भैरहवा । सिद्धार्थनगरका विद्यार्थीहरुले स्थानीय पाठ्यपुस्तकमार्फत् नगरको सम्पूर्ण जानकारी पाउने भएका छन् । राष्ट्रिय शिक्षा नीति २०७६ ले राष्ट्रिय पाठ्यक्रममा समेट्न नसकिएका महत्वपूर्ण स्थानीय विषयवस्तु समेट्ने गरी एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार गर्न निर्देशन गरे अनुसार सिद्धार्थनगर नगरपालिकाले कक्षा १,२,३,४ ७ र ८ सम्मका लागि पाठ्य पुस्तक तयार गरेको नगर शिक्षा शाखाका प्रमुख उपसचिव चेतनशिल लम्सालले जानकारी दिए । शाखामा जनशक्ति कम एवम् बजेटको अभावका कारण कक्षा ५ र ६ को पाठ्यपुस्तक भने अर्को वर्षबाट मात्र लागू गरिने उनले बताए ।
उनका अनुसार नगरभिक्रका विज्ञ व्यतित्वहरुको एक समिति निर्माण गरी पाठ्यपुस्तकमा समेट्ने विषयवस्तुलाई अन्तिम रुप दिइएको छ । स्थानीय पाठ्यपुस्तकमा विद्यार्थीहरुको कक्षा स्तर अनुसार नगरको कृषि, पर्यटन, शिक्षा, साहित्य, धर्म संस्कृति, संस्कार, खानपान, भेषभुषालगायतका विषयवस्तु समेटिएका छन् ।
‘हाम्रो सिद्धार्थनगर’ नाम दिइएको पाठ्यपुस्तक तयार भएको छ । नगरभित्र सञ्चालित विद्यालयहरुमा लागू गर्न खोजिएको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सिद्धार्थनगर’ लाई अन्तिमरुप दिन गृहकार्य भएको थियो । पाठ्यक्रम यसअघि नै तयार पारिएको थियो ।
बीचमा कोरोना महामारी सुरु भएपछि केही समय पछाडि धकेलिएको हो । यो बीचमा विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले तोकेको अधिनमा रही नगरपालिकासँग सहकार्य गरेर विद्यार्थीहरुलाई स्थानीय पाठ्यपुस्तक पढाउँदै आएका थिए । नगरपालिकाले किताब छपाएर सबै विद्यालयमा पु¥याएर विद्यार्थीको हातहातमा उपलब्ध गराउने गरी पाठ्यपुस्तकलाई अन्तिमरुप दिइएको हो ।
नगरपालिकाले पुस्तकलाई परिमार्जनसहित अन्तिमरुप दिनका लागि सरोकारवाला पक्षबाट सुझाव संकलन गरेको छ । तयार पार्न लागिएको हाम्रो सिद्धार्थनगर पाठ्यपुस्तकका लेखक तथा परामर्शदाता प्रेमनारायण भुसालले राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका विषयबस्तुलाई स्थानीय पाठ्यपुस्तकले समेटनु पर्ने बताए ।उनका अनुसार, उक्त पाठ्यपुस्तकमा सिद्धार्थनगर क्षेत्रको पहिचान दिने खालका भौगोलिक, सामाजिक, राजनीतिक, धार्मिक, साहित्य, कृषि, स्वास्थ्य, खेलकुद, आर्थिक, पर्यटकीय पहिचान दिने बिषयबस्तुलाई समेटिएका छन् । ‘यो पाठ्यपुस्तक बालमैत्री, समावेशी र स्थानीय आवश्यकतामा आधारित रहेर तयार पारिएको छ’, भुसालले भने–‘खोज अनुशन्धान, मनोरञ्जनात्मक, वातावरण र बालबालिकाको भावानात्मक, संवेगात्मक सिप विकास गर्ने क्रियाकलापमा पनि जोड दिइएको छ ।’
विद्यालय तहबाटै स्थानीयस्तरको विषयमा जानकारी गराउने उद्देश्यसहित यस्तो फाठ्यक्रम निर्माण गर्ने गरिन्छ । पाठ्यक्रमको उद्देश्य बालबालिकालाई स्थानीय भूगोल, सम्पदा, परम्परा, पर्यटन, सीप तथा रोजगारको विषयमा जानकारी गराउनु हो । नगर प्रमुख इश्तियाक अहमद खााले शैक्षिक उद्देश्य प्राप्तिका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने गरी पाठ्यपुस्तक तयार भएको बताए ।
‘पाठ्यक्रममा मैले बुझेअनुसार सबै कुराहरु समेटिएका छन् । गहन अध्ययन र परामर्शमा पुस्तक लेखिएको मेरो बुझाई हो’, उनले भने–‘पुस्तक विद्यार्थीको हातहातमा पुग्नु अघि केही विषय छुट भएकी भन्नेबारे हामी सचेत भएर सुझाव संकलन गरिरहेका छौं ।’ उनले आफ्नो गाउँटोल र पालिकाबारे सानैबाट विद्यार्थीले जान्न र बुझ्न पाउँदा भोलिका दिन अझैँ दक्ष बन्ने विश्वास व्यक्त गरे ।
केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका र स्थानीय आवश्यकता र विषयवस्तुका आधारमा स्थानीय मौलिकता, पहिचान र महत्वलाई बुझाउन हाम्रो सिद्धार्थनगर पाठ्यपुस्तकलाई अन्तिम रुप दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जनाए । ‘हामीले असारभित्रै सुझाव संकलनबाट उठेका विषयवस्तुहरु सम्बोधन गरी पुस्तक विद्यार्थीको हातहातमा पु¥याउने तयारीमा लागेका छौं’, उनले भने–‘यसका लागि नगरपालिकाको टिम र यसमा संलग्न सबै विज्ञको उत्तिकै अहम् भूमिकाले काममा तिव्रता हुनेछ ।’
सुझाव संकलनमा सहभागीले उक्त पाठ्यपुस्तक लागू गरिनु प्रशंसनीय भए पनि केही कुराहरु परिमार्जन गरिनु पर्नेमा जोड दिएका थिए । उक्त पाठ्यपुस्तकलाई अन्तिमरुप दिन समितिको गठन गरि जिम्मेवारी दिइएको छ । पाठ्यपुस्तकमा सिद्धार्थनगरका हरेक क्षेत्रलाई समावेस गरिएको जनाइएको छ ।
पाठ्यपुस्तकमा अन्तर्राष्ट्रिय सिमा सम्बन्धी जानकारी दिनुका साथै यसबाट हुन सक्ने फाइदा, बेफाइदा, मानव बेचबिखनसम्बन्धी जानकारी, लागुआषैध दुव्र्यसनका जोखिम र बच्ने उपायलगायका विषयवस्तुहरु समेत समेटिएका छन् ।
नेपाल सरकार शिक्षा, विकास तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा परिपत्र गरेको थियो । ऊत मार्गदर्शन अनुसार शैक्षिक वर्ष २०७७ देखि कक्षा १ बाट कार्यान्वयनमा ल्याउन भनिएको थियो । तर स्थानीय तहमा शिक्षा शाखा व्यवस्थित नहुँदा र कानुनको अभावमा लागू गर्न सकेका थिएनन् । अहिले पनि राष्ट्रिय शिक्षा नीति पुरानै कानुन अनुसार सञ्चालन भइरहेको अवस्थामा कतिपय काम गर्न कठिनाई हुने गरेको शिक्षा शाखा प्रमुख बताउँछन् ।




