भैरहवा । रुपन्देहीको ठुटीपिपलमा अवस्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारीको एकाई बैठकले साधारण सभाको निर्णय प्रमाणित गरेको छ ।
विभिन्न समयमा ३ वटै शाखा कार्यालयमा भएको साधारण सभाको एकाई बैठकले चयन गरेकोे ४३ जना प्रतिनिधि सदस्य र प्रति बैठक १६ जनाको दरले निर्णय प्रमाणित गर्ने प्रतिनिधिको उपस्थितीमा छैठौँ वार्षिक साधारण सभाको निर्णय प्रमाणित गरेको हो । संस्थाको एकीकरण पछिको छैठौ वार्षिक साधारण सभाका लागि संचालक समितिले स्वीकृत विनियम बमोजिम मधवलिया, ठुटीपिपल र भैरहवामा भूगोल क्षेत्रमा आधारित छुट्टाछुट्टै बैठक गरिएको थियो ।
संस्थाको अध्यक्ष डी.बि. थापाज्युको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघ नेपालको लेखा संयोजक श्री भिम प्रसाद तुलाचनज्युको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तुलाचनले सरकार कमजोर भएकोले कर्मचारीतन्त्रबाट सहकारीको समस्या समाधान र बचतकर्ताको रकम फिर्ता गर्ने तर्फ गम्भिर नभएको बताए ।
व्याजको लोभमा परि सहकारीमा अवस्था नहेरी पैसा जम्मा गर्दा नेपालका ४० वटा सहकारीहरु दुर्घटनामा परेको, शेयर सदस्यहरुमा जिम्मेवारी, कर्तव्य र भुमिकाको बारेमा ज्ञान लिनु पर्ने र निति विधि र प्रविधि अनुसार संचालक अगाडी बढे सहकारीमा रकम अपचलनको जोखिम नरहने बताए ।
टुगाले तालिम प्रशिक्षण र सार्वजनिक सहकारीको कार्यक्रममा सहभागिता जनाउदे सदस्यहरुमा उत्प्रेरण जगाउने काम गर्दै आएकोले यस्को केन्द्रिय स्तरमा छुट्टै पहिचान रहेको बताए ।
कार्यक्रममा सल्लाहकारहरु लक्ष्मण कुमार थापा, जित बहादुर रासकोटी, बरिष्ठ सल्लाहकार श्री भिम बहादुर पुन र प्रमुख सल्लाहकार श्री तारा प्रसाद छन्तेलले बाहिरबाट आएको सहकारीमा समस्या देखिएकोले स्थानीय स्तरमा संचालित सहकारीमा सदस्य बन्न आग्रह गरे । उनीहरुले टुगा सहकारीले सदस्य र समुदायमा पारेको सकारात्मक प्रभाव र बिश्वास जितेको बताउदै शेयर सदस्य सचेत भएमा सहकारी दिगो हुने, बार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सुझाब दिएदै संस्था आर्थिकको साथै सामाजिक काममा पनि अग्रसर हुदै थप सामाजिक काममा लाग्न आग्रह गरे ।
कार्यक्रममा शेयर सदस्य निर्मल श्रेष्ठको निधन पश्चात हकवालालाई दुर्घटना बिमा वापत ५ लाख रकम हस्तान्तरण गरिएको थियो । कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने सरोज क्षेत्री, पिएचडी गरेका डा. दिपक कोइराला, त्यस्तै शेयर सदस्य डाक्टरहरु हरि शर्मा, ऋृषिराज गुरुङ, सुनिता पुन र बिमल शर्मालाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट कर्मचारी तर्फ कार्यसम्पादन मुल्याङकनमा केन्द्रिय कार्यालयमा कार्यरत फिल्ड सहायक अस्मिता रानालाई सम्मान र माइन्युट प्रमाणीकरण गरिएको संस्थाका प्रबन्धक लक्ष्मण काउचाले बताए ।
संस्थाका अध्यक्ष थापाले संस्था ४ वर्षे राणनिति अनुसार राम्रो नतिजा तर्फ अग्रसर हुदै गएको छ । संस्थाले मासिक रुपमा पारदर्शी तरिकाले संस्थाको अवस्था सबैमा सार्वजनिक गर्ने गरेको छ । अध्यक्ष थापाले संस्थाको असार मसान्तसम्मको कुल ८२ करोड ५७ लाखको वासलात मध्ये ७ करोड ६४ लाख सेयर पूंजी, ६२ करोड १० लाख बचत निक्षेप रहेको जानकारी दिए । लक्ष्यको उत्कृष्ट प्रगति हासिल गरेको बताउदै संस्थाले करिब १ करोड ६० लाख शुद्ध बचत (मुनाफा) गरेको थापाले जानकारी दिए ।
सहकारीमा सदस्यहरुका लागि पाँचलाखको दुर्घटना बीमा सुविधा, ऋण बीमा, निःशुल्क रगत सुविधा, समवेदना राहत सुविधा, स्वास्थ्य सेवामा विशेष छुट, सुत्केरी भेटघाट तथा नव दम्पत्ति स्वागत कार्यक्रम, ज्येष्ठ नागरिक सदस्य सम्मान, बाल बचतकर्ता सम्मान लगायतको सुविधा रहेको छ ।
कार्यक्रममा संस्थाको उपाध्यक्ष परसुराम बास्तोलाले स्वागत मन्तब्य दिएका थिए भने गोकुल पोख्रेलको संचालनमा सम्पन्न भएको थियो । १९ वर्ष अगाडि स्थापित ३ वटा सहकारी ५ वर्ष अघि एकीकृत भई संचालित छन । ३६५ दिन सेवा दिने सोचका साथ वित्तिय सेवा दिइरहेको संस्थामा ६ हजार ७ सय ५१ सदस्य रहेका छन ।




