अर्जुन ज्ञवाली
– स्थूल रूप
– सूक्ष्म रूप
राजमार्ग, गगनचुम्बी भवन, विशाल पुल निर्माणका काम गर्नु छ । यसकालागि सर्वप्रथम यो यो गर्ने भनेर नीतिगत निर्णय हुन्छ । त्यसपछि कार्यगत निर्णय हुन्छ । त्यसपछि काम गर्नेलाई प्रतिस्पर्धामा ल्याउन टेन्डर आह्वान गरेर ठेकेदार चयन हुन्छ । तब हुन्छ काम सुरु ।
यसमा बुझ्नुपर्ने कुरा के छ भने नीतिगत निर्णय गर्ने, कार्यगत निर्णय गर्ने र निर्णय अनुसार ठेक्का कबुल गर्ने तिनै तहका व्यक्ति सबैको पेट छ । पेटमा अग्र्नो हुन्छ । त्यसलाई आहार चाहिन्छ । तिनीहरूको पेटमा सर्वसाधरणको जस्तो सामान्य अग्नि हुँदैन । जठराग्नि हुन्छ । त्यो अग्नि शमन गरेर मात्र अगाडि बढ्नुपर्छ ।
यसमा धेरैजसो जान्ने बुझ्नेको जानकारीमा आएको कुरा छ – बेलायतको अलिखित संविधान जस्तै निर्णय गर्नेहरुलाई यति प्रतिशत रकम दिने भन्ने अलिखित विधान छ । त्यो रकम सबभन्दा ठूलो हुन्छ । त्यसपछि कर्मचारीतन्त्र, पहल गर्ने नेता, पालिकाका मेयर सेयर गच्छे अनुसार हुन्छन् । त्यसलाई पालन गर्ने गरी ठेकेदार फिल्डमा जान्छन् । ठेकेदारले बचेको रकमबाट आफ्नो पनि उदराग्नि शमन गर्ने गरी काम गर्ने हो । यसो गर्दा मुलुकको विकास निर्माणको अवस्था कस्तो हुन्छ जोसुकैलाई छर्लङ्ग हुन्छ । यसैको नाम हो स्थूल भ्रष्टाचार । यो एउटा उदाहरण हो । यसलाई उदाहरण मानेर सर्बे गर्यौ भने थुप्रै उदाहरण हाम्रा गाउँशहर जहाँसुकै भेटाउन सकिन्छ ।
जहाँसम्म सुक्ष्म भ्रष्टाचारको कुरा छ, यो मन्दविष नै हो । एउटा गरिब छ । मालिकको खेतमा काम गर्छ । आजको समयमा कारखानामा काम गर्ला अथवा पाककच तारे होटेलमा झाडुपोचा गर्ला अथवा बेयराको काम गर्ला । त्यस्तै फलाम खानी, तेलखानी, सुनखानीमा काम गर्ला । हुन सक्छ त्यहाँ सानो तिनो मेठकै काम गर्ला । काम गर्छ, सधैँ पुगेस् पुगेस् भइरहन्छ । अनि असह्य भएर विद्रोह गर्न खोज्छ ।
त्यसबखत नीतिगत भ्रष्टाचारको भाष्यकार भन्छ – ‘हेर नानी, हेर बाबु, यो तिम्रो पूर्व जन्मको फल हो । तिमीले पूर्व जन्ममा उत्तम काम गर्न सकेनौं, त्यसैको फलस्वरूप अहिले यस्तो कठीन काम गर्नुपरेको छ । कामचोर पो भयौ कि ? त्यसो भएर यस्तो सजाय मिलेको हुन सक्छ । त्यसकारण जे गरिरहेको छांै, इमानदारीका साथ गर । अर्को जुनीमा राम्रो हुन्छ । अहिले जुन काम गरिरहेका छौ, यसैको मालिक पनि हुन सक्छौं ।
यो भाष्यले ती विचराको विद्रोह थचक्क हुन्छ । यही थचक्कको भाष्यले धनी धनी हुँदै जाने गरिब गरिब हुँदै जाने पुँजीवाद विश्वमा हावी भएको छ । त्यही विश्व भित्रको हाम्रो देशमा हामी अरुभन्दा बढी गरिब हुन गएका छौं ।
हो, विश्वमा यस भाग्यवादका विरुद्ध सशक्त प्रतिकार नभएका होइनन् । हल्काफुल्का प्रगति नभएका पनि होइन । तर, त्यत्तिकै प्रगतिलाई पनि प्रकारान्तरले थचक्क पार्दै मालिकहरु अझ धनी हुने भाष्य निर्माण भइरहेकै छ । यही हो भ्रष्टाचारको सुक्ष्म रूप । यसैको बाइ प्रोडक्ट हो भ्रष्टाचारको स्थूल रुप ।
कमाउनपर्छ । जसरी कमाऊ । समाजले खोज्छ । अचेल व्यावसायिक यज्ञको चलन आएको छ । सामाजिक प्रतिष्ठा चाहिन्छ भने मन्दिर, विद्यालय, धर्मशाला, अस्पताललाई चन्दा देऊ । दान देऊ । समाजसेवीमा नाम दर्ज हुन्छ । धमात्मामा नाम दर्ज हुन्छ ।
कमाउदा जुनसुकै करतूत होऊन्, सबै माफ हुन्छ । दानको अंक हेरी अस्पताल, विद्यालय तथा मन्दिरको नाम हुन सक्छ । यो हो हाम्रो सांस्कृतिक भ्रष्टाचार ।
यस्तै सामाजिक भ्रष्टाचार, आर्थिक भ्रष्टाचार, मान्नुपर्छ यस भाष्यलाई । यही भाष्यले कर्मजीविहरुलाई पिढी दर पिढी कामदार बनाएको छ । यही भाष्यले मालिकलाई पिढी दर पिढी धनाढ्य बनाएको छ ।
सुक्तिहरु यही भनिरहेछन्
य भाग्यमानीको भूतै कमारो ! – सांस्कृतिक भ्रष्टाचार य मर्दका दसोटी ! – सामाजिक भ्रष्टाचार
य मर्दले कमाउछँ नामर्दले गुमाउँछ !
(फट्याइलाई सम्मान...) – सामाजिक भ्रष्टाचार
भ्रष्टाचारका यी दुई रुप भ्रष्टाचारका विराट् रुपभित्र प्रमुख हुन् ।




