मुलुकको महत्वपूर्ण पर्यटकीय स्थल लुम्बिनीमा सन् २०२४ को जनवरीदेखि अगस्टसम्म ३ लाख ८१ हजार आन्तरिक पर्यटकले भ्रमण गरे । गत वर्ष यही अवधिमा ३ लाख ८१ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरे । यो तथ्याङ्क हेर्दा लुम्बिनी आउने आन्तरिक पर्यटक चार प्रतिशतले घटे । बाह्य पर्यटकको आगमन भने १२ प्रतिशतले वृद्धि भएको छ ।
बाह्य पर्यटक आगमन वृद्धि भए पनि आन्तरिक पर्यटक घट्नुका केही कारण छन् । पहिलो मुलुकमा अर्थतन्त्र चलायमान नहुँदाको असर बजारलाई परेको छ । जसको मार पर्यटन क्षेत्रले पनि व्यहोरेको छ । दोस्रो यातायात सेवा सहज र भरपर्दो नहुँदा लुम्बिनीमा पर्यटक आगमन घटेका हुन् । नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइले सडक यातायात असहज छ । काठमाडौं र पूर्वी नेपालबाट आउने सडक नै अस्तव्यस्त भएपछि स्वाभाविक रुपमा पर्यटक घटे । हवाइ यातायात पनि सुरक्षित र सहज अनुभूति हुन सकेको छैन । लगातार जसो केही विमान दुर्घटनाले हवाइ यातायातप्रति विश्वास बढ्न सकेको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न देशबाट उडान नहुँदा विमानस्थल पनि चल्न सकेको छैन ।
बुटवल–नारायणगढ सडक निर्माणको काम समयमै नसकिंदाको असर बहुआयामिक छन् । देशको अर्थतन्त्रलाई चलायमान बनाउन असर पुगेको छ । राज्यमा थिति र विधि स्थापित नहुँदा यो सडक समयमै बन्न सकेन् । विकास आयोजनाको काम समयमै नसकिंदाको असर यो एउटा उदाहरण हो ।
लुम्बिनीमा पर्यटक आगमन बढाउन सडक यातायातलाई भरपर्दो बनाउन आवश्यक छ । बुटवल–नारायणगढ सडकको हविगतले लुम्बिनीको पर्यटक आगमनमा असर गरेपछि अब राज्यले पाठ सिक्नुपर्छ । बुटवल–गोरुसिंगे सडक निर्माणको काम चुस्त हुनुपर्छ । बुटवल–नारायणगढ सडक अस्तव्यस्त भएझैँ बुटवल–गोरुसिंगे सडक पनि लथालिङ्ग छाडियो भने लुम्बिनीको पर्यटन क्षेत्रमा असर पर्ने नै छ, मुलुकको प्रमुख लाइफलाइन भद्रगोल पार्दाको असर सरकार, राज्य संयन्त्र र राजनैतिक व्यवस्थाप्रति नै असर पुग्नेछ ।




