पाल्पाको नुवाकोट महत्वपूर्ण हिलस्टेशन हो । कुनै बेला सामरिक दृष्टिले महत्वपूर्ण नुवाकोट अहिले पर्यटकीय स्थलको रुपमा विकास भएको छ । जाडामो घाम ताप्न र गर्मीमा शितल पाउन अहिले आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्न थालेको छ । केबुलकार बनिरहेको छ । सडक पुगेको छ । होटल व्यवसाय फस्टाइरहेको छ । तहगत सरकारले पर्यटक भुलाउने संरचना पनि बनाउँदैछन् । बुटवलको नजिकै रहेकोले पनि नुवाकोटको भविष्य उज्ज्वल छ ।
पर्यटक आवागमन बढिरहँदा जति उत्साह छ, त्यहाँ पुग्ने सडक सुरक्षित नबनाउने हो भने नुवाकोटको भविष्य असुरक्षित छ । नुवाकोट पुगेर फर्कनेहरु जीवित फर्कन सकिन्छ कि सकिंदैन् भनेर प्रश्न गर्न थाले भने पर्यटन प्रवद्र्धन हुन सक्तैन् । सडक साघँुरो छ । घुम्ती धेरै छन् । ठाडो उकालो र ओरालो सडकमा घुम्तीहरुबाट दुर्घटना हुन थालेका छन् । मोटरसाइकलहरु दुर्घटना भइरहेका थिए । बुधबार कार दुर्घटना भयो । तीन जनाको ज्यान गयो । दुई घाइते भए । दुर्घटना हुनेबित्तिकै गाडी चालकको कमजोरी भनेर पन्छाउने प्रवृत्ति छ, तर यो दुर्घटना कार चालकको कमजोरी नभई साँघुरो सडकमा सुरक्षात्मक उपाय अवलम्बन नगरेकाले भएको हो । घुम्तीमा रेलिङ राख्न सकिन्छ । सडक बनेको धेरै भइसक्यो रेलिङ राखिएको छैन । नालीहरुको सफाइ नियमित छैन । कतिपय ठाउँमा बर्खाको पानीले सडक भत्काएको भए पनि मर्मत छैन ।
पर्यटकीय मार्गको यो विजोग अवस्थाले पर्यटन प्रवद्र्धन हुन्न । पर्यटक पुग्ने मार्ग सुरक्षित हुनुपर्छ । घुमफिर गर्न जानेहरु जोखिम मोलेर सधैं जाँदैनन् । तसर्थ नुवाकोट सडकलाई सुरक्षित बनाएर बुटवलको पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय जिम्मेवार बन्नैपर्छ ।




