बुटवल उप–महानगरपालिकाले किसान र मासु व्यवसायीसँग गरेको सहमति तोडेर अघि बढेपछि बुटवलमा निर्माण भएको वधशाला सञ्चालनमा समस्या भएको छ । अहिले मासु व्यवसायी र उप–महानगरपालिका आमनेसामने लडाईंमा छन् । जुन लडाईं बुटवलको व्यवसायिक वातावरणका लागि घातक हुनेछ ।
बुटवल उप–महानगरपालिकाले वधशालामा मात्रै वध गरेका खसी बोकालगायतको मासु बेच्नुपर्ने भन्दै धमाधम मासु व्यवसायीलाई जरिवाना गर्न थालेको छ । उप–महानगरपालिकाको जरिवाना र पसल बन्द गरिदिने चेतावनी दिएपछि व्यवसायीहरुले पनि आन्दोलन गर्ने र बुटवलमा मासु व्यवसाय नगर्नेसम्मको तयारी गर्न थालेका छन् । यो परिस्थितिको कारक बुटवल उप–महानगरपालिकाको कमजोरीले हो । वधशाला चलाउनका लागि यस अघि मासु व्यवसायी, किसान र उप–महानगरपालिकाबिच भएको सार्वजनिक निजी साझेदारी मोडलमा सहमति भएको थियो । सहमतिअनुसार वधशाला सञ्चालनको प्रतिक्षामा रहेका व्यवसायीलाई उप–महानगरपालिकाले सम्झौता खारेज गरी धोका दिएको थियो । त्यसपछि अर्कै कम्पनीलाई ठेक्का दिएको थियो । त्यो कम्पनीले चलाएको वधशालामा वध गर्नैपर्छ भन्ने उप–महानगरपालिका र गर्दैनौं भन्ने व्यवसायीको विवादको मारमा उपभोक्ता परेका छन् । एकातिर राज्यको २३ करोड लगानीको प्रतिफल नागरिकले पाउन सकेनन् । अर्कोतिर दसैंको मुखमा मासु पसल बन्द गरेर आन्दोलनमा उत्रने मुडमा व्यवसायी देखिन्छन् ।
किसानले खसी बोका बेच्ने, मासु व्यवसायीले तिनै खसी बोकाको मासु बेचबिखन गर्ने गरी उनीहरुलाई समेत वधशालाको मालिक बनाउने मोडल वधशाला सञ्चालनको राम्रो मोडल थियो । यसअघि नै उप–महानगरपालिकाले धोका दिएको भन्दै किसानले वधशाला सञ्चालन गरेको कम्पनीलाई खसी बोका नदिने बताइसकेका छन् । मासु व्यवसायी पनि त्यो वधशाला प्रयोग नगर्ने र छुट्टै वधशाला चलाउने गरी उप–महानगरपालिकाले सहजीकरण गर्नुपर्ने बताइरहेका छन् । अब बुटवलबाट व्यवसायीलाई विस्थापित हुन नदिन उप–महानगरपालिकाले पूर्व सहमतिमै फर्कनुपर्छ । किसान,मासु व्यवसायीसहितको कम्पनीसँगरेको सहमतिअनुसार वधशाला चलाउन प्राथमिकता दिनुपर्छ ।
कुनै आयोजनाको निर्माण गर्नुमात्रै ठूलो विषय होइन्, त्यसको सञ्चालन र व्यवस्थापन पनि महत्वपूर्ण हुन्छ । निजी सार्वजनिक मोडलमा वधशाला चलाउन सकिन्छ भन्ने निष्कर्षका आधारमा प्रदेश सरकारले वधशालाका लागि १५ करोड लगानी गरेको हो । अर्कैले लगानी गरेको आयोजनामा उप–महानगरपालिकाले विभिन्न बखेडा झिकेर समाजमा प्रभाव पार्ने नमूना आयोजनालाई असफल बनाउन खोजेको त होइन् ? अहिले उठेको यो प्रश्नको जवाफ दिनुपर्छ ।




