भैरहवा । नेपालीको घरदैलोमा दसैँको उल्लास नजिकै गर्दा भारतीय सीमावर्ती बजारमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने गरेको छ ।
विशेष गरी सिमा क्षेत्रमा रहेका नेपालका ठूला शहरहरूसँग जोडिएका सुनौली, नौतनवा, ककरहवा, भगवानपुर लगायतका भारतीय बजारहरूमा अहिले दिनहुँ नेपाली उपभोक्ताको भीड लाग्न थालेको हो । चिनी र लत्ताकपडा सस्तो पाइने लोभमा भारत जानेहरु अन्य सामानहरू पनि खरिद गरेर आइरहेका छन् ।
सिमावर्ती भारतीय बजार मा नेपाली उपभोक्ताको घँुइचो लागिरहँदा नेपाली बजारहरूमा भने खासै चहल पहल देखिदैँन । नेपाली उपभोक्ताहरू सिमावर्ति बजारमा दैनिक उपभोग्य सामान, चिनी, लत्ताकपडा ,तेल लगायतका सामग्री खरीद गर्न अत्यधिक रूपमा पुग्ने गरेका छन् ।
एक साता अगाडि मात्रै सिद्धार्थ उद्योग वाणिज्य संघ सहित रुपन्देहीका क्रियाशिल चार व्यवसायीक संस्थाहरुले कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोबारले राजश्व संकलन तथा व्यवसायिक कारोबारमा असर गरेको भन्दै त्यसलाई रोक्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएको अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
व्यक्तिगत रुपमा पनि भन्सार कार्यालयका प्रमुख, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रमुखहरुसँग समस्या राखेको बताउदै उनले बेलहियामा यात्रु शाखा अगाडि कडाई गरिएपनि भारतिय व्यवसायीहरुले नै अर्डर लिएर घर घर सामान पठाउने काम गरिरहेको पाइएको बताए ।
चाडपर्वका बेलामा मात्रै अर्बो रूपैयाँको खुद्रा व्यापार नेपालीले भारतमा गर्ने भए पनि त्यसबाट नेपाल सरकारले भने कुनै लाभ लिन सकेको छैन् । भन्सार कार्यालयले न्यूनतम मुल्य १०० भन्दा बढीको सामान खरीद गरी ल्याएमा संक्षिप्त प्रज्ञापन लगाउने निणर्य छ तर राम्रो सँग कार्यान्वयन नहँुदा राज्यले फाइदा लिन सकेको छैन । भन्सार कार्यालयले भने नियमपूर्वक काम गरिरहेको दाबी गर्दै आएको छ ।
हाम्रा उपभोक्ता जागरूक नहँदा वारी र पारी पाइने सामानको मुल्य गुणस्तरको तुलना गर्न नसक्दा खरिदारीका लागि धेरै भारतिने गरेका छन् । यसमा राज्यको नीति पनि कमजोर देखिन्छ ।
रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघले विहिवार संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउदै कडाईसाथ भन्सार नियमन गर्न आग्रह गरेका थिए ।
खुल्ला सीमाबाट भइरहेको अबैध कारोबारले सरकारको राजश्व संकलनमा असर गर्नुकासाथै नीजि क्षेत्रका व्यवसायीहरुको व्यवसायलाई समेत प्रभाव पारेको बारे ध्यानाकर्षण गराएपनि भारतमा किनमेल गर्न रोक्न सरकारी निकायले पहलकदमी लिएका छैनन् ।
सिमावर्ती सुनौली बजारका छागुर किराना पसलका सञ्चालक भन्छन अहिले दशैँका लागि खरिद गर्न आउने नेपालीहरूको चाप बढी छ । पहिला भन्दा अहिले ग्राहकहरु बढेका छन, पर्वको बजार गर्न महिलाहरू धेरै आउने गरेको छन ।
सुनौली बजारमा खरिदारी गर्न रूपन्देहीको भैरहवा, बुटवल र अन्य ग्रामिण क्षेत्रका उपभोक्ता मात्र नभई छिमेकी जिल्ला पाल्पा, गुल्मी अर्घाखाँचीका उपभोक्ता समेत आउने गरेका छन् ।
सिमावर्ति बजारमा चिनी र कपडाहरू केही सस्तो भए पनि अन्य सामानहरूको मुल्यमा नेपाल र भारतीय बजारमा खासै फरक नरहेको तर पनि नेपालीहरू त्यतै धाउने गरेको नेपाली व्यवसायी बताउँछन् ।
उपभोक्तामा चेतनाको अभाव छ, सचेत छैनन् सस्तो पाइने भन्दै अखाद्य, गुणस्तरहीन सामान किन्दा समेत उपभोक्ताहरूले थाहा पाउँदैनन । उपभोक्ताहरूले सस्तोको नाममा अखाद्य तथा गुणस्तरहिन सामान खरीद गर्ने गरेका छन् । उपभोक्ताहरू जागरूक नहँदा र चेतनामा अभिबृद्धि नहँदा सम्म भारतीय बजारमा भन्दा नेपाली बजारमा सामानहरू सस्तो पाइए पनि उपभोक्ता सिमापारी नै ओइरीने छन् ।
सुनौलीका बजारमा पाइने दैनिक उपभोग्य वस्तुहरू तेल, घिउ गुणस्तरहिन हुने गरेकोले सस्तोको लोभमा प्रयोथ गर्दा स्वास्थ्यमा समेत असर पुग्ने चिकित्सकहरूको भनाई छ ।
जनचेतनाको अभाबले सस्तो पाइने भन्दै दशैँका बेला मात्रै अर्बौ रूपैयाँ सामान्य खरिदारीका नाममा भारतिने गरेको छ । यसले पक्कै पनि नेपालको अर्थतन्त्रलाई फाइदा पुर्याउँदैन ।
उद्योग व्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठले नेपालीहरुका प्रमुख चाडपर्वहरु नजिक आएको अवस्थामा पनि नेपाली वजार सुनसान बनेको बताउदै सीमा क्षेत्रबाट हुने अवैद्य कारोवार नरोकिए नेपाली व्यवसायीले व्यवसाय छाड्न बाध्य हुने बताए । हामीले सम्बनिधत निकायलाई दैनिक जसो एउटै कुरा राखिरहेका छौ । हामी सिमामा बस्न नसकेपनि स्वयसेवक राखेर अबैद्य कारोवार रोक्न र भन्सार नियमन गर्न संस्था साथ दिने बताए ।
नेपाली युवा युवतीहरुले पनि भारतमा गई सामानहरुको प्रचार सामाजिक संजालबाट गरि व्यापारको माध्यम बनाएका छन उनीहरुले घर घर पुर्याउदै आएका छन । सामाजिक संजालमा पोस्ट गर्ने र अर्डर लिई भारतबाट कपडा लागयतका सामान नेपाल अवैध रुपमा भित्रयाउने गरेका छन ।
व्यवसायीहरुले भारतीय बजार गुल्जार हुने बातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गर्दै देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जानु पर्ने बताएका छन् अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरु मारमा परेको बेला राज्य संयन्त्र गंभीर नबनेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले चेकजाँच कडाईका साथ भइरहेको बताउदै यात्रु शाखाको निगरानी बढेको बताए । सीमाबाट हुने अबैद्य कारोवार र भन्सार नाकाहरुमा देखिएको सुस्तताप्रति आफु सचेत रहेको बताउदै चेकजाँच कडाईले यात्रु शाखामा राजश्व संकलन बढेको छ । भन्सार तथा सीमा नियमन कडाई पहिलाको तुलनामा बढेको छ,— उनले भने ।




