दुई दिनदेखिको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो जनधनको क्षती भएको छ । बाढी पहिरोले गरेको क्षतीको पूर्ण विवरण आइसकेको छैन । प्राप्त प्रारम्भिक जानकारीअनुसार ४९ जनाको मृत्यु भएको छ, त्यसमध्ये काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै ३२ जनाको मृत्यु भएको छ । धेरै ठाउँमा सडक अवरुद्ध भएको छ । राजधानी जोड्ने सबै नाका बन्द भएका छन् ।
चार दिनअघि जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गर्दै ६३ जिल्लालाई रेड अलर्टमा राखेको थियो । अत्याधिक वर्षा हुन सक्ने र त्यसले विपद् निम्त्याउने भन्दै सर्वसाधारणलाई सचेत हुन र सरकारी निकायलाई विपद् व्यवस्थापन पूर्वतयारी र विपद्पछिको उद्दार तथा राहतमा लाग्न ध्यानाकर्षण गराएको थियो । गृहमन्त्रालयले संभावित जोखिमबारे आँकलन गर्दै विपद्का बेला चनाखो रहन मातहतको निकायलाई निर्देशन दिएको थियो । गृहमन्त्रालयको निर्देशनअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका युनिट विपद् व्यवस्थापनमा जुटे । नेपाली सेनाको सक्रियता पनि प्रशंसनीय छ । विपद्का बेला सुरक्षा निकाय र अरु सरकारी निकायको सक्रियताले नै काठमाडौंबाट ७ सय ७८ जनाको सकुशल उद्दार संभव भएको हो । सरकारले विपद्मा परेका सबैको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ । यो उद्दारमा सर्वसाधारणको सहयोग पनि उत्तिकै छ । सरकारलाई सामाजिक सञ्जालमा गाली गर्नुभन्दा सबै मिलेर विपद्को सामना गर्न प्राथमिकता दिनुपर्छ । सरकारलाई गाली गर्नुभन्दा विपद्मा खटेका सुरक्षाकर्मीलगायतको हौसला बढाउने कामले उनीहरुको सम्मान हुन्छ ।
हामी कहाँ विपद् पूर्वतयारी फितलो छ । अनुभवको कमी र साधनस्रोतको अभावले पनि पूर्व तयारी प्रभावकारी देखिंदैन, तर पछिल्ला वर्ष तहगत सरकारबिचको समन्वयमा विपद् व्यवस्थापनमा केही आशालाग्दा काम भएका छन् । उद्दार र राहतमा सीमित विपद् व्यवस्थापन अब पूर्व तयारीमा पनि केही काम भएका छन् । पूर्व तयारीअन्तर्गत विपद्का बेला आवश्यक सामग्रीको व्यवस्थापनमा तहगत सरकारले ध्यान दिन थालेका छन् ।
विपद्को जोखिमको मात्रा र प्रकृतिअनुसार हामीले अझैँ व्यवस्थापन गर्न सकिरहेका छैनौ । मनपरी सडक निर्माणले पहिरोको जोखिम बढेको छ । नदी खोला, खोल्सा खाल्सीको क्षेत्राधिकार मिच्दा बाढीका बेला धनजनको क्षती बढेको छ । उपत्यकामा भएको क्षती नदी, खोला, खोल्साखाल्सी अतिक्रमणका कारण भएको हो ।
यो विपद्बाट सिक्नुपर्ने पाठ हो, प्रकृतिसँग खेलवाड गर्नु हुँदैन् । सडक निर्माण कहाँ गर्ने, नगर्ने भन्ने निर्णय अध्यन हुनुपर्छ । हामीले बनाउने पूर्वाधार संभावित बाढीलाई थेग्न सक्ने खालका छन् कि छैनन् भन्ने हेक्का हुनुपर्छ । यति हुँदा हुँदै पनि विपद् आउँछ, पूर्वतयारीले क्षती न्यूनीकरण गर्न सकिन्छ । पूर्वतयारी, उद्दार र राहतमा सबै मिलेर अघि बढ्दा नै क्षती न्यूनीकरण गर्न सकिन्छ । सरकारले विपद्को सामना गर्न नेतृत्व गर्ने हो, सामना गर्ने सबै मिलेर हो, सबै मिलेर अघि बढ्दा नै शक्ति प्राप्त हुन्छ ।




