डी.आर. घिमिरे
‘समृद्धि सोपान’वजनदार नाम । नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुल विभागले तयार गरेको आधारभूत तहको पाठ्यक्रम हो । भन्दा आधारभूत भनिए पनि यो सबै तहका लागि उपयोगी छ । १८ खण्डमा रहेको यो पुस्तक पार्टीले भनेजस्तै पालिका कमिटी वा नयाँ कार्यकर्ताका लागि हो भने सोभन्दा माथिका लागि कस्तो आउला भन्ने जिज्ञासा उत्पन्न हुन्छ । कुरा यति मात्र हैन, यस ढंगले कार्यकर्ता प्रशिक्षित गर्न सक्दा नेकपा (एमाले) लाई वैचारिक समस्या कहिल्यै आउँदैन । सम्भवतः परीक्षा प्रणाली बसालेर अनिवार्य बनाउन सक्दा उनीहरू धेरै उन्नत स्तरका हुनेछन् भनेर विश्वास गर्न सकिन्छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न नेता कार्यकर्ताहरूको पङ्क्ति अध्ययनशील हुनुपर्छ, आधार विषय जानेकै हुनुपर्छ । पहिलो पुस्तक भएर होला, समृद्धिका सूचक, अभ्यासका विषय ठोस रूपमा समेटिएको छैन, तर के स्पष्ट हुन सकिन्छ भने जनता, समाज, राजनीति, धर्म, संस्कार, संस्कृति, मूल्यमान्यता, असल परम्परा नबुझी गरिने राजनीतिले समृद्धितर्फ डो¥याउन सक्दैन । एमालेको स्कुल विभागले समृद्धिका लागि नेता कार्यकर्ता तयार पार्न राम्रो प्रयास अघि बढाएको छ । पुस्तक राजनीतिमा रूचि राख्ने एमाले बाहेकका व्यक्तिहरूका लागि पनि उपयोगी छ ।
पहिलो खण्डमा आरम्भ र दोस्रो खण्डमा नेपाल चिनाउने प्रयास गरिएको छ । नेपाल प्राकृतिक रूपले रमणीय र सुन्दर मात्र छैन, विचार, दर्शन र ज्ञानका हिसाबले पनि स्रोत मानिन्छ ।नेपालबाट विभिन्न दर्शनहरू बोन(प्रकृति पूजा गर्ने),शाक्त (शक्तिको प्रतिककोरूपमा देवी वा मातृशक्तिको आराधना गर्ने), शैव (उदार, सहिष्णु र जातीय सद्भावका प्रतिक शिवको दर्शन), किरात (मुन्धुममा अभिव्यक्त यो चराचर जगत् प्रकृतिकै उपज हो र यो गतिशील छ भन्ने दर्शन),ब्रद्मवाद(याज्ञवल्क्यद्वारा प्रतिपादित), बौद्ध दर्शन र साङ्ख्य दर्शन सिर्जित र विकसित भएका छन् ।
योग, आयुर्वेद र तन्त्र विधाको स्रोत पनि नेपाल हो । शिवले सप्तऋषिलाई पहिलो पटक योग शिक्षा यही भूमिमा दिएका थिए । प्राचीन विदेह (आजको जनकपुर) मा राजा जनकको प्राज्ञ सभामा तर्क, सम्वाद र विमर्श (शास्त्रार्थ) गरिन्थ्यो । अष्टावक्र, महोत्तरी आसपासका महर्षि याज्ञवल्क्य जस्ता विद्वान र गार्गी, मैत्रेयी जस्ता विदुषीहरू उपस्थिति हुन्थे । ईसापूर्व ३०० तिर कपिलवस्तुमा जन्मेका कपिलले यस जगतको भौतिक पक्षको दृढ पक्ष पोषण गर्दै जगत्को आधारका रूपमा २५ तत्व छन् भन्ने मान्यता अघि सारे । यस्ता विषयले यो खण्डलाई ओजिलो बनाएको छ । साँच्चै नेपाल केही हो भन्ने सन्देश रोचकरूपमा प्रस्तुत गरिएको छ ।
तेस्रो खण्डमा नेपाली समाजको ऐतिहासिक विकास तथा वर्तमान संरचनाबारे चर्चा गरिएको छ । यसमा मानव विकासवारे उल्लेख गर्दै नेपालमा मातृसत्तादेखि आजसम्म कसरी विकास भयो भनेर व्याख्या गरिएको छ ।
चौथो खण्डमा नेपाली समाजको विशेषताका सम्बन्धमाचर्चा गरिएको छ । जातजाति कसरी बनेबाट सुरु भएको सन्दर्भमानेपालमा पहिचानको मुद्दा कसरी उठ्यो भनेर व्याख्या गरिएको छ । वास्तवमा विदेशी उपनिवेशवादीहरू आएर यहाँका आदिवासीलाई उत्पीडन गरेको वा सम्पदा र सस्कृतिमाथि आधिपत्य जमाएको नहुनाले आदिवासी र आप्रवासीका रूपमा समाजलाई विभाजित गर्नु, आन्तरिक औपनिवेशीकरण भनेर भ्रमित पार्नु र प्रत्येक सामाजिक इकाइलाई राष्ट्रको रूप दिएर अप्रमाणित बहुराष्ट्रको नारा दिनु किमार्थ उचित हुँदैन । शासकहरूले निश्चित समुदायलाई काखी च्यापे, पितृसत्तालाई कसिलो पारे र वर्गीयका साथै सामाजिक विभेद पनि गरे ।तर, यसलाई गलत ढंगले उठाउँदा विद्वेष, दूरी र निषेधको विषय बन्न सक्ने भएकोले होसियार हुन आवश्यक छ ।
नोवेल पुरस्कार विजेता अमत्र्य सेनले भनेजस्तै पहिचानको विषय सहयोग, समावेशिता र समझदारीका लागि सहयोगी र हिंसा तथा असहिष्णुताका लागि औजार पनि बन्न सक्ने भएकोले साझा मूल्य, आपसी सम्मान र सहअस्तित्वको अर्थमा अगाडि बढाउनु पर्ने तर्क गरिएको छ ।
पाँचौँ खण्डमा राष्ट्रिय स्वाधीनताको संघर्ष र प्रगतिशील राष्ट्रवादका बारेमा लेखिएको छ । यसमा मदन भण्डारीले अघि सार्नु भएको प्रगतिशील राष्ट्रवादको अवधारणालाई सविस्तार व्याख्या गरिएको छ । यस खण्डमा अर्धसामन्ती तथा अर्धउपनिवेशी शब्दको प्रयोग किन गरिनु हुँदैन भनेर स्पष्ट गरिएको छ । असमान व्यापारिक–आर्थिक सम्बन्धहरूले गर्दा आर्थिक रूपमा आत्मनिर्भर हुन नसके पनि, बाह्य संस्कृतिको प्रभाव रहे पनि, कालापानी, सुस्ता, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रमा अतिक्रमण भए पनि, केही असमान सन्धिहरूरहे पनि, कमजोर राज्य हुनुका कारण बाह्य चासो र हस्तक्षेप बढे पनि,सूक्ष्म व्यवस्थापनका नाममा नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय विषयमा ज्यादै रुचि देखाउने गरिए पनि त्यस प्रकारको शब्द प्रयोग अनुचित हुने तर्क गरिएको छ । यसबारे पार्टीको नवाँै राष्ट्रिय महाधिवेशनले पनि नीतिगत निर्णय गरिसकेको छ । हो, राष्ट्रियताका चुनौतीहरू छन् । जसबारे पुस्तकमा पर्याप्त उल्लेख गरिएको छ ।
खण्ड छ मा नेपालको संविधान, विशेषता र संविधान निर्माणमा पार्टीको भूमिकाबारे चर्चा गरिएको छ । यो संविधानको स्वामित्व नेकपा(एमाले) ले बडो दृढतापूर्वक लिएको छ । त्यसैले यसका सकारात्मक नकारात्त्मक दुवै पक्षको जिम्मा लिन नेकपा (एमाले) लाई कुनै सङ्कोच छैन ।
एकात्मक र केन्द्रीकृत राज्य संरचनालाई बदलेर सङ्घीय संरचनामा गएको, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता र भौगोलिक विविधतामा अभिव्यक्त विषयलाई आत्मसात गरिएको, जनताका प्रतिनिधबाट बनाइएको, बाह्य दबाबलाई अस्वीकार गर्दै पारित गरिएको, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको र संघीयता एवं समावेशी शासन प्रणालीलाई स्वीकार गर्दै समाजवादउन्मुख अर्थतन्त्र र धर्मनिरपेक्षता यस संविधानका सबल पक्ष नै हुन् ।
संविधान पारित गर्ने समयमा विभिन्नखाले असहमतिका विषय बाहिर आएका थिए । अहिले पनि यदाकदा एमालेलाई संघीयता विरोधीको आरोप लगाइन्छ । तर तत्कालीन समयमा एमालेको असहमति एक मधेश, एक प्रदेश वा बढीमा दुई प्रदेश, बहुराष्ट्रिय राज्य, पहाडमा जातीय पहिचानका आधारमा दर्जनौँ राज्य बनाउने, तराई पहाड अलग गर्ने, नागरिकताको व्यवस्था खुकुलो बनाउने आदि कुरामा असहमति जनाएकै हो । ती सबै विषयमा एमाले स्पष्ट छ । जब कि अन्य दलहरू ढुलमुल र अस्थिर छन् भन्ने कुरा कोशी प्रदेशकै घटनाले स्पष्ट गर्दछ । यहाँसम्मकि नेपाली कांग्रेस पनि स्वामित्व लिन असमर्थ र अलमलमा छ ।
पुस्तकको साताँै खण्डमा नेपालका राजनीतिक पार्टीहरूको तुलनात्मक अध्ययन गरिएको छ । यसले पार्टी कार्यकर्तालाई अन्य दलबारे धारणा बनाउन सहज हुने देखिन्छ । यस खण्डमा नेकपा (एमाले) ले सरकारमा रहेर वा नरहेर गरेका आन्दोलन, सुधारका काम, राज्य सत्तामा नागरिकको पहुँच बनाउन गरेका काम यावत् विषय समेटिएका छन् ।
आठौंँ खण्डमा पार्टीको सिद्वान्त, कार्यक्रम र कार्यदिशाबारे चर्चा गरिएको छ । कम्युनिष्ट पार्टीकै इतिहासमा नयाँ प्रयोगका रूपमा विसं २०७८ असोज १५–१७ मा ललितपुरको गोदावरीमा सम्पन्न नीति र विधि निर्माण गर्ने प्रथम विधान महाधिवेशनबारे यस खण्डमा उल्लेख गरिएको छ । जसलेपार्टीलाई व्यापक घेराबन्दी गरिएको अवस्थामा एकताबद्ध रहेको सन्देश दिनुका साथै नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यभारको नयाँ विष्लेषण र सूत्रीकरण गर्न सफल भएको थियो । हरेक महाधिवेशनका केही महत्वपूर्ण र सार्थक निर्णय हुन्छन् जसलाई पार्टीका कार्यकर्ताहरूले जान्न र बुझ्न आवश्यक छ । ती सबैविषय यस खण्डमा समेटिएको छ ।
नवाँै खण्डमा समाजवादको आधार निर्माणमा नेकपा(एमाले)को भूमिकाबारे उल्लेख गरिएको छ । हामी समाजवादको कुरा गर्दै आएका छौं, तर के कारणले रोकिएको छ ? यो विषय जान्नैपर्नेछ । पुस्तकमा यसका लागि केही चुनौतीबारे उल्लेख गरिएको छ। जस्तो कि राष्ट्रिय पुँजी निर्माणको कमजोरअवस्था, परनिर्भरता, खुल्ला सिमाना र विगतमा गरिएका कतिपय सम्झौताका शर्तहरू, शिक्षा तथा स्वास्थ्य क्षेत्रको व्यापारीकरण, कमजोर सार्वजनिक क्षेत्र, विभिन्न खानी, जलस्रोत र जमिनमा स्वार्थ समुहको नियन्त्रण, भ्रष्टाचार, कमिशनतन्त्र र त्यस्तो प्रवृत्तिलाई राजनीतिक संरक्षण, औद्योगीकरणको न्यून स्तर, कृषिबाट बाहिरिएको श्रमशक्तिलाई नयाँ श्रम क्षेत्रको अभाव, सामाजिक विभेद र आर्थिक विषमता, भूमिहीनहरूको उल्लेख्य संख्या र कृषि आधुनिकीकरणको न्यूनता, उत्पादनशील समाज हैन उपभोक्तावादी समाज बन्दै जानु । यी विषयमा कार्यकर्ता स्पष्ट भएभने नाजायज माग गर्ने वा अपेक्षा गर्ने क्रम पनि न्यून हुन गई धेरै समस्याको समाधान पनि हुन्छ र समाजवाद भेटाउन पनि धेरै समय लाग्दैन ।
दसौँ खण्डमा नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त ः माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद भएकोले त्यसबारे सविस्तार चर्चा गरिएको छ ।
एघारौँ खण्डमा वर्ग, वर्ग पक्षधरता र वर्ग संघर्षमा वर्ग के हो ? वर्गको उत्पत्ति, वर्ग र पार्टी, वर्ग विश्लेषणलाई अहिलेको प्रविधिले ल्याएको परिवर्तनसँग जोडेर व्याख्या गरिएको छ ।
बाह्रौँ खण्डमा लैंगिक समानताबारे र तेह्रौं खण्डमा नेपालको जनसङ्ख्यासम्बन्धी तथ्याङ्क, अवसर र चुनौतिबारे उल्लेख गरिएको छ । यी खण्डमा जनसंङ्ख्या, लैंगिकताको अवस्था, जनसङ्ख्या वृद्धिदर, जातजातिको अवस्था, बसाइँसराइको अवस्था, भौगोलिक रूपमा कहाँ कति छन् ? धार्मिक रूपमा के अवस्था छ भनेर विवेचना गरिएको छ ।
चौधौँ खण्डमा पार्टी निर्माण, संगठन परिचालन र पार्टी सदस्यताबारे चर्चा गरिएको छ । पार्टी निर्माणमा वैचारिक आधार प्रमुख हुन्छ । माक्र्सवाद–लेनिनवाद र जबजको मार्गदर्शन, द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण, श्रमजीवि वर्गको पक्षधरता, देशभक्ति र जनताप्रतिको अविचलित निष्ठा, समाजवादको आधार निर्माणसम्बन्धी कार्यदिशा अवलम्बन र मानवतावादी सोंच, विश्व समाजवादी आन्दोलनप्रति ऐक्यबद्वता, अवसरवादको विरोध र सिद्धान्तको सिर्जनात्मक प्रयोग र विकासबारे विस्तृत रूपमा उल्लेख गरिएको छ । यस बाहेक पार्टी सदस्यता लिने प्रक्रिया, कर्तव्य, अनुशासन, संगठनात्मक सिद्धान्त र कमिटी प्रणालीबारे उल्लेख गरिएको छ ।
पन्ध्रौँ खण्डमा पार्टीको राजनीतिक कार्यदिशा र जनप्रतिनिधिको भूमिकाबारे विवेचना छ । जनप्रतिनिधिकाबारेमा खासै चर्चा नहुने गरेको सन्दर्भमा यस पुस्तकले स्पष्ट निर्देश गरेको छ । साथै उनीहरूले पढ्नैपर्ने विषयका सम्बन्धमा पनि यसले निर्देश गरेको छ । जनप्रतिनिधि विकास र सुशासनका सम्वाहक भएकोले तदनुसारको अपेक्षा गरिएको छ । यो तहको ज्ञान र अध्ययन हुने हो भने नेकपा(एमाले) का कुनै पनि प्रतिनिधिले बाटो बिराउने छैनन् । तर के यो सम्भव छ ? यसका लागि आगामी दिनमा टिकट दिनुपूर्व परीक्षा लिनुपर्छ र मात्र टिकट दिनुपर्छ । यति हुँदा सुशासनका पक्षमा पनि उनीहरू चुक्ने छैनन् ।
सोह्रौं खण्डमा कम्युनिष्ट शैली, आचरण र पद्धतिका सम्बन्धमा चर्चा गरिएको छ । कार्यकर्ता कस्तो हुनुपर्छ भनेर गरिएको यो व्याख्याले धेरै स्पष्ट गर्दछ र हरेक कार्यकर्ताले यसैलाई उठाएर नेतामाथि औंलो ठड्याए भने केही हदसम्म बिग्रन थालेका नेता कार्यकर्ता सुध्रर्ने छन् । कार्यकर्ताबारे भनिएको छ– ‘हरेक पार्टी सदस्यले पार्टीको उद्देश्य र आदर्शअनुरूप विचार, संगठन, सङ्घर्ष र उत्पादनको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नेछन् । आमजनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै जनसरोकारका विषयमा सक्रिय हुनेछन् । सादा एवं नैतिक जीवन र कठोर सङ्घर्षको आदर्शलाई अनुसरण गर्नेछन् । समृद्व नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समाजमा विद्यमान सबै प्रकारका अन्याय, अत्याचार र विभेदको समाप्ति तथा न्याय, स्वतन्त्रता, समानता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा योगदान गर्नेछन् । निःस्वार्थ भावका साथ देश, जनता र पार्टीको सेवामा समर्पित हुनेछन् ।’
सत्रौँ खण्डमा स्व–व्यवस्थापन र जीवनशैलीबारे लेखिएको छ । यसमा भावनात्मक पक्ष पनि छ । मानिस पहिला स्वस्थ हुन जरुरी छ । त्यसपछि ऊ अनुशासित, विचार तथा दृष्टिकोणमा सन्तुलन, आत्मविश्वास, समय व्यवस्थापन, आर्थिक सामथ्र्य, स्वअध्ययनशील र सिर्जनशीलजस्ता कुरा हुनु स्वभाविक छ । यति व्यवस्थापन गर्न नसक्नेले पार्टी र कार्यकर्ताको व्यवस्थापन कसरी गर्ला ? यस अर्थमा एमाले कार्यकर्ताले यति व्यवस्थापन गर्नैपर्छ ।
अन्तिम अठारौं खण्डमा प्रविधिबारे चर्चा गरिएको छ । प्रविधिले यति धेरै फड्को मारेको छ कि समृद्धिको प्रमुख सूचक प्रविधि भएको छ । सूचनाको स्रोत जोसँग छ, उही सम्पन्न र पहुँच नहुने विपन्न हुने अवस्था छ । सम्पूर्ण समाज डिजिटलमय बन्दै गएकोले यसबाट नियमित अपडेट हुन जरुरी छ । त्यसैले आधुनिक प्रविधिबाट युक्त कार्यकर्ताको अपेक्षा पार्टीले गरेको छ । सूचना धेरै भएर पनि मान्छे थिचिने डर छ । विचारका लागि र संगठनका लागि पनि प्रविधिको उपयोग गर्नु आवश्यक छ । यो पुस्तकमार्फत् यी कुराहरू कार्यकर्तालाई बुझाउन खोजिएको छ ।
अन्तमा परम्परागत धारणामा आएको परिवर्तनलाई टेकेर यो पुस्तक तयार गरिएको छ । प्रायः कम्युनिष्टका पुस्तक सिद्धान्तका पोथ्रामात्र हुने भन्ने कुरालाई यसले खण्डन गरेको छ । नेपालको सन्दर्भमा समाजवादको आधारका लागि र समृद्धिका विषयलाईसमेत केन्द्रित गरेर विषयवस्तु पस्किएको छ । यसले पार्टीमा रूपान्तरण हुँदै गएका धारणा, विचार र सिद्धान्तहरू समेटेको छ । यसका लागि नेकपा(एमाले) स्कुल विभाग धन्यवादको पात्र छ ।




