गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्तिक १२ गतेदेखि कुवेतको जजीरा एयरवेजले उडान गर्ने भएको छ । जजीराले २०७९ जेठ २ गते भैरहवामा उडान गरेको थियो । केही समय उडान गरेपछि रोकेको जजीराले केही उडान गरेपछि अहिले रोकिएको थियो । अब जजीराले नियमित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नागरिक उडड्यन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने विमानलाई विशेष सहुलियत दिने घोषणा गरेपछि विमान कम्पनी आकर्षित भएका छन् ।
थाई एयर एशियाले अक्टोबर ३ मा थाइल्याण्डबाट काठमाडौंमा उडान सुरु गर्दैछ । सातामा चार उडान काठमाडौंमा र चार उडान भैरहवामा गर्ने गरी तालिका सार्वजनिक गरेसँगै अरु विमान कम्पनी पनि भैरहवाबाट उडान गर्न आकर्षित भएका छन् । राज्यले ठूलो लगानी गरी बनाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल नचल्दा विमानस्थलमा गरेको लगानीप्रति नै प्रश्न उठिरहेको छ । भारतसँग हवाइ रूटको विषय सुल्झन नसक्दा पनि विमान कम्पनी आकर्षित गर्न नसकिरहेकोले सरकारले हवाइ रूटको विषय छिटो टुंगो लगाउनुपर्छ । नयाँ हवाइ रूटको विषय टुंगो नलाग्दासम्म विमानस्थललाई चलाउन पछिल्ला महिना भएका निर्णय सकारात्मक छन् । सरकारले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्याण्डिङ, पार्किङ ग्राउण्ड ह्वाण्डलिङ, सुरक्षा शुल्कमा दिँदै आएको छुटलाई निरन्तरता दिने, ग्राउण्ड ह्याण्डलिङ सेवामा ७५ प्रतिशत छुट, हवाइ इन्धनमा सहुलियत, यात्रु सेवा शुल्क र टिकटमा भ्याट छुट, अध्यागमन पूर्ण क्षमतामा सञ्चालन गर्ने, श्रम डेस्क स्थापना गर्ने, विभिन्न देशको भिसा सेन्टर स्थापना गर्नेलगायतका काम गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । विमानस्थल चलाउनका लागि सरकारले अघि सारेको कार्ययोजनालाई कार्यान्वयनमा लैजान ढिलाइ गर्न हुन्न ।
कार्ययोजनाअनुसार काम भए अरु विमान कम्पनी पनि आकर्षित हुनेछन् । तर कार्ययोजना बन्ने, तर कार्यान्वयन नगर्ने प्रवृत्ति कायमै भए नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमाझ राम्रो जाने छैन । अन्तर्राष्ट्रिय समुदायमाझ राम्रो सन्देश दिन र विमानस्थल चलाउन कार्ययोजनालाई कार्यान्वयन गर्न आवश्यक छ ।




