भैरहवा । आज विश्व पर्यटन दिवस । नेपाल सहित विश्वभर यो दिवस हरेक वर्ष २७ सेप्टेम्बरको दिन मनाइने गरिन्छ । भैरहवामा पनि हरेक वर्ष विविध कार्यक्रम गरि दिवस मनाइने गरिन्छ । नारा, भाषण र केही पर्यटकलाई सिमा बेलहियामा स्वागत गरेर मनाइने यो दिवस पर्यटन व्यवसायीको लागि पर्वको रुपमा रहेपनि पूर्वाधारले पर्यटकले पाएको सास्तीका कारण पर्यटन व्यवसायीको मन खिन्न भएको छ । स्थलमार्ग भई नेपालकै सबै भन्दा बढि पर्यटक भित्रिने नाका बेलहिया भएपनि यहाँको पूर्वाधार शुन्य छ । पर्यटकको स्वागत विन्दु नै अस्व्यस्त हुदा पर्यटकहरुको पहिलो छाप नै गलत पर्ने गरेपनि सम्बन्धित निकाय वर्षौ देखि मौन रहेको पाइएको छ ।
सडक पूर्वाधार, प्रवेशद्वार अलपत्र छाडिएको छ । भने पर्यटक सूचना केन्द्र पर्यटक प्रहरीको भरमा छाडिएको छ । पार्किङ अभाव एकातिर छ भने अध्यागमन, स्वास्थ्य परिक्षण, भन्सार, रुट पर्मिटका लागि पर्यटकहरु कागज बोकी ठाउ ठाउ भौतारिनु पर्ने बाध्यता छ । सिमामा २४ घण्टै सेवा दिनुपर्ने ठाउमा दुवै देशको समन्वय हुनु पर्ने ठाउमा विहान ६ बजे देखि राती १० बजे सम्म मात्रै सेवा दिइने गरिन्छ । सिमा गरिएको अव्यवस्थित पार्किङले सधै कोलाहल मच्चिएको हुन्छ भने हिलाम्मे र धुलाम्मे सडकले पैदल यात्रुलाई जोखिम नै छ ।
नारा र भाषणमा हरेक वर्ष एकद्वार प्रणालीमा लैजाने कुरा चलेपनि दिवसको दिन मात्रै चर्चा हुने गरेको छ त्यसपछि सेलाउछ । जसो तसो पर्यटक सिमाबाट पार भएपनि सुरक्षाको नाममा सुरक्षाकर्मीहरुले विभिन्न बहानामा दुख दिन भने अहिले रुपन्देहीको हकमा छाडेका छन । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा पर्यटकका लागि सिमामै एकिकृत जाँच पोस्ट गरेसँगै जिल्लाको हकमा केही सुधारको अनुभुत भएको छ ।
पर्यटनको विषयमा राज्य उदासिन हुदा यस्तो समस्या सृजना भएको छ । यहाँ पर्यटनमा सम्भावनाहरु देखेर निजी क्षेत्रले अर्बौ लगानी गरी अहिले पिडामा छन । भारतिय पर्यटक खर्चिलो भएपनि तेस्रो मुलुकका पर्यटक सरह नपर्नुले पर्यटन क्षेत्र मारमा पर्ने गरेको छ । राज्यले अन्तराष्ट्रिय विमानस्थल बनाएर पनि पूणर्त संचालन गर्न नसक्दा पर्यटन व्यवसायी समस्यामा परेको व्यवसायी सागर अधिकारीले बताए ।
२०६२ सालमा जनाको दरबन्दीबाट आएको पर्यटक प्रहरीले सिमामा पर्यटक सूचना केन्द्र धानेको छ । नाम मात्रको सूचना केन्द्रमा कर्मचारी र आवश्यक पूर्वाधार नहुँदा पर्यटकले सास्ती भोगिरहेका हुन्छन् । सूचना केन्द्रको अवस्था यति नाजुक छ कि पर्यटकहरु पनि सूचनाको लागि यताउता भौतारिरहेका हुन्छन् । गौतमबुद्धको जन्मस्थल, विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनी आउनेहरु सिमानाको अलपत्र र हिलाम्मे सडक, गेटको फलामे जंजाल, विग्रीएका सवारी साधन र पुरानो गेटले नेपालको पर्यटनलाई गिज्याईरहेको छ । नेपाल प्रवेश गर्ने ढोकैमा देखिने यस्ता दृष्यले उत्साह बोकेर नेपाल घुम्न आउने पर्यटकको मन खिन्न हुने गरेको छ । नाका व्यवस्थित गर्न भने कसैको ठोस योजना देखिदैन् । पर्यटकको बसाई बढाउदै अत्यधिक पर्यटक भित्रयाउन सहजता हुने किसिमको सूचना केन्द्रबाट हुनुपर्नेमा छैन , पर्यटकहरु सूचनाको लागी यताउता भौतरि रहेका हुन्छन् ।
नेपाल प्रवेश गर्ने वित्तिकै पर्यटकलाई हामी नेपाल प्रवेश गर्दैछौं भन्ने जानकारी पाउनका लागि पर्यटक सुचना केन्द्रमा केहीवेर विश्राम गर्ने, सुचना बोर्ड हेर्ने र नेपालका ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने कुनै व्यवस्था नहुंदा पर्यटक अन्योलमा पर्ने गर्छन् ।
तथ्याङक मात्रै राख्दै गरेको पर्यटक प्रहरीले पर्यटककोे जिज्ञासा मेटाउन खोजे पनि बजेटकै अभावमा गर्न सक्दैनन । पर्यटक सुचना केन्द्रमा कति प्रवेश गरे र कति बाहिरीए बाहेक पर्यटकका लागि कुनै थप सुविधा छैन् । गर्मीले आकुल व्याकुल अवस्थामा आउने पर्यटकलाई पिउने पानी, शौचालयको व्यवस्था नै नहुंदा पर्यटकहरुले नेपालको पर्यटन क्षेत्रलाई विश्वास गर्न नसक्ने अवस्था आईरहेको छ । वेलहियामा रहेको पर्यटक सुचना केन्द्रमा ८ जना पर्यटक प्रहरी त छन् तर प्रयाप्त भौतिक पुर्वाधार र स्रोतको कमिले गर्दा यसले पर्यटकलाई सबै सुचना दिन भने सकेको छैन ।
पर्यटक प्रहरीको सिमित साधनस्रोतले मौखिक रुपमा मात्र सूचनाहरु पर्यटकलाई दिने गरेको बताउछन । आफुसँग भएको जानकारी मौखिक रुपमा पर्यटकहरुलाई दिने गरेका छौ होइन भने आएको गएको तथ्याङक मात्रै हामीले राख्ने गछौँ खटिएका एक पर्यटक प्रहरीले भनिन ।
कार्यालय आएका पर्यटकहरु पर्यटकीय गनतव्यका बारेमा पर्चा, पम्पलेट, नक्सा, ब्राउसर राख्नु पर्ने भएपनि केही छैन । पर्यटकको पहिलो छाप नै यहाँबाट राम्रो दिनुको साटो देशकै गलत सन्देश पहिलो विन्दुमा गरिएको सेवाबाट नै प्रष्ट हुन्छ । पर्यटन व्यवसायीहरुले पर्यटक सूचना केन्द्र व्यवस्थित हुनुपर्ने माग विभिन्न कार्यक्रमहरुमा गरेपनि न त सरकार नै गर्छ न निजी क्षेत्र नै ।
नेपाल आउने तेस्रो मुलुकका पर्यटकहरुलाई भारतीय बसले नेपाल प्रवेश गराउंछ , सँगैै आएका पथप्रर्दशकले भनेकै भरमा गलत वा सही जानकारी पर्यटकहरु लिने गर्छन । भारतका बोधगया, कुशीनगर लगायत बुद्धसंग सम्बन्धित सबै ठाउंहरुमा भ्रमण गराएर पर्यटक स्वदेश फर्किन एकदुई दिन मात्र बांकी छदा भारतीय गाईडले लुम्बिनी ल्याउने र सोही दिन फिर्ता लैजाने गरेका छन् । भारतीय सिमा हुदै नेपाल भित्रिने क्रममा पर्यटकलाई भारतीय नम्बर प्लेटका गाडिहरु प्रयोग गर्न दिईनु आफैमा ठुलो नोक्शानी हो ।
स्थानीय गाइड भए पर्यटकले लुम्बिनी र यससंग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम, रोहिणी जस्ता पवित्र भुमीको विषयमा जानकारी पाई मनसाय परिवर्तन गरी एक दुई घण्टाको साटो केही दिन विताएर जाने वातावरण बन्न सक्छ ।
नेपाल भारत सिमा नाका बेलहियामा नेपाल प्रवेश गर्ने नाका नै अस्तव्यस्त छ । सिद्धार्थनगर नगरपालिकाले बनाउन लागिएको प्रवेशद्वार अलपत्र छाडिएको छ भने महिनौ दिन देखि मुख्यद्वारमै जेसिबी राखिएको छ । महिनौ देखि राखिएको जेसिभीमा घास उमे्र पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सिमामा निर्माणाधिन अवस्थामा रहेको अलपत्र गेटले नेपाललाई नै लज्जित बनाएको छ । खिया लागेका फलामको फाउण्डेशन तयार गरेर बांकी काम यतिकै छोड्दा पर्यटकलाई स्वागत गर्न सिद्धार्थनगर पालिकाले निर्माण गर्न लागेको गेटले नेपाललाई कुरुप चित्रण गरेको जस्तो लाग्छ । सिद्धार्थनगरलाई हरियाली, हराभरा,फुलैफुलको नगर भनेर चिनाउने नगर प्रमुख ईश्तियाक अहमद खांनको सपनालाई समय थप गर्दा पनि निर्माण सम्पन्न नभएको यो अपुरो गेटले मजाक बनाईरहेको छ । लक्ष्मी निर्माण कम्पनीले १ करोड ६५ लाखमा ठेक्का सम्झौता गरेपनि म्याद थप गर्दै लड्एको छ । प्रवेशद्धार जस्तो नेपालको गरीमा जोडिएको सिमामा समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले म्याद थप गर्दै गएको छ ।
यस्तै निर्माण सुरु भएको आठ वर्षसम्म काम सम्पन्न गर्न नसकेको बुटवल वेलहिया सडकखण्ड अन्तर्गत वेलहियाको यो फोहोर र हिलाम्मे सडकले गिज्याईरहेको अवस्थाले पर्यटकलाई नेपालप्रतिको नकारात्मक धारणा बनाउन सहयोग गरिरहेको छ । जसका कारण उनीहरु छिटो भन्दा छिटो लुम्बिनी पुगेर फर्किन चाहन्छन् । पटक पटक ताकेता गर्दापनि काम गर्न नसकेर कालो सुचीमा परेको ठेकेदार कम्नीले विग्रीएको जेसिबी ५ महिनादेखि नेपाल प्रवेश गर्ने नाकामै ठडाएर राखेको छ । यस्तो लाग्छ पर्यटकलाई स्वागत गर्ने त्यही जेसिवी नै हो । तर यसलाई त्यहांबाट हटाउन तर्फ कुनै निकायको ध्यान गएको छैन् ।
सडक विस्तारका क्रममा भत्काईएको अध्यागमन कार्यालय सम्पन्न नहुंदा करीब एक किलोमिटर टाढा रहेको अध्यागमन कार्यालय खोज्दा खोज्दै पर्यटक थाकिसकेका हुन्छन् जसका कारण पर्यटकले हैरानी महसुस गरेको पाईन्छ । पर्यटकले शान्त, रमणिय र सुन्दर वातावरण, पारिवारिक आतिथ्यता चाहेको हुन्छ तर नेपाल प्रवेश गरेदेखि लुम्बिनी पुग्दा सम्मको सडकको दुर्दशा, सडकको दायांवायां देखिने कवाड, वर्षौंसम्म अलपत्र पूर्वाधार, फोहोर डम्पिङ साइडको दुर्गन्ध आदि कारणले पर्यटकको मानसपटलमा नेपालप्रति नैराश्यता देखिने गरेको छ । अव्यवस्थित सडकका कारण सवारी दुर्घटना, अशुरक्षित हवाई यात्रा जस्ता विषयमा सरकार गम्भिर बन्न नसक्दा नेपालले पर्यटनको ठुलो अवसर गुमाईरहेको अवस्था छ ।
पर्यटन विकासको कुरा गरीरहदा हाम्रौ शैली पुरानै छ, पर्यटकहरुलाई हसिलो व्यवहार गर्नुका साटो पैसा धुत्ने भाडोको रुपमा लिने गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य भिष्म न्यौपानेले बताए । उनले भने ‘पर्यटकलाई शुन्य विन्दुमै एकद्वार प्रणलीबाट भन्सार, अध्यागमन, रुट प्रर्मिट, स्वास्थ्य चेकजाँच, सुरक्षा चेकजाँच लगायतका फरक फरक प्रक्रिया गर्न फरक फरक ठाँउमा जानु पर्ने बाध्यता हट्नु पर्छ ।’
स्थलमार्ग भई आउने भारतिय पर्यटकहरुले पाइलै पिच्छे समस्या भोग्नु परेको बताए । हामीले समस्या समाधानका लगि सम्बन्धित ठाउ र केन्द्र सम्म पहल गरेपनि समाधान भएको छैन । नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेका छन । पर्यटकसँगै आएको भारतिय गाइडकै भरमा पर्यटकहरुले नेपाल सम्बन्धि जानकारी लिने गरेका छन ।
भारतिय गाडी हेर्न साथ प्रहरी प्रशासनको हेर्ने दृष्टिकोण नै फरक हुन्छ कसरी हैरान बनाएर पैसा धुत्ने, सिमा प्रवेश गर्न साथ पार्किङको समस्या देखि लिएर विचौलियाहरुले भन्सार विन्दुमै पर्यटकहरुलाई खिन्न बनाउने गरेको स्थानीय व्यवसायीहरुको भनाई छ । भन्सार अगाडि रहेको पार्किङ क्षेत्र सिमित अवधि र प्रक्रियाका लागि पार्किङ थलो भएपनि दिनभर गाडीहरु बसेर ट्राफिक जामले आवगमनमा समस्या भई सबैले सास्ती भोग्नु परेको छ ।
आठ महिनामा भित्रिए ५३ हजार पर्यटक
स्थलमार्ग हुदै नेपालको सबै भन्दा बढी पर्यटक भित्रयाउने बेलहिया नाकाबाट सन् २०२४ को अगष्ट सम्म ५२ हजार ४ सय ५२ जना पर्यटक आएका छन भने ५३ हजार १ सय जना पर्यटक प्रस्थान गरेका छन । कोभिड पछि शुन्य अवस्थामा पुगेको पर्यटकको अवस्था विस्तारै बढ्न थालेपछि उत्साह छ । सबै भन्दा बढि मार्च महिनामा १७ हजार २ सय १४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ ।
आएका पर्यटक मध्ये पनि सबै भन्दा बढि श्रीलंकाको १४ हजार ८ सय ४८ जना आएका छन । यस्तै थाइलैण्डका पर्यटक १२ हजार ५ सय २० जना आएका छन । यस्तै म्यानमारको ८ हजार १४, भियतनामको ३ हजार ६ सय ८६, साउथ कोरियाको २ हजार २ सय ९९ जना रहेका छन ।
मुख्यताया यि देशका पर्यटकहरुको संख्या गत वर्ष यो अवधिमा आएका पर्यटक भन्दा धेरै हो । सन् २०२३ मा यो नाकाबाट ८१ हजार ५ सय ५१ जना विभिन्न देशबाट आएका थिए भने ७८ हजार ४ सय २३ जना प्रस्थान गरेको अध्यागमन कार्यालयका प्रमुख नारायण प्रसाद पाण्डेले बताए ।
निजी क्षेत्र विना पर्यटनको विकास सफल नहुने भएकोले पर्यटन विकासका पूर्वाधार र कठिनाईका लागि सरकार संवेदनशील हुनुपर्छ । रात्रीकालिन बजार , टुर प्याकेजलाई पनि विशेष प्राथमिकतामा साथ अगाडी बढाउने जरुरी छ । बेलहियामा १५ वर्ष देखि सेप्टेम्बर २७ का दिन पर्यटन सम्बन्धि विभिन्न गतिबिधि गरेर यो दिवस मनाउने गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।
हरेक वर्ष विश्व पर्यटन दिवशको अवसरमा सिमानाकामा पर्यटकलाई स्वागत गरेर पर्यटन दिवश मनाउनु भन्दा पर्यटकलाई सधै आउ आउ हुने वातावरणको सृजना सिमाको शुन्य विन्दुबाट गर्न सक्नु पर्छ । अहिले पनि विश्व पर्यटन दिवस मनाउने तयारी भइरहदा तिन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा सिमामा पर्यटकका लागि सहज व्यवस्थापन, प्रहरीबाट हुने गरेको दुख र सरसफाई एवम् सुन्दरीकरणमा ध्यान दिन सके पर्यटन क्षेत्रबाट ठूलो सम्भावना रहेको छ ।
भैरहवा दुई दिन खाना महोत्सव र सास्कृतिक साझ
पर्यटन प्रवद्र्धन गरी सिथिल अवस्थालाई केही भएपनि चलायमान बनाउने अपेक्षाका साथ पर्यटन दिवसकै अवसरमा भैरहवामा दुई दिने सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरिदैछ ।
सिद्धार्थ होटल संघ नेपालको आयोजनामा सेप्टेम्बर २७ तारिख र त्यसको भोलिपल्ट २८ तारिख गरी दुई दिनसम्म आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको छ । विगतको भन्दा फरक ढंगले ४५औं विश्व पर्यटन दिवस मनाउन लागेको अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले बताए ।
स्थानीय र भारतिय पर्यटकहरुलाई लक्षित गर्दै बेलहिया बुटवल सडक खण्डको देवकोटाचोकदेखि आँखा अस्पतालसम्म क्षेत्रमा कार्यक्रम गर्न लागिएको छ । महोत्सवमा लुम्बिनी प्रदेशमा रहेका तारे होटल र स्थानीय ५० बढि स्टलहरु आफ्नो परिकार सहित आउने छन । सडकमै खाउ सडकमै रमाउने भएकोले साझमा सास्कृतिक कार्यक्रम पनि ख्याति प्राप्त कलाकारहरुबाट गरिने कार्यक्रम संयोजक विनोद खरेलले बताए ।
लुम्बिनीमा पर्यटकलाई स्वागत र सम्मान गरिने
लुम्बिनीमा लुम्बिनी विकास कोष, लुम्बिनी सास्ंकृतिक नगरपालिका र लुम्बिनी होटल संघ नेपालको संयुक्त रुपमा लुम्बिनी आएका पर्यटकलाई स्वागत गर्ने, बस्ने व्यवस्थापन र कपिलवस्तु रामग्राम सम्म घुमाउने योजना बनाइएको होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । अहिले पर्यटकको आगमन पनि विस्तारै बढेकोले आउने दिनमा बढि भन्दा बढि कार्यक्रम बनाई पर्यटक भित्र्याई बसाई लम्बाउने कुरामा हामी गम्भिर भएका छौ । जब सम्म अध्यात्मिक वातावरण यहाँ नाउन सकिदैन तब सम्म यहाँको माहोल पर्यटकमैत्री हुदैन । यसमा तीनैवटा संस्था एकजुट भएर लाग्नु पर्छ ।




