बुटवल । बुटवलका १५ वर्षिय जुम्ल्याहा दीपेश भट्टराई र दीपिका भट्टराई बंगलादेशमा हुन लागेको अन्तरिक्ष र खगोल विज्ञान सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड्मा भाग लिन दुई महिना अघि छनोट भएका थिए ।
बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत उनीहरु आफैले अनलाइन फर्म भरेर जिल्ला, प्रदेश र राष्ट्रियस्तरको प्रतिस्पर्धामा अब्बल हुंदै दीपेश पहिलो र दीपिका पांचौ स्थानमा छनोट हुन सफल भएका थिए ।
प्रयोगितामा नेपालबाट देशभरका विद्यालयबाट १९ जना छनोट भएका थिए ।
बंगलादेश जानुपुर्व उक्त कार्यक्रमको तयारीका लागि तालिम लिन दीपेश–दिपिका आमा सिता भट्टराईसंगै शुक्रबार बिहान बुटवलबाट बसमा काठमाडौं हिंडेका थिए । उक्त कार्यक्रममा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुंदै थिए ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं जांदै थिए ।
भारी वर्षाका बीच धादिङको झ्याप्लेमा पुग्दा बस पहिरोमा परेपछि उनीहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिने मात्र होइन जीवनका सबै सपना चुंडिए ।
दीपेश र दीपिका ८ हजार विद्यार्थी अध्ययन गर्ने देशकै सर्वोत्कृष्ट विद्यालयका प्रतिभाशाली र मेधावी विद्यार्थी थिए । कक्षा १० का ६२१ जना मध्ये दीपेश र दीपिका टप फाइभ भित्र पर्थे ।
स्याङजाको गल्याङ घर भई बुटवलको शान्तिचोकमा आमा सीता भट्टराईसंग बस्दै आएका दीपेश र दीपिका कक्षा ४ देखि कालिका मानव ज्ञान माविमा पढ्न थालेका थिए । उनीहरुले ऐच्छिक विषय विज्ञान र गणित रोजेका थिए । पढाइमा तीक्ष्ण दुवै विद्यालयसहित बाहिर हुने विभिन्न प्रतियोगितामा पनि भाग लिन्थे र उपाधि जित्थे ।
उनीहरुका बुबा होमनाथ भट्टराई रोजगारीका लागि कोरियामा छन् । एक दिदी र दाइ पढाईका लागि काठमाडौं छन् । हजुरबुबा गल्याङमा छन् ।
बंगलादेश जान छनोट भएपछि आमा सीता भट्टराई विद्यालय पुगेर आर्थिक सहयोगको अपेक्षा गरेकी थिइन् । ‘अन्तराष्ट्रियस्तरको कार्यक्रममा भाग लिन छनोट भएको थाहा पाएका थियौं, त्यहां भाग लिन उनीहरु आफैले फर्म भरेर छनोट भएका हुन्’–विद्यालयका प्राचार्य दिनेश थापाले भने–‘मेधावी विद्यार्थीलाई सक्दो सहयोग गर्नुपर्छ भनेर ७५ हजार रुपैयां दिएका थियौं,उनीहरुले कुनै न कुनै उपाधि जितेर आउंछने भन्ने थियो तर नसोचेको घटना भयो ।’
उनीहरुको निधनपछि सिंगो विद्यालय परिवार शोकमा डुबेको छ । ‘दीपेश र दीपिका विशिष्ट क्षमताका विद्यार्थी थिए, पढाई, अनुशासन र अतिरिक्त क्रियाकलाप सबैमा उनीहरु अब्बल थिए, अबको एसईईमा जीपीए फोर ल्याउंछन भन्ने विश्वास थियो’–कालिका मानव ज्ञान माविका कक्षा १० का इन्चार्ज दीपक बन्जाडेले भने–‘दीपेशले अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सक्ने हाम्रो अनुमान थियो,दीपिकाले पनि कुन न कुनै उपाधि ल्याउन सक्थिन् ।’
कक्षा शिक्षक ज्ञानेश्वर आचार्यका अनुसार दीपिका भन्दा दीपेश तीक्ष्ण बुद्धिका थिए । उनी गुरुहरुले पढाएको कुरा तत्कालै सजिलै बुझ्न सक्ने र साथीहरुलाई सिकाउन सक्थे । हाजिरीजवाफ, कविता सबैमा अब्बल थिए । ‘दीपेश आं गर्दा अलंकार बुझ्ने जस्तै असाध्यै तीक्ष्ण बुद्धिका प्रतिभाशाली विद्यार्थी थिए,उनलाई अगाडि सारेर अरु विद्याथर््ीलाई सिकाउन सजिलो हुन्थ्यो’–आचार्य भन्छन्–‘पाठ्यक्रम वाहेकका बाहिरी ज्ञानमा पनि उत्तिकै अब्बल थिए, क्वीज लगायत अन्य बौद्धिक क्षमताका प्रतियोगितामा सधै कहिले प्रथम त कहिले कुनै न कुनै उपाधि जितेर आउंथे, दीपिकाले पनि दीपेशलाई पच्छाउंथिन् ।’
दीपेश कालिका बाल क्लबका सल्लाहकार र निवर्तमान सह–सचिव थिए भने दीपिका सल्लाहकार र निवर्तमान कोषाध्यक्ष थिइन् ।
दीपेश र दीपकाको प्रशंसा उनको विद्यालय मात्र होइन उनीहरुलाई चिन्ने अन्य विद्यालयका शिक्षकले समेत उत्तिकै गर्छन् । अन्तर्राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड्मा नेपालबाट छनोट हुने थोरै प्रतिभाशाली विद्यार्थीहरु मध्ये टप वान र टप फाइभ र्याङकमा पर्नु चानचुने कुरो नभएको क्वीज विज्ञ न्यू होराइजन माविका शिक्षक पशुपति अर्यालले टिप्पणी गरे । ‘दिपेश र दिपिका अध्ययनमा विशेष रुचि राख्ने, मेहनत र निरन्तरतामा नै जिवनको सार्थकता भेटिन्छ भन्ने मान्यता राख्ने होनहार विद्यार्थी थिए, उनीहरु देशकै असल र उत्कृष्ट छात्र छात्राहरू थिए, बुटवलले मात्र हैन, देशले नै असाधारण प्रतिभाहरु गुमाएको छ’–अर्यालले भने ।
उनीहरु शुक्रबार बिहान बुटवलबाट लु १ज ४५७८ नम्बरको विङ्गर भ्यानमा काठमाडौं जान हिंडेका थिए । झ््याप्लेमा गाडी पुरिँदा जुम्ल्याहा दाजु–बहिनी दीपेश–दीपिका, आमा सीता भट्टराई सँगै पहिरोमा पुरिए । उनीहरूलगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाए । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको पहिचान भइसकेको छ । दीपिकाको अवस्था पहिचान भइसकेको छैन ।
सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयले ठूलो सपना लिएर हिँडेका दीपेश–दीपिकासंगै सीताको निधनले परिवारमा बज्रपात परेको बताए । ‘दीपेश–दीपिका आफ्नो क्षमताले केही वर्षमै सिंगो देशले नै चिन्ने मान्छे बन्ने हाम्रो विश्वास थियो, तर, विपत्तिले सबै सपना चुंडायो’–पाण्डेयले भने –‘उनीहरुको निधनको खबरले स्याङजा, रुपन्देही,काठमाडौंदेखि कोरियासम्म शोक छाएको छ ।’
झ्याप्ले खोलामा पुरिएका ३५ जनाको शव फेला
पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएका मध्ये यो समाचार तयार पार्दासम्म ३५ जनाको शव निकालिएको छ ।
प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार २१ जनाको शव निकालिएको हो ।
झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट गएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट गएको माइक्रो बस परेको पुष्टि भएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो ।
बुटवलबाट गएको विंगरमा बुटवल उपमहानगरपालिका–१६ सेमलारका ३७ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती ३४ वर्षीया अनु मल्ल र बहिनी २८ वर्षीया सिर्जना कुँवरले पनि पहिरोमा पुरिएर ज्यान गुमाएका छन् । प्रकाश २ महिनाअघि कोरियाबाट नेपाल फर्केका थिए । काठमाडौंकी अनुसँग साउन २७ गते विवाह भयो । गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह पहाड घर भएका उनीहरू विवाहपछि घुम्न गुल्मी पुगे । गुल्मीबाट फर्किएर प्रकाश र अनुले विवाह दर्ता गराए ।
प्रकाशको २० दिनपछि अर्थात अक्टोबर १८ गते कोरिया फर्किने टिकट थियो । अन्य परिवार काठमाडौंमै रहेकाले भेटघाट गर्ने र उतैबाट कोरिया फर्किने उद्देश्यले उनीहरुले शुक्रबार बिहान टिकट काटेर हिंडेका थिए । झ्याप्लेखोला पहिरोमा पुरिएको लु १ ज ४५७८ नम्बरको माइक्रोमा सवार गुल्मी दरबार गाउँपालिकाको चारपालाका ६३ वर्षीय जुद्धबादुर रायमाझी, उनकी बुहारी २८ वर्षीया प्रमिता रायमाझी र २ वर्षका नाती क्रिस रायमाझीको पनि मृत्यु भएको छ । उनीहरू तीनै जना काठमाडौंमा प्रमिताका श्रीमान् विवेकले मोटरसाइकलको व्यवसाय गर्ने भएकाले उतै बस्ने गरी हिँडेका थिए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका टिकट काउन्टरका कर्मचारी लक्ष्मण कार्कीका अनुसार गाडीमा चढेका कपिलवस्तुको ४ नं. जितपुर घर बताउने बोमबहादुर मगर, भिमाकुमारी र अर्को एक जना सुनवलबाट चढेकाको पहिचान खुलेको छैन । काठमाडौं बस्ने बुटवल रामनगरबाट चढेका २३ वर्षको सामोइल गुरुङको पनि पहिचान खुलेको छ ।
काठमाडौंमा बस्ने गुरुङ बुटवलको रामनगरमा बस्ने आफ्ना हजुरबुबा, हजुरआमा भेट्न आएका थिए । आइतबार स्नातक तहको परीक्षा रहेकाले त्यही परीक्षा भेट्टाउन उनी शुक्रबार बिहान गाडी चढेर काठमाडौं जाने क्रममा दुर्घटनामा परेका हुन् । गाडीमा चालक र २ वर्षका बालकसहित १४ जना चढेको र तीमध्ये बालकसहित ११ जनाको मात्र पहिचान खुलेको कार्कीले बताए ।




