रुपन्देही । लुम्बिनी सिटी कलेज, ड्राइभरटोल, रुपन्देहीमा तीनदिने ‘रिसर्च राइटिङ वर्कसप’ (अनुसन्धान लेखन कार्यशाला) सुरु भएको छ।
कलेजको रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा असोज २१ देखि २३ गतेसम्म सञ्चालन हुने कार्यशालाको उद्देश्य विद्यार्थीमा अनुसन्धानसम्बन्धी ज्ञान, सीप तथा शैक्षिक लेखन क्षमता विकास गर्नु रहेको कलेजले जनाएको छ।
कार्यशालामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक प्रदीप पौडेल क्षेत्री प्रमुख स्रोत व्यक्तिका रूपमा सहभागी हुनुहुन्छ। कार्यक्रमको सहजीकरण तथा सञ्चालन रिसर्च म्यानेजमेन्ट सेलका संयोजक एवं BSc. CSIT कार्यक्रम संयोजक इन्जिनियर सुजन ढकालले गर्नुभएको छ।
कार्यशालाको उद्घाटन गर्दै कलेज प्रमुख प्रा. डा. गणेशप्रसाद पाठकले अनुसन्धान कुनै पनि शैक्षिक लेखनको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले विद्यार्थीले पाठ्यक्रमबाट प्राप्त ज्ञानमा मात्र सीमित नभई प्राप्त ज्ञानलाई खोज, विश्लेषण र प्रमाणका आधारमा प्रस्तुत गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो।
“Internship Report, Project Report तथा Research Article लगायतका विभिन्न शैक्षिक लेखन कार्यमा अनुसन्धान सीप आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “विद्यार्थीले केवल पाठ्यक्रममा सीमित ज्ञान हासिल गर्नु पर्याप्त हुँदैन, प्राप्त ज्ञानलाई खोज, विश्लेषण र प्रमाणका आधारमा प्रस्तुत गर्ने क्षमता पनि विकास गर्नुपर्छ।”
कार्यशालाको पहिलो दिन प्रमुख स्रोत व्यक्ति प्रदीप पौडेल क्षेत्रीले अनुसन्धान लेखनको आधारभूत अवधारणा, व्यवस्थित शैक्षिक लेखनको स्वरूप, अनुसन्धान लेखको संरचना, विषय छनोट, समस्या पहिचान, उद्देश्य निर्धारण तथा साहित्य समीक्षा लगायतका विषयमा सहभागीलाई व्यावहारिक मार्गदर्शन गर्नुभयो।
उहाँले अनुसन्धान तथ्यमा आधारित लेखन हुनुपर्ने भन्दै तार्किक प्रस्तुति, स्रोतको उचित प्रयोग, सन्दर्भ उद्धरण तथा अनुसन्धान नैतिकताको महत्वबारे समेत प्रशिक्षण दिनुभयो।
कार्यशालामा सहभागी विद्यार्थीले अनुसन्धानसम्बन्धी व्यावहारिक ज्ञान तथा लेखन सीप हासिल गर्ने अवसर प्राप्त भएको बताएका छन्। विद्यार्थीहरू कार्यशालामा उत्साह र सक्रियताका साथ सहभागी भइरहेका छन्।
‘Research for Better Learning, Better Society’ भन्ने मूल भावनाका साथ आयोजना गरिएको कार्यशालाले कलेजमा अनुसन्धान संस्कृतिको विकास गर्न योगदान पुर्याउने आयोजकको अपेक्षा छ।
कार्यशालामा BCA चौथो, छैटौँ र आठौँ सेमेस्टर, BITM छैटौँ र आठौँ सेमेस्टर तथा BSc. CSIT पाँचौँ, छैटौँ र आठौँ सेमेस्टरका विद्यार्थीका साथै अनुसन्धान तथा शैक्षिक लेखनमा रुचि राख्ने अन्य विद्यार्थीको समेत सहभागिता रहेको छ।
कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद भुसाल, BCA/BITM कार्यक्रम संयोजक विशाल कँडेल, शिक्षक कमलबहादुर थापा, ललित अशोक गुरुङ तथा लुम्बिनी एलिट आईटी क्लबका अध्यक्ष कल्पित नेपाललगायतको सहभागिता रहेको छ।




