विन बहादुुर कुँवर
नेपालमा अहिले लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ । निरंकुशताको सट्टामा लोकतन्त्र र राजतन्त्रको ठाउँमा गणतन्त्र आएको छ । तैपनि नेपाली जनताले खास अर्थमा न लोकतन्त्रको अनुभूति गर्न पाएका छन् । न गणतन्त्रको नै । अहिले पनि जनता त्यही पुरानै शासनतन्त्रमा झैै उत्पीडनमा छन् । वर्गीय उत्पीडनका त कुरै नगरौं सामान्य जातीय क्षेत्रीय र लैङ्गिक उत्पीडन र विभेद समेत झन् बढ्दो छ । लोकतन्त्र दलीय गुटतन्त्रमा भने गणतन्त्र परिवारतन्त्रमा बदलिने गरेको छ । बहुदलीय व्यवस्था भनिए पनि नेपालमा खाली तीन दलीय (कांग्रेस–एमाले र माओवादी) हाली मुहाली छ । आलोपालो सत्तासीन हुने र त्यही अनुरुप देश र जनताको दोहन गर्ने काम भइरहेको छ ।
देशमा सामन्तवादको अन्त्य भई अब मुलुक गणतन्त्रको साथमा समाजवादतिर उन्मुख भइरहेको भन्ने गरिएको छ । तर अहिले पनि देशमा सामन्तवादी अवशेष यथावत नै छ । राजतन्त्र हट्दा बित्तिकै पनि सामन्तवाद हटिहाल्छ भन्ने होइन । राजतन्त्र नभए पनि सामन्तवाद रहिरहन्छ भन्ने कुरा मूलत त्यसको उत्पादन सम्बन्धमा भर पर्दछ । सामन्तवादको उत्पादन सम्बन्ध पनि प्रभुत्व र पराधिनताको नै सम्बन्ध हो । यस प्रकारको सामन्ती सम्बन्ध अझै पनि नेपालमा विद्यमान रही नै रहेको छ । यसको केही रुप र सार कुनै न कुनै प्रकारले त्यहाँ देखिने गरेको छ । सामन्तवाद न यहाँ पूर्ण रुपले हटेको छ न पूर्ण रुपले यथावत नै छ । त्यसैले हाम्रो देशको अहिलेको वस्तुगत स्थिति भनेको अर्धसामन्ती अवस्था नै हो ।
यसलाई बुझ्न हामी त्यति टाढा जानै पर्दैन । हालका हाम्रा लोकतन्त्र र गणतन्त्रवादी केही नेताहरुको चालचलन, बोलीचाली र रहनसहनले प्रष्ट पार्दछ । नातावाद, कृपावाद, परिवारवाद, फरियावाद अनि दलाली र चाकडीवाद आदि सामन्तवादी चरित्र हो । अहिले पनि हाम्रो देशको सांस्कृतिक परम्परा रीतिथिति र चालचलन त्यही पुरानै सामन्ती प्रकारको छ । यहाँको धर्म र संस्कृति पनि त्यस्तै छ । सामन्ती, दलाल र पूँजीवादी बुर्जुवाहरुमा यस्तो देखिनु स्वाभाविक पनि छ । निजी सम्पत्ति र निजी परिवार अनि निजी सोंच विचार उनीहरुको विशेषता नै हो । शोषण उनीहरुको धन्दा नै हो । आर्थिक र सामाजिक अनि जातीय, क्षेत्रीय र लैङ्गिक विभेद उनीहरुको राजनीति नै हो । नेपालको स्थितिमा राजनीतिक रुपले नेपाली कांग्रेस, पञ्चे, मण्डले र राजावादीहरुमा देखिने विशेषता नै यही हो । यी जसले जे भने पनि अर्थात प्रजातन्त्र र लोकतन्त्रवादी वा राजावादी र गणतन्त्रवादी जे भने पनि सारमा यी सबै सामन्ती र दलाल पूँजीवादी नै हुन् । शासकीय रुपमा हिजोका पञ्चे, राजावादी भन्दा अहिलेका यी बहुदलीय गणतन्त्रवादीहरु केही फरक भए जस्ता देखिए पनि सामाजिक, आर्थिक र सांस्कृतिक रुपले यी सबैमा त्यही पुरानै सामन्ती परम्परामा नै यथावत रहँदै आएका छन् । यही अवस्थाले गर्दा देशको मूल राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था आन्तरिक रुपमा अर्ध सामन्ती र बाह्य रुपमा अर्ध औपनिवेश अर्थात् नव औपनिवेशिक नै छ ।
देशका पुराना पञ्चे, कांग्रेसी र अरु केही स्वतन्त्र नव उदारवादीहरुको मूल अर्थ राजनीति सामन्ती, दलाल र नव उदारवादी बुर्जुवा निजीकरण हो भने सामाजिक र सांस्कृतिक अवस्था पनि सामन्ती रुढीवादी र पुरातन धर्म अन्धविश्वास र भाग्यमा आधारित छ । तर देशको ठूलो जनमत यो विरोधी वामपन्थी कम्युनिष्ट निकट विचार र सिद्धान्तमा आधारित छ । पटकपटक यही विचार र सिद्धान्तमा आधारित कम्युनिष्ट पार्टीहरु चुनावी प्रक्रियाबाट नै सत्तासीन भइसकेका छन् । तर पनि नाममा कम्युनिष्ट अनि सिद्धान्तमा माक्र्सवादी, लेनिनवादी अझ कतिपयले त माओवादी नै भने पनि यी सबैको राजनीतिक, आर्थिक र सामाजिक साथै सांस्कृतिक चरित्र उही माथि भने जस्तै पंचे, कांग्रेसहरुकै जस्तो सामन्ती दलाल र नोकरशाही बुर्जुवा प्रकारकै छ । नाम सिद्धान्त र विचार जे जस्तो भनिए पनि काम व्यवहार चरित्रमा त्यस्तो नौलोपन अर्थात् न लोकतन्त्र देखिन्छ, न गणतन्त्रमा नै । यी सबैले भन्ने गरेको समाजवाद त फोस्रो आडम्बार जनतालाई देखाउने गुलियो ललिपप मात्रै हो ।
मान्छेले भन्ने विचार र सिद्धान्त जस्ता भए पनि त्यसको वास्तविक अवस्था त्यसको दैनिक व्यवहारमा देखिन्छ । आफू एउटा सच्चा कम्युनिष्ट भएको आदर्शका कुरा गरे पनि व्यवहारमा त्यसको ठीक उल्टो दक्षिणपन्थी अवसरवादी अझ सामन्ती नै भएको थुप्रै उदाहरणहरु पाइन्छ । सामन्तवादको पहिलो लक्षण व्यक्तिवाद हो भने त्यसले मान्छेलाई दम्भ र घमण्डी बनाउँछ । आफू भन्दा तलकालाई कुल्चने, छिछि र दुरदुर घृणा गर्ने भने आफूभन्दा माथिकालाई जहिले पनि दलाली, बिन्तीभाउ र चाकडी गर्ने सामन्तवादी सोँचकै उपज हो । आफूभन्दा केही जान्नी भयो अनि टेरेन भने त्यसको तत्काल विरोध र निन्दा गरिहाल्ने । सकेसम्म उसलाई अघि बढ्नै नदिने जहिले पनि आफ्नै अण्डरमा बसाइरहनु पर्ने बडपपन उनीहरुमा देखिन्छ । भन्नलाई कम्युनिष्ट समाजवादी भन्ने तर व्यवहार पूँजीवादको भन्दा पनि अझ तल सामन्ती र दासताको जस्तै देखिने थुप्रै यहाँका कम्युनिष्ट भनौदा कम्युनिष्ट पार्टीका नेताहरुमा पाइन्छ ।
हालै मात्र देशका विभिन्न समाचार मिडियाहरुमा एमाले अध्यक्ष कमरेड केपी ओलीका मन्तव्यहरु सुन्न र देख्नमा आएका छन् । ती मध्ये एउटा वर्तमान सरकारकी शिक्षा मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित छ । विदेश गइसकेकी, विदेश पढे लेखेकी उही बिहे बारी गरेकी । धेरै वर्षपछि माइती घर आएकी अनि समानुपातिकबाट सांसद बनी मन्त्री भइकी आदि इत्यादि अनेक भनाइ ओली कमरेडको छ । स्वयं ओलीजीको पार्टी पनि सरकारमा छ । एउटै साझेदारी पार्टीकी एक मन्त्रीप्रति उनको यो टिप्पणीले पहिलो कुरा त यो वर्तमान गठबन्धन सरकारप्रति उनको रुची छैन । यी गठबन्धन दलप्रति पनि उनको विश्वास छैन । खोजी ल्याएकाहरुको जस्तो व्यवहार । नपाउनेले केरा पायो बोक्रैदेखि खायो भने जस्तै व्यवहार कमरेड ओलीको ती दल र ती दलबाट चुनिएका मन्त्रीहरुप्रति उनको छ । यतिसम्म मात्र होइन उनको यो टिप्पणी महिलाप्रतिको हेपाहा पुरुष प्रधान सामन्तवादी चिन्तनको नग्नपन पनि हो । कसले कहाँ को सित विवाह गर्छन् त्यो व्यक्तिको निजी कुरा हो । यसको अर्थ सुमना श्रेष्ठ सबैमा ठीक छन् भन्ने होइन उनको दल अनि उक्त दल नेतहरुले लिएका धेरै कुरामा हाम्रो सहमति छ भन्ने पनि होइन ।
ओली जस्तो देशकै महान राजनेताबाट यस्ता झिना मसिना र छुद्र, अशिष्ट अराजनीतिक र असभ्य कुरा गरेको सुन्दा र देख्दा गर्नेलाई भन्दा देख्नेलाई लाज भएको छ । तर क. ओली १४ वर्ष जेल बसे पनि, यति धेरै वर्षसम्म एउटा चर्चित कम्युनिष्ट पार्टीको नेता भइसकेको अझ दुई दुई पटक प्रधानमन्त्री भइसकेको र अब फेरि प्रधानमन्त्री बन्नका लागि तम तयार भइसकेका भए पनि उहाँको यो बानी सुध्रिएन । कुकुरको पुच्छर १२ वर्ष ढुंगामा राखे पनि पछि जस्ताको तस्तै । अझ बढी लाजमर्दाे कुरा के छ भने उक्त भनाइप्रति जुन टिप्पणी स्वयं शिक्षा मन्त्री सुमना श्रेष्ठ लगायत अरु धेरै व्यक्तिहरुको आए पछि क. ओली भन्छन् यो मन्त्री सुमना श्रेष्ठप्रति लक्षित छैन, त्यहाँ कही कतै उनको नाम उल्लेख छैन । हो त्यसमा उनको नाम उल्लेख छैन । तर त्यसको मूल आसय उनीप्रति नै लक्षित छ । एउटा सामान्य जो कुनैले पनि जान्ने र बुझ्ने कुरा छ त्यो । रकमी र झुटो कुरा अनि जालझेल र षडयन्त्र गर्ने पनि सामन्तवादी चरित्रकै उपज हो । त्यस्तै क. ओलीले आफ्नै सत्ता साझेदारी दल नेता र सरकारका गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै कांग्रेसले एउटा भगेरा मार्न तोप चलाइरहेको व्यंग्य गरे । तर के गर्ने ? कसैको आशीर्वादबाट पाएको कुर्सीको पद जोगाउनका लागि पनि जसले जे भन्दा र गर्दा पनि चुप लागि बस्नुपर्ने बाध्यता गृहमन्त्री रवि लामिछाने र शिक्षा मन्त्री सुमना श्रेष्ठलाई छ । कसैको छिछि र दुरदुर अनि कार्टुन र जोक्कर जस्तै भई यसरी पदमा टाँसिरहनु पनि सामन्तवादी चारित्रिक दब्बुपनकै उपज हो ।
यति मात्रै होइन क. ओलीका यस्ता अनेकौं बोली र भनाइहरु छन् । हालै मात्रै गिरी बन्धु चिया बगानको प्रश्नलाई लिएर उनले कांग्रेसी नेताहरुलाई यसमा ‘भुकेको’ भन्दै अर्थात् कुकुरसँग तुलना गर्दै निन्दा गरे । त्यस्तै माधव नेपालको नाम लिदा र भन्दा पनि मुख कुल्ला गर्नुपर्ने बताए । यस्ता शब्द भनाइ र बोलीले क.ओलीको इज्जत र उचाइ बढ्दैन । जहिले पनि फलेको वृक्ष झुकेको हुन्छ । खहरे कति गडगडाउँछ तर समुद्र कति शान्त र संयम हुन्छ । एमाले जस्तो ठूलो पार्टीका जो कुनै नेताहरु त्यसमा पनि अझ अध्यक्ष के ओलीले झन् बुझ्न पर्ने र जान्नु पर्ने कुरा छ, यो । क. ओलीसँग मेरा कुनै व्यक्तिगत दुष्मनी केही छैन । आदर र सम्मान छ । २०३५।०३६ सालपछि धेरै पटक जेलमा उहाँसगँ सँगसँगै बसेको सम्झना छ । यो मेरो कमरेड ओलीप्रति कुनै रिसराग आग्रह पूर्वाग्रह केही नभई सुझाव मात्र छ । यस्तो चरित्र क. ओलीमा मात्रै नभईं अरु देशका वामपन्थी कम्युनिष्ट नेताहरु प्रधानमन्त्री प्रचण्ड, मसालका मोहन विक्रममा पनि धेरै छन् । अरु केही प्रसंगमा यिनीहरुको बारेमा पनि लेखिनेछ ।




