भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ हस्पिीटालिटीको सहकार्यमा ४ वर्षे ब्याचलर इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट (बीएचटीएम) पढाइने भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच सहकार्यमा पढ्दै, सिक्दै, कमाउने अवसर विद्यार्थीहरुले पाउने भएका हुन ।
बीएचटीएम अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यावहारिक ज्ञानका साथ पढ्दै कमाउँदै गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भई सहकार्य भएको हो । विद्यार्थीले चार वर्षे कोर्समा पहिलो सेमेस्टरमा बौद्ध दर्शनसँगै होटल व्यवस्थापनबारे आधारभूत ज्ञान लिनेछन् । दोस्रो सेमेस्टरदेखि उनीहरुले पढ्दै, पैसा कमाउन सक्ने गरी कोर्स डिजाइन गरिएको सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । कोर्समा विद्यार्थीले पर्यटन व्यवस्थापन पनि पढ्न पाउनेछन् ।
‘विद्यार्थीले पढाइका लागि गर्ने कुल खर्च ७ लाख मध्ये अधिकांश खर्च पढाइ पूरा गर्दा रिकभर गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो । सोहीअनुसार कोर्स पनि डिजाइन गरिएको छ’, सीईओ न्यौपानेले भने, ‘विद्यार्थीले सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न होटल, रिसोर्ट एवं क्याफेमा प्रयोगात्मक कक्षा लिँदै तिरेको शुल्कको ७० प्रतिशत सम्म कमाउन सक्नेछन् ।’
विद्यार्थीको ज्ञान, सीप र व्यवहार तीन वटै पक्षको प्रभावकारी सिकाइ र मूल्यांकन हुने गरी कोर्स डिजाइन गरिएको प्रध्यापक श्रीप्रसाद भट्टराईले बताए । ‘पहिलो वर्ष ४० जना विद्यार्थीबाट कोर्स मंसिरको पहिलो साताबाट सिद्धार्थ भिलाषा होटेलमा सुरु गर्दै छौं । हस्पिटालिटी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र स्वदेशमै उनीहरुलाई टिकाइराख्न इन्स्टिच्युटसँग सहकार्य गरिएको हो’, उनले भने ।
‘अध्ययन पूरा गरिसक्दा यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन होस् भन्ने हाम्रो चाहना हो । प्लस टुपछि उच्च शिक्षाका लागि प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी विदेश पलायन भइरहेका छन् । यस सहकार्यमार्फत विद्यार्थीले पढ्दै, कमाउँदै गर्न पाउने भएकाले उनीहरुलाई केही हदसम्म भए पनि स्वदेशमै रोक्न सकिने विश्वास छ’, ‘विद्यार्थीको प्रयोगात्मक कक्षाको आबद्धताका आधारमा क्रेडिट आवर गणना हुन्छ र थप समय काम गरी वर्किङ आवरका आधारमा कमाउन सक्नेछन’, उनले भने ।
बौद्ध दर्शनका विविध आयाममा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि सिद्धार्थ बिजनेस ग्रुपसँगसहकार्यबाट विश्वविद्यालयले अझ धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गर्ने अपेक्षा राखिएको छ ।
यसप्रकारको डिग्रीबाट अझ धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र सेमिनार, व्यावसायिक क्षेत्रले लाभ प्राप्त गर्ने अपेक्षा हामीले लिएका छौँ । यसले विद्याथीहरूलाई खानपान, आवास, उड्डयन, साहसिक पर्यटन र टूर अपरेशनहरूमा व्यवस्थापकीय साथै उद्यमशीलताका क्षेत्रमा काम गर्न जनशक्ति तयार गर्दछ ।
यस पाठ्यक्रमका लागी सम्बन्धित विज्ञहरुसँग कार्यशाला, गोष्ठीहरु गरेर उहाहरुको राय सल्लाह सुझाव लिएर कोर्स तयार गरिएको छ । यस अन्तर्गत विद्यार्थीले पहिलो सेमेस्टरमा प्राथमिक, दोस्रो सेमेस्टेरमा आधारभूत, तेस्रो सेमेस्टेरमा एडभान्स, चौथो सेमेस्टरमा विशेषज्ञता, पाँचौ सेमेस्टरमा अपरेसन, छैटौँ सेमेस्टरमा व्यवस्थापक तालिम लिने छन । यसका लागि उनीहरुलाई होटेलका विभिन्न विभागहरुमा तालिम दिनेछ । साथै विद्याथीले कक्षा कोठामा सैद्धान्तिक ज्ञान पाउनेछन भने बाँकी अवधिमा अतिरिक्त काम गरी कमाउन सक्नेगरी पाठ्यक्रम तयार गरिएको छ ।
यस कार्यक्रममा विद्यार्थीलाई “शैक्षिक कर्जा“ ब्यबस्थाको पनि योजना बनाइएको छ । यस सहकार्य अन्तर्गत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पढ्नका लागि बैंकबाट कर्जा प्रवाहका लागि सहजीकरण गरिनेछ । साथै उनीहरुले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रुपमा तिर्न पनि सक्नेगरी योजना पनि बनाइएको छ ।
यस कोर्स सकेपछि विद्याथीले सुपरभाइजरदेखि सहायक म्यानेजरसम्मको पदमा काम गर्न सक्षम हुनेछन । यस कोर्समा स्थानीय तथा बाह्य विद्याथीहरु, मध्यम आर्थिक अवस्था भएका तर लगनशील विद्यार्थीहरुलाई प्राथमिकता दिइनेछ । विद्यार्थीलाई प्रवेश परीक्षा र अन्तर्वार्तीबाट छनौट गरिनेछ । एउटा सेसनमा बढीमा ४० जना विद्यार्थी राखिनेछ ।
सम्पूर्ण प्रयोगात्मक कक्षा र कार्यगत तालिम होटेलमा हुनेछ । साथै होटेल प्राङ्गणको छुट्टै भवनमा सैद्धान्तिक कक्षा, पुस्तकालय, स्टुडियो ल्याब र प्रशासनिक क्रियाकलापहरु प्रयोजनमा कार्यालय सञ्चालन गरिने सिद्धार्थ भिलाषाका म्यानेजर महेन्द्र न्याैपानेले बताए ।




