भैरहवा । प्रविधिको विकाससँगै निर्माण काममा पनि परिवर्तन भएको छ । आधुनिक विश्वको लय पछ्याउँदै नेपालमा पनि आधुनिक निर्माण सामग्रीको प्रयोग बढ्न थालेको छ । आरसीसी प्रविधिको विकल्पमा स्टिलका संरचनाहरु बन्दैछन् । झ्याल ढोका पनि आल्मुनियम र फालाम सिसाको प्रयोग गर्न थालिएको छ । निर्माणको मुख्य स्वरुपमा देखिने गरेको परम्परागत इट्टाको विकल्पमा अहिले अटोक्लेभ्ड एरेटेड कंक्रिट (एएसी) ब्लक आएको छ । विकासित तेस्रो मुलुक, छिमेकी मुलुक भारतमा व्यापक प्रचलित नयाँ प्रविधिमा आधारित एएसी ब्लक नेपालमा पनि प्रयोगमा आउन थालिसकेको छ । भूकम्पपछि नेपाल भित्रिएको एएसी इट्टाले पछिल्लो समय निर्माण क्षेत्रमा प्रयोग बढ्दै गएको हो । पर्खाल वा घरको गारो लगाउनमा प्रयोग हुने जर्मन प्रविधिबाट निर्मित यो ब्लक हलुका, वातावरण मैत्री, भूकम्प, उच्च तापधारण क्षमता, ध्वनी र अग्नि प्रतिरोधक हुनुका साथै टिकाउलगायतका विशेषताले गर्दा पछिल्लो समय यसको प्रयोग बढ्दै गएको हो ।
निर्माण क्षेत्रमा नविनतम प्रविधिको खोजि भइरहेको समयमा भित्रिएको एएसी छोटो समयमै उपभोक्ताहरुको माझमा लोकप्रिय भैसकेको छ, लामो समयदेखि खोजिरहेको वस्तु बजारमा उपलब्ध भएकोमा इञ्जिनियर, आर्किटेक्ट, कन्ट्रयाक्टर र निर्माण व्यवसायीहरु पनि खुशी छन् ।
परम्परागत इट्टाको तुलनामा फाइदाजनक भएकाले एएसी ब्लकको माग बढ्दो क्रममा छ । अटोक्लेभ्ड एरेटेड कंक्रिट अर्थात एएसी ब्लक बनाउँदा उर्जाको बचत हुने, आकारमा एकरुपता आउने, टिकाउ, ध्वनी अवरोधक र वातावरण मैत्री हुने भएपछि नेपालमा यसको प्रयोग बढ्दै गएको हो ।
रुपन्देहीमा पनि नेपाल एएसी कम्पनिले ब्लकको उत्पादन सुरु गरि बिक्री वितरण गर्दै आएको छ । एएसी ब्लक खरानी, चुना, सिमेन्ट, जिप्सम र आलुमिनियम पाउडर मिलाएर बनाइएको हुन्छ । यसमा तातो र चिसो प्रसार गर्ने क्षमता कम हुन्छ । अर्थात् बाहिरको तातो वा चिसो भित्र कम छिर्छ । जर्मन प्रविधिबाट उत्पादन गरिएको एएसी ब्लक प्रयोग गरेर घर तथा भवन निर्माण गर्दा लागत सस्तो पर्ने, घर निर्माण कार्य छिटो सकिने र आकर्षक देखिने भएपछि यसको प्रयोगमा वृद्धि हुने कम्पनीका सञ्चालक धिरज मल्लीकले बताए ।
एएसी ब्लक रुचाइनुका कारणहरु धेरै रहेका छन् । एउटा ४ इन्च मोटाइको एएसी ब्लक ९ वटा परम्परागत माटोको इट्टा बराबर हुन्छ । सामान्यतयाः इट्टाको प्रयोग गर्दा १० देखि १५ प्रतिशत टुटफुट हुने गर्छ, तर यसको प्रयोगमा २ देखि ३ प्रतिशत मात्रै टुटफुट हुन्छ । त्यस्तै निर्माणका क्रममा सिमेन्ट खपत कम हुने र अन्य तुलनामा ३० प्रतिशतसम्म सस्तो पर्न जाने सञ्चालक मल्लीकले जनाए । त्यस्तै ब्लकको बाहिरी सतह चिल्लो हुन्छ, प्लास्टर गर्न पर्दैन । सिधैँ रङ लगाए हुन्छ । आकार एकनासको हुने भएकाले प्रयोग गर्न सजिलो छ । ब्लक संख्या नै कम लाग्ने भएकाले हरेकको जोडाइमा लाग्ने मसला (सिमेन्ट–बालुवाको मिश्रण) इट्टाको तुलनामा आधा कम हुन्छ ।
कुनै पनि भवन चाँडोभन्दा चाँडो निर्माण सम्पन्न परम्परागत इट्टाभन्दा एएसी ब्लक प्रयोग गर्दा छिटो हुन्छ भने आगोले नटिप्ने भएकाले पनि यो निकै सुरक्षित मानिन्छ । २०७२ सालको भूकम्पपछि नेपालमा यसको प्रयोग व्यापक बन्दै गएको हो । भूकम्प प्रतिरोधी क्षमताका कारण पनि यस्ता ब्लकप्रति उपभोक्ताको विश्वास बढ्दै गएको कम्पनिका प्रविधिक दिपक भट्टराईले बताए । एसीसी ब्लकका लागि नोपलमै ८० प्रतिशत कच्चा पदार्थ उपलब्ध छ भने बाँकी २० प्रतिशत कच्चा पदार्थ आयात गर्नुपर्छ ।
नेपाल एएसीले पायो आइएसओ
अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको नेपालका लागि सहजीकरण कम्पनी ग्लोबल कन्सल्टका नेपाल प्रतिनिधि नारायण दवाडीले गुणस्तर प्रमाणित गर्ने नेपाल एएसी कम्पनीलाई आइएसओको लोगो प्रदान गरे । कम्पनीले विभिन्न सूचकहरु पार गरी गुणस्तर मापदण्ड पूरा गर्दै गरेकोले लोगो प्रदान गरेको बताउँदै कम्पनीको व्यवसाय अन्तर्राष्ट्रियस्तरको बन्ने उनले बताए । विश्वमा ३ करोड ७४ लाख आइएसओ प्राप्त छन् भने नेपालमा १३ सय बढी आबद्ध भई प्रमाणिकरण पाएका छन् भने ७ सय वटा प्रक्रियामा रहेको उनले जनाए । धेरै सूचकहरु रहेको गुाण्स्तर प्रमाणिकरणका लागि मापदण्डमा रहनु पर्छ ।
नेपालमा पनि ठूला निर्माण कार्यमा यो ब्लककको प्रयोग बढ्दो छ । करिब आधा दर्जन कम्पनीले नेपालमा यसको उत्पादन गर्दै आएका छन् भने हामी निर्यातको तयारीमा रहेको नेपाल एएसी कम्पनीका अध्यक्ष प्रमोद यादवले बताए । ८० देखि १०० वर्ष आयु रहेको ब्लक ३ पूसता सम्म चल्छ, हामीले आइएसओ पनि प्राप्त गरेका छौं, पूर्ण क्षमतामा उत्पादन गरी छिमेकी देश भारतको नजिकैको बजारमा निर्यात गर्ने प्रक्रियामा रहेको यादवले जानकारी दिए ।
कम्पनीले एएसी ब्लक २४ इन्च (दुई फिट) लम्बाइ र ८ इन्च उचाइमा विभिन्न ३ वटा साइज ४, ६ र ८ इन्च मा उपलब्ध गराएको छ । कम्पनिले छिट्टै आवश्यकताअनुसार साना र बढी चल्ने आकारमा पनि उत्पाद गर्ने योजना बनाएको अध्यक्ष यादवले बताए ।
एएसी ब्लक प्रयोग गर्न सजिलो र सस्तो पर्ने भए पनि आम उपभोक्तालाई अझैँ जानकारी गराउन बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । एएसी ब्लक पनि माटोको जस्तै इट्टा हो, माटोको इट्टाभन्दा बढी बलियो र किफायती हुन्छ भने सम्झाउन जरुरी छ, ब्लक भन्ने बित्तिकै कंक्रिटकै बुझने भएकोले यसलाई आम जनमानसमा चिर्न पर्छ ।
धेरै फाइदा हुँदाहुँदै पनि एएसी ब्लकका केही बेफाइदा पनि छ । एएसी ब्लकमा भारवहन क्षमता माटोको इट्टाका तुलनामा कम हुन्छ । त्यसैले घरको जगमा यो प्रयोग गर्न मिल्दैन । ३–४ वर्ष अगाडि विदेशबाट आयात गरी नगन्य मात्रामा प्रयोग भैरहेको एएसी आजको दिनमा स्वदेशमै कम्पनीले उत्पादन गरी उपभोक्ता माझ पु¥याइरहेका छन् । एएसीको बजार हिस्सा दिनानुदिन तीब्र गतिमा बढिरहेको छ भने सर्वसाधारण मानिसहरुमा पनि एएसी प्रयोग प्रतिको आकर्षण बढ्दो छ ।
एएसी ब्लकहरु आवासीय भवन, औद्योगिक भवन, व्यापारिक भवन, कार्यालय भवन, हस्पिटल, पर्खाल, थिय्रटर, विद्यालय, कलेजलगायत निर्माण गर्न प्रयोग गर्न सकिन्छ ।




