नेपालीको ठूलो चाड दसैँ नजिकिंदैछ । रोजगारी, व्यापार व्यवसाय र अध्ययनका लागि शहर र विदेशिएकाहरु गाउँघर फर्कने दिन गन्दैछन् । देशमा अकल्पनीय विपद् आएको छ । चाडपर्वको उल्लासमा रम्ने नेपालीको घरदैलोमा विपद् आइपुगेको छ । आइतबार साँझसम्म १ सय ४८ जनाको ज्यान गएको छ भने ५५ जना बेपत्ता छन् । अरु क्षतीबारे यकिन हुन सकिरहेको छैन । काठमाडौं जोड्ने नाकाहरु सबै अवरुद्ध छन् । यो विपद्को कहालीलाग्दो अवस्थामा सबै मिलेर सामना गर्नुको विकल्प छैन ।
अहिले सरकारको पहिलो काम उद्धार र राहतको हो । घाइतेको उपचार, अलपत्र यात्रुलाई गन्तव्यसम्म पु¥याउनु प्राथमिकता हो । बाटोमै अलपत्रलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् गन्तव्यमा पु¥याइएको छ । घाइतेको निःशुल्क उपचारको व्यवस्था भएको छ । बेपत्ताको खोजी र मृतकको पोष्टमार्टम गरी आफन्तलाई शव बुझाउने काम पनि प्राथमिकतामा हुनुपर्छ । यी काम हुँदै गर्दा अवरुद्ध सडकलाई नियमित गर्न ढिलाइ गर्न हुन्न । अवरुद्ध सडक नखुल्दा त्यसले जनजीवन सामान्य बन्न ढिलाइ हुन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कार्यालयहरु छन्, ती कार्यालयले अवरुद्ध सडक खुलाउन सक्छन् । अवरुद्ध सडक नखुल्दा कालोबजारी मौलाउन सक्छ । यसले बजारलाई झनै अराजक बनाउन सक्छ । विपद्का बेला कालोबजारी र नाफाखोरी मौलाउने भएकाले निगरानीमा कडाइ गर्ने काम सरकारको हो ।
सबै सडकहरु अवरुद्ध भएको बेला हवाई यातायातलाई सरल र पहुँचयोग्य बनाउने काम सरकारको हो । हवाई कम्पनीले यही बेला भाडा महँगो बनाइरहेका छन् । काठमाडौं भैरहवाको भाडा ८ हजार रुपैयाँसम्म पु¥याइएको छ । जबकि सामान्य अवस्थामा ५ हजार रुपैयाँ हाराहारी थियो । आपतविपतका बेला हो साथ चाहिने, तर विमान कम्पनीको अहिलेको रवैया पटक्कै राम्रो भएन । प्रधानमन्त्रीले हवाइ कम्पनीलाई सामान्य अवस्थामा झँ भाडा तय गर्न आग्रह गरिसकेका छन् । सरकारको सम्पूर्ण ध्यान विपद् व्यवस्थापनमा लागिरहेको बेला बजारमा मनपरी गर्ने प्रवृत्तिलाई रोक्न सरोकारवाला निकायले चुस्त ढंगले निगरानी गर्नुपर्छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धारमा गरेको पहलकदमी प्रशंसनीय छ । यद्यपी कतिपय कमजोरी छन् । नख्खु खोला उर्लिदा टिनको टहराको छानोमा बसिरहेकालाई बेलैमा उद्दार गर्न टोली चुकेकै हो । अब दसैँ पर्वलाई लक्षित गरी विपद् व्यवस्थापनको कार्य छिटो छरितो हुनुपर्छ । सरोकारवाला सरकारी निकायको परिचालन र नागरिकको साथबाट विपद् व्यवस्थापन गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ ।




