बुटवल । लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक एवं नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको निधन भएको छ । लामो समयदेखि मधुमेह र दुई वर्षदेखि मिर्गौलाको समस्यासंग जुधिरहेका कार्कीको पाल्पा तानसेन ध्रुवघाटस्थित आफ्नै निवासम निधन भएको हो ।
२०११ सालमा जन्मिएका कार्कीको साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएको थियो । त्यसपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । कार्की पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसंगै २०३६ सालको जनमत संग्रह पछि पाल्पाबाट पत्रकारिता शुरु गरेका थिए । कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए । २०४५ सालमा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन शुरु गरेका थिए । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर चिनिएका व्यक्ति भएकाले तत्कालीन जिल्ला प्रशासनले रुपन्देहीमा पत्रिका दर्ता गर्न नदिएपछि नवलपरासीको परासीमा भाइ कृष्णबहादुर कार्कीको सहयोगमा दैनिक लुम्बिनी दर्ता गरेका थिए । २०४९ सालमा होमनाथ दाहाल पत्रकार महासंघका अध्यक्ष हुंदा कार्की केन्द्रीय उपाध्यक्ष थिए ।
कार्कीले २०४६ साल र २०६२–६३ को जनआन्दोलन सफल बनाउन पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका खेलेका उनका समकालीनहरु बताउंछन् । कार्की संविधान सभाका लागि नागरिक अभियानको उपाध्यक्ष भएर संविधान सभा चुनावमार्फत संविधान बनाउनुपर्छ भन्ने आन्दोलनमा पनि क्रियाशील थिए । पञ्चायती व्यवस्थाविरुद्ध लागेको भन्दै कार्की २०३६ साल र २०४६ सालमा जेल समेत परेका थिए । उनका एक श्रीमती भगवती, छोरी निरु , बन्जु र छोरा सरोज छन् । कान्छा छोराको केही वर्ष अघि मृत्यु भइसकेको छ ।
यसैबीच दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेसन्स प्रालिका अध्यक्ष मोहन चापागाइृले एक शोक विज्ञप्ति जारी गर्दै संस्थापक सम्पादक कार्कीको निधनले दैनिक लुम्बिनी परिवार स्तब्ध र दुखित भएको उल्लेख गरेका छन् । शोेकको घडिमा दिवंगत आत्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।
स्वर्गीय कार्कीले आफ्नै अगुवाई र सम्पादनमा शुरु गर्नुभएको दैनिक लुम्बिनीले २०४६ सालको पञ्चायतविरोधी आन्दोलन र २०६२–६३को जनआन्दोलनमा गरेको योगदान कसैले बिर्सन नसक्ने स्मरण गर्दै अध्यक्ष चापागाईले दैनिक लुम्बिनीलाई स्वर्गीय कार्कीले राष्ट्रियता र जनजिविकाको पक्षमा तथा समाजका बेथिति, बिसंगती विरुद्ध उभ्याएर जनपक्षीय पत्रिकाको रुपमा स्थापित गरेको मूल्य, मान्यता र आदर्शमा अविचलित भएर लाग्नु नै उहांप्रति सच्चा श्रद्धाञ्जली हुने विज्ञप्तिीमा उल्लेख गरेका छन् ।
कार्कीले वापन्थी आन्दोलन र पत्रकारिताका माध्यमबाट समाजको अग्रगामी रुपान्तरणमा खेलेको भूमिका अविस्मरणीय रहेको नागरिक अभियान्ता एवं अधिवक्ता पदम कार्की बताउंछन् । पञ्चायतकालमा कम्युनिष्ट नेता कार्यकर्ता र वामपन्थी पत्रकारका लागि कार्कीको निवास शेल्टर जस्तै बनेको समेत पदम कार्कीले स्मरण गरे ।
कार्कीका समकालीन रुपन्देहीका अग्रज पत्रकार मदनलाल पौड्यालले कार्की बेथिति, बिसंगीविरुद्ध र जनपषीय पत्रकारितामा खरो ढंगले उभिने साहसी र निडर पत्रकार भएको टिप्पणी गर्दै अहिलेका पत्रकारले उनको योगदान र आदर्श अनुशरण गर्नुपर्ने बताए ।
स्वर्गीय कार्कीको अन्तिम दाहसंस्कार आजै शनिबार योगिकुटी स्थित मगरघाटमा गर्ने गरी ११ बजेतिर पाल्पाबाट हिंड्ने तयारी भएको छोरा सरोज र साला भाइ गोपाल एसीले जानकारी दिएका नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोेखरेलले बताए ।




