बुटवल । मस्तिस्कमा ट्युमर भएका कारण भारतमा उपचार गराइरहेका रुपन्देहीको कञ्चन गाउपालिकाका १० वर्षिय सिजनको उपचारका लागि बुटवलको मणिमुकुन्द स्कूल÷कलेजद्वारा एक लाख २३ हजार सहयोग गरेको छ । काठमाण्डौँ अन्नपूर्ण न्युरोलोजी अस्पतालमा उपचार असम्भव भएपछि हाल सिजनको नयादिल्ली साकेट स्थित म्याक्स सुपर स्पेलिस्ट हस्पिटलमा उपचार भइरहेको छ । कञ्चन गाँउपालिका वडा नं १ लौसा निवासी सुन्दर कार्की र तुलसा कार्कीका छोरा सिजनको उपचारका लागि मणिमुकुन्द कलेजको अगुवाई र सक्रियतामा विभिन्न विद्यालयका विद्यार्थी,शिक्षक, कर्मचारीबाट खाजा खर्च कटाएर सो संकलन गरी सञ्चारकर्मी दिनेश घिमिरेलाई आइतबार हस्तान्तरण गरिएको छ । सो रकम मणिमुकन्द कलेज, दिप बोर्डिङ, सिद्धार्थ बोर्डिङ र लुम्बिनी बोर्डिङका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारीबाट खाजा खर्च कटाएर संकलन गरी मणिमुकुन्द कलेजमा एक कार्यक्रमबीच हस्तान्तरण गरिएको कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले बताए । प्राचार्य क्षेत्री,कलेजका भाइस प्रिन्सिपल दिवाकर खनाल र सिजन काकी बचाउ अभियानका दिनेश घिमिरेले सबैको सहयोग भएमा सिजन बचाउन सकिने भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।




