहेका अन्य विभिन्न क्षेत्र भन्दा भिन्न र गरिमामय वजन बोकेको यो एक आकर्षक र अत्यन्त गहकिला सम्पदा रहेको विशेषतायुक्त क्षेत्र पनि हो बटौली ।
बटौली क्षेत्रका जीतगढी किल्ला, इतिहास र संस्कृति वोकेको मननारायण मन्दिर र निमचोक, गणेश मन्दिर, फूलवारी क्षेत्र र सेन वंशिय दरवारको भग्नावशेष एवं नुवाकोट जस्ता विश्व सम्पदा सूचिमा सूचिकृत हुनसक्ने सम्पदाहरु र यी सम्पदाको सांस्कृतिक मूल्य सहितको इतिहास गौरव गरिने पक्षहरु हुन् ।
नेपाल भारत र तिव्वत विचको नेपालका पुराना गनिने व्यापारिक नाकाहरु मध्यको एक, रणनीतिक महत्व बोकेको बजारको रुपमा यसलाई लिइन्छ । यो क्षेत्र मुक्तिनाथ क्षेत्र पुग्ने र विश्वको एक मात्र शालिग्राम प्राप्त हुने नदी कालिगण्डकी समेत नजिकै रहेको क्षेत्र पनि हो ।
भारतमा सयौं वर्ष राज गरेको इष्टइन्डिया कम्पनीले आफ्नो भौगोलिक र व्यापारिक साम्राज्य विस्तारकालागि चालेका कदम मध्ये सवैभन्दा बढी चासो दिएर पटक—पटक पहल गरेको तर हार खाएर नेपालसँग सम्झौता गर्न बाध्य बनाएको क्षेत्र पनि यही बटौली हो ।
बटौली क्षेत्र नेपाली सेनाका पाल्पा तैनाथवाला तत्कालीन कमाण्डर उजिर सिंहको बहादुरी, चातुर्यता र रणकौशल प्रदर्शन गरेको गाथा संगसंगै राज्य जोगाउन जनतापनि युद्धमा सहभागी भई इतिहासको एउटा सवल र सक्षम भूमिका निर्वाह गरेको बुटवल र यहाँका बासिन्दाहरुको क्षेत्र पनि यही हो ।
नेपाल र इष्ट इण्डिया कम्पनी बीच भएको सुगौली सन्धिका क्रममा अंग्रेजहरुको आफ्ना रणनीति असफल बनाउन महत्वपूणर् भूमिका र योगदान गरेका (मननारायण मन्दिरका संस्थापक मनराज(मणिराज) फौजदारलाइ सुपुर्दगी गर्न नेपालसंग माग राखेको) व्यक्तित्वले बचाएको क्षेत्र पनि हो यो भन्न सकिन्छ । यद्यपी यस भूमिकाकावारेमा गहिरो अध्ययन गर्न आवश्यक छ ।
राष्ट्र राष्ट्रियता र स्वाधीनताका लागि उद्धारण , अनि इतिहास, संस्कृति सम्वद्ध सम्पदा मात्र होइन हरित या पर्यापर्यटन, संस्कृति पर्यटन, सम्पदापर्यटन जस्ता सम्भावना बोकेको क्षेत्र पनि हो । बटौली बजारमा रहेका दुईसय वर्ष पुराना घरहरु आफैमा सम्पदाको संख्या र मूल्य बढाइरहेको पनि हो । तर अहिले यो क्षेत्र उपेक्षित बनेको छ ।
नगर प्रमुख समक्ष पेश गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका मुख्य समस्या तर तत्काल समाधान गर्न सकिने पक्षहरुका बारेमा पनि केही विवेचना गरौं ।
ध्यानाकर्षण पत्रमा भनिएको छ,— इतिहास संस्कृति र प्रकृतिको अनुपम उपहार प्राप्त गरेको बटौली क्षेत्रलाई बुउमनपाद्धारा बिशेष सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने र गुरुयोजना निर्माण गर्नुपर्ने महत्वपूणर् विषय उठान गरिएको छ, जुन अहिलेको आवश्यकता हो । फूलवारीस्थित सेन बशिंय दरबार (भग्नावशेष) को सुरक्षामा विशेष ध्यान दिन पुरातत्व विभागलाई कृयाशिल बनाउने र सोही भग्नावशेष दरबारको सेरोफेरोमा सोही दरबारको पूणर् रुप सहितको नयाँ दरबार निर्माणगरी नयाँ पुस्ताकालागि सेनकालीन दरबारको स्वरुप अवलोकन गर्ने अवसर प्रदान गर्नुपर्ने विषय निकै सान्र्दभिक देखिन्छ । पाल्पा शेन वंशिय राजाहरुको राजधानी भएपनि पाल्पामा अहिले कहीकतै दरबार र के भग्नावशेष समेत देख्न पाइदैन । शक्तिशाली राज्य र राजधानीको कुनै पहिचान देख्न नपाइने अवस्थालाई फूलवारी क्षेत्रको यो गृष्मकालीन दरबारको भग्नावशेष अत्यन्तै महत्व राख्ने सम्पदा पनि हो । यहांको जीतगढी किल्ला र मननारायण मन्दिर एवं फुलवारीको सम्वन्ध अत्यन्त प्रगाढ र महत्वपूणर् रहेकोले यो सम्वन्धलाई मजबुत बनाउन पहल गर्ने कार्यक्रम र योजना आवश्यक देखिन्छ ।
भ्mण्डै सवा दुई सय वर्ष पुरानो मननारायण मन्दिरको महत्व र गरिमा अनि आस्थाको थप विस्तार गर्न मननारायण रथ यात्रालाई विस्तार गरी बुटवल बजारदेखि मणिग्रामसम्म पुर्याउने व्यवस्था मिलाउने साथै मन्दिर परिसर नजिकवाट बग्ने तिनाउ नदी (तिलोत्तमा नदी) किनारमा आरती प्रारम्भ गर्ने व्यवस्था गर्ने हो भने यसवाट बटौली बजारमा चहलपहल बढ्ने साथै आर्थिक गतिविधिमा चलायमान आउने देखिन्छ । यसको व्यवस्थापनकालागि मन्दिरकै नाममा विभिन्न स्थानमा रहेका गुठी जग्गाको आम्दानी बाटै गर्न सकिन्छ ।
यस कार्यमा वडा र नपाको चासो बढउनु पर्ने देखिन्छ ।
निमचोक तत्कालिन व्यापार व्यवसायको प्रमुख थलो रहेको देखिन्छ । बुटवल वजारको विकास हुनु अगावै यही बटौली बजारलेनै व्यापारमा ठूलो योगदान गरेको थियो । यो बजार र यहाँवाट व्यापार बढाउने कार्यमा र निम चोक निर्माणमा मनराज फौजदार (मणिराज) को योगदान रहेको देखिन्छ । तर यसको तथ्य स्पष्ट पार्नकालागि हाल सम्म कुनै अध्ययन गरेको पाइदैन तर अव यसको आवश्यकता देखिन्छ ।
मनिराज फौजदार भिमसेन थापाले सेनाकालागि रसदपानी व्यवस्थाकालागि पठाएको हो वा अमरसिंह थापाले आफूसंगै काठमाण्डौवाट लिएर आएको हो भन्ने वारे फरकफरक भनाइहरु पाइन्छ । तर उनी बटौलीमा रहदा बटौली बजारको रक्षाका साथै जीतगढी युद्धमा गरेको योगदानको स्मरण गर्दै ऐतिहासिक संग्रहयुक्त पुस्तक प्रकाशन र निमचोकमा उहाँको अर्धकदको शालिक स्थापनामा पहल गनुपर्ने पक्ष पनि सान्दर्भिक देखिन्छ । किनकी व्यापार गर्नेहरु पनि राष्ट्रकालागि योगदान गर्न सक्छन भन्ने गतिलो उदारण बन्न सक्छ । यसवाट निजि क्षेत्रको मनोवल उचो बनाउन भूमिका खेल्नेछ ।
बटौली बजारमा रहेका झण्डै ५ दर्जन घरहरु सम्पदायुक्त घरहरु छन् । यी घरहरुकै कारण बटौली वजार हेरिटेज सिटीको रुपमा विकास हुन सक्ने आधारहरु हुन । बुटवल उपमहानगरपालिकाले तत्काल भवन निर्माण कार्यविधि बनाइ लागुगर्ने तत्परता देखाउने हो भने बटौली बजार विशेष संरक्षित सांस्कृतिक र ऐतिहासिक क्षेत्र बन्नेछ । यसवाट पर्यटन क्षेत्रमा ठूलो फड्को मार्नेछ ।
बुटवल उपमहानगरपालिकाको आम्दानीमा बृद्धि हुनेछ ।
यसर्थ उपमहानगरपालिकाले यो क्षेत्रको विशेषता वेग्लै भएको(जंगलको नजिक, फूलवारीको नजिक, जीतगढीको नजिक, नदी किनार नजिक र धार्मिक आस्थाको पुरानो मननारायण मन्दिर , गणेश मन्दिर तथा अन्य धार्मिक स्थलहरु भएको) पहिचान गरी महत्वकासाथ
विशेष कदम चाल्न आवश्यक देखिन्छ ।
बुटवल उपमहानगरपालिकाले चालु आवकालागि पर्यटन विकास र प्रवद्र्धन नीति समेत सफल बनाउनकालागि बटौली क्षेत्रले नै प्रमुख भूमिका निर्वाह गर्न सक्छ । यसर्थ यस्ता रचनात्मक सुझावहरुको समयमै ग्रहणगरी कदम चाल्नु उचित हुनेछ । (पाल्पा सरोकार समाजका अध्यक्ष न्यौपाने सम्पदा संरक्षणमा रूची राख्छन् ।)




