असोज १२ गते बिहान देशव्यापी वर्षा भइरहेको थियो । रेडियो, टेलिभिजन र विभिन्न अनलाइन समाचारहरुले देशव्यापी भइरहेको वर्षा अनि त्यसबाट भएको ठूलो जनधनको क्षतिको विवरण बताइरहेका थिए । त्यो सुन्दै र हेर्दै बसिरहेको अवस्थामा अचानक अधिवक्ता तथा नागरिक अगुवा पदमबहादुर कार्कीको फोन आयो । फोनमा अत्यन्त दुःखित स्वरमा भन्नुभयो, कार्की दाइ बच्नु भएन, छोरीले निधन भएको बताइन् । केही समय म फोनमा बोल्नै सकिन । के भन्ने के नभन्ने नमर्स । तर तुरुन्तै समालिदै भने म आइहाल्छु पाल्पा गइहाल्यौ । तर पदमजीले पाल्पा जाने बाटो बन्द छ कसरी त्यहाँ जाने ? मैले बुझ्छु र तपाईंलाई जानकारी गरी त्यहीअनुसार जे गर्नु पर्ने हो त्यही गरौंला भन्नुभयो ।
कर्णबहादुर कार्कीजी गत दुई वर्षदेखि मृर्गौलाले काम गर्न नसकी मृर्गौला रोग पीडित हुनुहुन्थ्यो । मृर्गौला ट्रान्सप्लान्ट गर्ने कुरा चलिरहेको थियो । यही अवस्थामा उहाँलाई अर्काे रोग हर्नियाले पनि सताएकाले यही भाद्र महिनामा त्यसको उपचार अञ्चल अस्पतालमा भएको थियो । अब उहाँको मृर्गौला बदल्नका लागि संघीय सरकार, प्रदेश र विभिन्न स्थानीय सरकारसँग समन्वय गरी त्यसको आर्थिक जोहो गर्ने कुरा पत्रकार डा. बालकृष्ण चापागाईं, मोहन चापागाईं अनि अधिवक्ता पदमबहादुर कार्कीसँग भइरहेको थियो । संघीय सरकारका मन्त्रीहरुसँगको भेटका लागि काठमाडौं जाने सल्लाह पनि भएको थियो । तर एकाएक पदमजीले कार्की दाइलाई रोगले अलि बढी चापेकाले बुटवल मुटु अस्पतालमा ल्याएको कुरा बताउनुभयो । हतारिंदै म त्यहाँ पुगे । बाहिर छोरी निरु बसेकी, सोधिहाले कार्कीजी कहाँ हुनुहुन्छ ? छोरीले हस्पिटल बेडमा पु¥याइन, बाबा अंकल आउनुभएको छ । आँखा एकदमै चिम्लिएको अवस्था, शरीर सबै शिथिल । बिरामी भए पनि जहिले पनि बोल्दा र हेर्दा अत्यन्त फुर्तिलो र हँसिलो अनुहारमा देखिने कार्कीजीको त्यो अवस्थाले मलाई खिन्न पा¥यो । तै पनि हात–मुख सुमसुमाउँदै कार्कीजी भने पुलुक्क आँखा उघार्नु भयो र भने मलाई चिन्नुभयो । शिर हल्लाएर अँ भन्नुभयो । तर तुरुन्त आँखा चिम्लिहाल्नुभयो । मेरो उहाँसँगको जिउँदो अन्तिम भेट त्यही भयो । दुःखले केही आँसु खसाल्नु बाहेक अरु केही गर्न सकिएन ।
पछि बाहिर अर्की कान्छी छोरी पनि लण्डनबाट त्यहाँ आएकी रहिछन् । लामो समयदेखि देख भेट नभएको बच्चा हुँदा देखेको चिन्न नै मुश्किल, तर उनले भने मलाई चिनिहालिन् । नमस्ते अंकल भनिहालिन् । नमस्ते भने । बुबाको बारेमा कुराकानी भयो ।
डाक्टरहरुले घरमै लैजान भनेका छन् भनिन् । त्यही बेलामा पदमजी पनि आउनु भयो । के गर्ने सरसल्लाह भयो । बेड भए अञ्चल अस्पतालमा भर्ना गर्नु पर्छ कि भनी हामीले चिने जानेका डा. वीरेन्द्रकुमार यादवसँग कुराकानी भयो । उहाँले इञ्चार्ज डाक्टरसँग नै सम्पर्क गर्न सुझाउनु भयो । उक्त हस्पिटलका डाक्टर सापहरुको सरसल्लाह अनुसार अञ्चल हस्पिटलको इमर्जेन्सी विभागमा भर्ना गरिहाल्ने पछि बेडमा मिलाउने कुरा भयो । त्यहीअनुसार छोरी र उहाँका आफन्तहरुले उहाँलाई अञ्चल अस्पतालमा लैजाने काम भयो । तर पछि कार्कीले म यहाँ बस्दिन घरै लैजान जिद्धी गरेकाले पाल्पा घरमै लैजाने काम भयो ।
कार्कीजीको बाँच्ने आशा मरिसकेको रहेछ । त्यस्तो के कारणले भयो, बुझ्न सकिएन । नेकपाका नेता शरद ओली पाल्पामा नै गई भेट गर्दा अब मलाई कत्ति पनि बाँच्ने रहर छैन छिट्टै मर्ने इच्छा व्यक्त गर्नुभएको कुरा कमरेड ओलीले बताउनुभयो । नभन्दै असोज १२ गते उहाँको मृत्यु भयो । उहाँको त्यो मृत्युले धेरैलाई दुःखित पा¥यो । उक्त निधनमा उहाँको अन्तिम भावपूर्ण श्रद्धाञ्जली विदाई दिन बाटो खुले उहाँको मृतक शवलाई बुटवलमा ल्याउन सके हुन्थ्यो भन्ने सबैको सुझाव भयो । त्यही अनुरुप उहाँको शवलाई बुटवलमा नै ल्याउन लागेको खबर मलाई पदमजीले गर्नुभयो । त्यही अनुरुप म तुरुन्त दैनिक लुम्बिनी प्रकाशन कार्यालयमा पुगें । त्यहाँ सम्पादक शेरबहादुर के.सी.सँग पहिले उहाँको शव पत्रकार महासंघ लैजाने त्यहाँ उहाँको अन्तिम श्रद्धाञ्जली सकेपछि दैनिक लुम्बिनीको कार्यालयमा ल्याउने र यहाँ पनि त्यस्तै अन्तिम श्रद्धाञ्जली दिएपछि बल्ल उहाँको अन्तिम अन्त्यष्टिका लागि मगरघाट लैजाने कुरा भइरहेको थियो । तर पछि उहाँको शव सिधै मगरघाट पु¥याइसकेको जानकारी आयो । त्यही अनुरुप म सम्पादक शेरबहादुर के.सी.सँग त्यहाँ पुग्यौं र उहाँको अन्तिम विदाई श्रद्धाञ्जली र अन्तिम दाहसंस्कारको तयारी गरियो ।
जन्म र मृत्यु प्राकृतिककै उपज हो । जन्मेपछि एकदिन मर्नैपर्दछ यो प्रकृतिको नियम हो । तैपनि जन्मिदा हर्ष–खुसी अनि मृत्युमा दुःखी हुने मानवीय स्वभाव हो । हाम्रा आदरणीय व्यक्तित्व कर्ण बहादुर कार्कीको यो मृत्युले उहाँको सपरिवार, इष्टमित्र सबैलाई दुःखित पारेको छ । तैपनि उहाँको अन्तिम श्रद्धाञ्जली विदाई सबैले गर्नै पर्ने त्यसैले पत्रकार महासंघका पत्रकार, पार्टीका सबै नेता–कार्यकर्ता, नागरिक अगुवा अनि उहाँको सपरिवार, इष्टमित्र सबैको सामु त्यही मगरघाटमा एउटा अन्तिम श्रद्धाञ्जली शोकसभा सम्पन्न भयो । त्यसमा पत्रकार महासंघका सदस्य पत्रकारहरु डा. बालकृष्ण चापागाईं, मोहन चापागाईं, रुपन्देही सभापति रामराज पोखरेल, शेरबहादुर के.सी. यानेन्द्र जिसी आदिले शोक व्यक्त गर्दै सपरिवारप्रति समवेदना व्यक्त गरेका थिए । त्यस्तै पार्टीबाट नेकपा (माओवादी केन्द्र) का स्थायी समिति पदाधिकारी सदस्य तथा पूर्व मन्त्री चक्रपाणि खनाल ‘बलदेव’, नेकपाका शरद ओली, क.बसन्त श्रेष्ठ लगायत अन्य पार्टी नेता र कार्यकर्ताहरुले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।
त्यस्तै नागरिक समाजका अगुवा पदम कार्कीले नेपालको सूर्य, चन्द्र, अंकित झण्डा ओढाएर अन्तिम विदाई गर्नुभएको थियो । शोकसभामा कर्णबहादुर कार्कीजीले मुलुकको पत्रकारिता, समाज परिवर्तन र राजनीतिक परिवर्तनका लागि गरेका उल्लेखनीय योगदानको चर्चा भएको थियो । नेकपा (मा.के.) का नेता चक्रपाणि खनाल (बलदेव) ले उहाँका यी योगदानहरुको बारेमा एउटा छुट्टै स्मारिका ग्रन्थ नै प्रकाशित गर्नुपर्ने बताउनुभएको थियो ।
पछि छुट्टै भेटमा पुनः मैले क. बलदेवलाई त्यसको लागि साँच्चै नै पहल कदमी गर्नका लागि अनुरोध गरे । त्यसका लागि मैले के गर्नु पर्ने हो त्यो गर्न पनि तयार रहेको बताए । प्रसिद्ध प्रगतिशील साहित्यकार तथा लेखक प्राध्यापक दिल साहनीले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको त्यो जुझारु विद्रोही स्वभावको प्रशंसा गर्नुभएको थियो ।
कर्णबहादुर कार्कीजी दैनिक लुम्बिनीका संस्थापक सम्पादक तथा प्रकाशक, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी मात्रै नभएर समाज र राष्ट्रको आमूल परिवर्तनका राजनीतिक क्रान्तिकारी नेता पनि हुनुहुन्थ्यो । उहाँ सुरुमा नेकपा (चौ.म.) अनि पछि नेकपा (मसाल) नेकपा (एकता केन्द्र) र पछि नेकपा (माओवादी) पार्टी सदस्य पनि हुनुहुन्थ्यो । नेकपा (एकता केन्द्र) मै रहँदा उहाँ जनमोर्चा नोपलको तर्फबाट २०४८ सालमा सांसद उम्मेदवार पनि बन्नुभएको थियो । पछिल्लो कालमा प्रत्यक्ष राजनीतिमा त्यति सक्रिय नभए पनि सामाजिक तथा नागरिक एवम् राष्ट्र परिवर्तनका लागि आफू सक्दो योगदान पु¥याइरहनु भएको थियो । चाहे देशको २०३५÷०३६ सालको जनआन्दोलन होस् चाहे २०४५÷०४६ सालको परिवर्तनमा उहाँको ठूलो महत्वपूर्ण योगदान छ ।
पछि १० वर्षे माओवादी जनयुद्ध कालमा पनि २०६२।०६३ को लोकतान्त्रिक गणतान्त्रिक आन्दोलनमा उहाँको प्रत्यक्ष सहभागिता रहेको थियो । यतिसम्मकि २०६२।०६३ सालको आन्दोलनका लागि संविधानसभाका लागि नागरिक अभियानका उपाध्यक्ष भई काम गर्नुभएको थियो । त्यही अभियान अन्तर्गत उहाँकै नेतृत्व र अगुवाईमा दैनिक लुम्बिनी पत्रिकाको तर्फबाट सन्ध्याकालीन प्रकाशन बुलेटिन पनि प्रकाशित भएको थियो । उक्त बुलेटिन त्यो आन्दोलनकालभरि बुटवलमा सबैका हात हातमा पु¥याई उक्त आन्दोलनका लागि ठूलो योगदान पुगेको थियो । तर अब यी सबै स्मरणका यात्राहरु मात्रै भएका छन् । तैपनि हामी जस्ता लेखक तथा शुभचिन्तक एवम् राजनीतिक दल नेताहरु जस्तो माथि नेकपा (मा.के.) का नेता बलदेवले भने जस्तै स्मारिका तथा सोध ग्रन्थहरु प्रकाशमा ल्याउन सके आगामी युवा पुस्ताका लागि यी सबै प्रेरणाका स्रोत बन्ने निश्चित छ ।
व्यक्तिगत रुपमा मेरो भेट कार्कीजीसँग २०३८ सालमा भएको थियो । नेकपा तत्कालीन चौ.म. को पार्टी सम्मेलन भारतको गोरखपुरमा भएको थियो । उक्त सम्मेलन पछि म काठमाडौं जानुपर्ने तर मलाई बाटा खर्च गाडी भाँडाको अभाव थियो । त्यसका लागि क.मोहन विक्रम सिंहले एउटा लेखसहित कर्णबहादुर कार्कीजीलाई एउटा पत्र लेखिदिनु भयो ।
उक्त लेख कार्कीजीले पछि आफ्नै प्रकाशन आवाजमा प्रकाशित गर्नुभयो । काठमाडौं चल्ने एउटा गाडी ड्राइभरसँग मेरो सम्पर्क गराई मलाई काठमाडौं पठाउने काम गर्नुभयो । उक्त लेखको प्रकाशन पछि कार्कीजीको पत्रिका आवाज र उहाँको ठूलो चर्चा परिचर्चा पार्टीभित्र लामो समयसम्म रहिरहयो । पार्टीभित्रको अन्तरपार्टी विवादलाई त्यसले बाहिर ल्याएको भन्दै उहाँको आलोचना भयो भने मोहन विक्रम कमरेडलाई त पार्टीले कारबाही नै ग¥यो ।
त्यसपछि पनि पटकपटक क.मोहन विक्रमका त्यस्ता लेखहरु जमर्काे र आवाजबाट उहाँले प्रकाशित गराइरहनुभयो । अहिले पनि क. मोहन विक्रमले मसँग भेट हुँदा कार्कीजीको के छ ? हाल खबर सबै बुझ्ने गरिररहनु हुन्छ । पछि २०४५ सालमा पार्टी र हाम्र्रै सरसल्लाहमा दैनिक लुम्बिनी प्रकाशन उहाँले गर्नुभएको थियो । कुनै बेला मसाल पार्टी भन्नु नै कर्णबहादुर कार्की र कर्णबहादुर कार्कीभन्दा बित्तिकै मसाल भन्ने बुझाई धेरैको थियो ।
हुन पनि कर्णबहादुरजीलाई देख्दा बित्तिकै यहाँ मसाल आयो भन्दै कोही लुक्थे भाग्थे भने धेरै उहाँको अघि पछि लाग्दै आधार सम्मान गरेको पाइन्थ्यो । चोर, फटाहा, लुटेरा र अपराधी, राष्ट्र र जनघाती, पञ्चे, मण्डले उहाँलाई देख्दा लुक्थे भाग्थे र डराउँथे भने शोषित, पीडित, न्यायप्रेमी जनता भने उहाँसँग आउँथे र आफ्ना समस्या बताउँथे ।
त्यसलाई कार्कीजीको सर्वप्रथम पत्रिका मार्फत् उठाउने त्यसपछि आवश्यक परे प्रत्यक्ष कारबाहीमा नै उत्रिहाल्ने उहाँको बानी थियो । त्यस्ता कैयौं फटाहा अपराधीहरु कारबाहीमा परे भने धेरैले उद्धार, राहत र न्याय पाएका थुप्रै उदाहरणहरु छन् ।
यस्ता उदाहरण मध्ये एउटा उदाहरण २०४६ पछि भएको सुकुम्बासी समस्याको छ । तत्कालीन कांग्रेस–वाममोर्चा सरकारले रुपन्देहीमा सुकुम्बासी हटाउने उर्दी जारी ग¥यो । त्यसको विरुद्ध तत्कालीन मसालले सुकुम्बासीलाई संगठित गरी आन्दोलन चलायो । सरकार पुलिस लगाएर सुकुम्बासी दबाउन लाग्यो भने हामी सुकुम्बासीलाई संगठित गरी त्यसको प्रतिरोधमा लाग्यौं । त्यसको नेतृत्व यहाँ कार्कीजीले गर्नुभएको थियो । चक्का जाम, हड्ताल, गाउँगाउँमा प्रतिकार मोर्चा निर्माण अन्तत तत्कालीन कांग्रेस–वाम मोर्चा पछि हट्न बाध्य भयो । सुकुम्बासीहरुसँग सम्झौता गरी तत्कालीन जहाँ जहाँ जुन स्थितिमा सुकुम्बासीहरुको बसोबास छ, त्यसलाई नै यथावत राखी बाउन्डरी गर्ने काम भयो । सम्भवत त्यही सम्झौता नै अहिलेसम्म यहाँ यथावत छ ।
अर्काे एउटा घटना कालो बजारिया विरुद्धको छ । तत्कालीन पार्टी नेकपा (एकता केन्द्र) ले नेपाल बन्दको आयोजना गरेको थियो । त्यही मौका पारी एउटा पेट्रोल पप्प जुन त्यतिबेला अंचल हस्पिटलको उत्तर साइडमा अवस्थित थियो । त्यसले धमाधम पेट्रोलमा मट्टितेल मिसाइरहेकोे खबर केही गाडी चालकहरुले कर्ण बहादुरजीलाई खबर गरे छन् ।
त्यसपछि तत्काल बुटवलमा रहेका केही हाम्रा कार्यकर्ताहरुलाई बोलाई त्यहाँ गई रंगेहात पप्प संचालकलाई समातियो । त्यसको प्रतिकारमा उत्रन खोजेपछि कार्कीजीले उल्टै त्यसलाई कालो मोसो दली शहर घुमाइयो । त्यो गरे बापत कर्णबहादुरजी र मलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलायो । पछि अदालतबाट धरौटी बुझाई हामी तारिकमा छुट्यौं । त्यो दिनभरि नै यसैको कारण पटकपटक जनता र पुलिसबीच झडप भइरहयो । दिनभरि तोडफोड, नारा, जुलुस, लाठीचार्ज प्रहरी दमन भइरहयो ।
कर्णबहादुर कार्की सम्बन्धित यस्ता कैयौं घटना यहाँ भएका थिए । ती सबैको बेली विस्तार अहिले यहाँ सम्भव छैन । पछि क्रमशः यी घटनाक्रम सबैको चित्रण गरिनेछ । यहाँ अहिले केवल कार्कीजीको अन्तिम अवस्था र सम्झनाका लागि एकआध यस्ता घटनाहरुको जानकारी गराउन मात्र खोजिएको छ । सारमा भन्नुपर्दा कर्णबहादुर कार्की एउटा निडर साहसी जनपक्षीय क्रान्तिकारी नेता हो । पत्रकारितामा मात्रै होइन उहाँले समाजको लागि राज्य व्यवस्थाकै विरुद्ध विद्रोही आवाज बुलन्द गर्ने एउटा पत्रकार राष्ट्रिय सेनानी मात्रै नभई एउटा प्रतिक्रियावादी राज्य सत्ताकै विरोधी क्रान्तिकारी सेनानी हुनुहुन्थ्यो । दुःखद छ, आज हाम्रो सामु त्यस्तो क्रान्तिकारी सेनानी रहनुभएन । अलविदा, भावपूर्ण अन्तिम श्रद्धाञ्जली पत्रकार तथा जनसेनानी कमरेड कर्णबहादुरजीलाई । साथै यो दुःखद घडीमा उहाँको सपरिवारप्रति भावपूर्ण समवेदना व्यक्त गर्न चाहन्छु ।




