दशैैं पर्व नेपालीको मौलिक पर्व हो । यो पर्वको अवसरमा धार्मिक मान्यता अनुसार ईश्वरीय नारी शक्तिको पूजा अर्चना गरिन्छ । देवी दुर्गाको गाथा गाइन्छ । देवी दुर्गा पनि मान्छेको विश्वासमा उत्पत्ति भएको काल्पनिक रुप नै हो ।
सङ्कीर्णतावादी ब्राह्मणवादलाई आत्मसात् गर्ने मान्छेहरुले दशैं पर्व हिन्दूहरुको मात्र चाड पर्व भन्दछन् ।
क्या हो हिन्दू भनेको ?
सिन्धबाट हिन्द र त्यही हिन्दबाट हिन्दू भनेको वा बनेको वा शब्दको उत्पत्ति भएको हामीलाई थाहा छ ।
हिन्दू कुनै ईश्वरीय शब्द होइन, खसोखास होइन । भारत नबन्दै सिन्ध घाटी आसपासबाट उत्पत्ति भएको हिन्दू शब्दलाई र त्यसको आचार व्यवहारलाई हिन्दू धर्म, हिन्दू संस्कृति भन्न मिल्दैन होला । त्यसलाई त सिन्धु घाटीको सभ्यता वा धर्म संस्कृति भनिन्छ । हिन्दु घाटीको सभ्यता भनिएको छैन र नभनिने इतिहास पढे हुन्छ । फारसी भाषामा हिन्दु भनेको चोर, डाँका, लुटाहा, फटाहा, हुुल्डवाज हुँदोरहेछ । त्यसैले स्वाभिमानी नेपालीले हिन्दु भनेर आफूलाई चिनाउन पनि लाज लाग्दछ । बुझेको खण्डमा ।
हिन्दु शब्दले मूल रुपमा वर्ण व्यवस्थालाई जनाउँछ । हिन्दु भन्नाले ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्रलाई बुझिन्छ । काठमाडौं उपत्यकाका नेवार जातिमा पनि राजोपाध्याम, उपाध्याय, श्रेष्ठ, प्रधान, बैद्यलाई उच्च जातमा रुपमा र अन्य ६४ उपजातिलाई हलित दलितका रुपमा प्रयोग गरेको पाइन्छ । यस्तै उनीहरुमा पनि छुवाछुत देखिन्छ ।
उच्च जात मुखज– मुखबाट जन्मेको, वाहुज क्षत्रीय बाहुबाट जन्मेको (हातबाट) जन्मेको, वैश्य ऊरुज घुंडाबाट जन्मेको र पज्जर पैंतालाबाट जन्मेको भनेर ऋग्वेदको सूक्त ९० देखि ९१ सम्म यसबारे उल्लेख गरिएको पाइन्छ । तैपनि नेपालका हामी दलित हामी गैरदलित सबैले दशैं पर्व मनाउँदै आएका छौैं किनकि यो पर्व हाम्रो पर्व हो । मनाउने विधि विधान आफ्नै खालको छ । स्मरणीय छ ऋग्वेदमा उल्लेख गरिए अनुसार पज्जर पंैतालाबाट जन्मिएका भनेर हेपिएका, घृणा गरिएका हामी पञ्जर मुखज मुखबाट जन्मिएका, बाहुजहरु हातबाट जन्मेका र ऊरुज घुँडाबाट जन्मिएका हौं भन्नेहरुको हातबाट दशैंमा टीका जमरा लाउनबाट वञ्चित छौं र हामी पञ्जरहरु कहाँ त उनीहरु आउने कुरै भएन ।
धर्म भनेको के हो ?
भन्न त सबैले भन्छन् धर्म भनेको दुःख पीडामा परेकालाई सहयोग गर्नु, कुनै जाति, भाषा, संस्कार, संस्कृतिको सम्मान गर्नु, स्नेहपूर्वक समन्वय गर्नु नै धर्म हो भन्दछन् । यो पनि भन्छन्– अझ अठार पुराणको सार भनेकै–अष्टादशे पुराणेषु व्यासस्य वचनद्वयं परोपकार पुण्याय पापाय परपीडनं ।
धर्मले जहिले पनि मंगलम् भगवान् विष्णु मंगलम् गरुढध्वज मंगलम् पुण्डरीकक्ष मंगलाय तनोहरि मात्र भनिरहन्छ । त्यसमा नवीनता, गतिशीलता हुँदैन । जडता मात्र हुन्छ । तर संस्कृति अग्रगमनकारी हुन्छ, मानव समाजलाई अग्रगमनतिर डोराउँछ ।
अब जुम्ला कालीकोटमा मोटर सडक नबनेको भए का ती स्याउ र हिमाली यार्सागुम्बा त्यहाँबाट निर्यात हुने थिएनन् । तर बाटो निर्माण भएपछि हिमाली जडीबुटी र स्याउहरु निर्यात हुन थाले । यही निर्माण पद्धतिबाट जनताहरु खुसी भएर जनताहरु गाउन, नाच्न थाले ।
त्यसैले धर्म र संस्कृतिमा आकाश जमिनको फरक छ ।
दशैं पर्व यथार्थमा धार्मिक पर्व हो कि संस्कृति पर्व ?
हरेक जात जाति वा मानिसमा जन्म संस्कार उपनयन (ब्रतबन्ध) संस्कार, विवाह पद्धति, मृत्यु संस्कारका विधि विधान ईश्वर प्रदत्त हुन् भन्ने धारणा छ । त्यसैले विभिन्न धर्म संस्कृतिका मानिसले आआफ्नो संस्कार सम्पन्न गर्छन् । गरुढ पुराण सुनाएर किरिया पात्रलाई पुराण अनुसार गर्नु पर्दाेरहेछ, नत्र पितृ अलन्तरमा पर्दा रहेछन् र ती मृतात्ममा भूतप्रेत बनेर डराउन दिन आउने रहेछन्, त्यसैले दान दक्षिणा पितृको नाम पारेर गर्नु पर्दाेरहेछ भनेर एकातर्फ श्राद्ध तपर्णकर्तालाई कन्भिन्स गर्ने र अर्काेतर्फ आतंकित पार्ने चलन पनि त रहेछ । यसलाई धर्म भनिएको छ । उप्रेत बाहरुले खुबै सुनाउने गर्नु हुन्छ–अष्टादशे पुराणेषु ब्यासस्य वचनं द्वयं परोकार पुण्याय पायाय परपीडनं । भन्नुहुन्छ, तर दलित हलित पण्डितहरुको घाउमा मलमपट्टी लगाउनतिर कहिल्यै सोच्नु हुन्न । यसबाट स्पष्ट हुन्छ, धर्म जड हुन्छ । समाजको गतिशीलता मानवीय आवश्यकता र मागलाई धर्मले सम्बोधन गर्न सक्दैन ।
संस्कृति भनेको क्या हो ?
उत्पादन पद्धतिको अभिव्यक्ति संस्कृति हो । यो यथाथ धरातलमा आधारित हुन्छ । यथार्थ वस्तुलाई स्वर दिन्छ र निर्जीवलाई सञ्जीवनी दिन्छ । यो गतिशील, प्रगतिशील र प्रगतिवादी पनि हुन्छ ।
जस्तैः असारमा वाली गीत र असारे गीत गाउँदै रोपाइँ गरिन्छ । मंसिरमा मंसिरे गीत गाउँदै, बाली भित्र्याइन्छ, भकारी भरिन्छ अन्त्यमा न्वागी खाइन्छ ।
जस्तैः धानको बाला झुल्यो हजुर देशै रमाइलो कर्णालीमा बाटो खुल्दा भुइँमा खुट्टा छैन ।
मायालुलाई भेट्न जान कुनै चिन्ता छैन
झल्को लाली ओंठको बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको ।
अर्थात् जुम्ला कालीकोट मोटर बाटो निर्माण भएपछि नै यस खाले सांस्कृतिक स्वर लहरी चले ।
दान, भूमिदान, सेजिया (शैप्या) दान ब्राह्मण पुरोहितलाई दिनुपर्दाेरहेछ, भन्ने खालको (शास्त्र गरुड पुराण) बनाएका रहेछन् । यसबाट एकातर्फ किरिया पात्रलाई क्षणिक सन्तुष्टि प्राप्त हुने अर्काेतर्फ ब्राह्मण पुरोहित स्थायी रुपमा व्यवसायिक बन्ने अवस्था पनि हाम्रो धर्मशास्त्रभित्र रहेछन् । यसलाई के भन्ने ? दशैंको पूर्व घडीमा सोह्र सरात (श्राद्धमा जुन तृपन्ताम) गरिन्छ, त्यो पनि धर्मसँग गाँसिएको छ । यसलाई के भन्ने ? यो संस्कृति होइन । जुन कुरा सधैं तृपन्ताममा अडिन्छ अग्रगमनकारी हुँदैन, त्यो संस्कृति होइन । सोह्र श्राद्ध नगरी दशंैको टीका लगाए पितृ रिसाउँछन् भन्ने मान्यताले सताएको छ । आफ्ना मृतक बाबुआमा, हजुरबा, हजुरआमालगायत पितृको स्मरण र सम्मान गर्नु स्वाभाविकै भए पनि पिण्ड लडाएर, तृन्ताम भन्ने उप्रेत बालाई दान दक्षिण तन्डुल दिएर हुने यो के हो र ? यसबारे दान दाता पितृलाई प्राप्त हुने के हो ? यसबारे कहिले छलफल गर्ने ? उप्रेतबाहरुलाई फुर्सत छैन । षोढ (सोह्र घडी) पला विताएर श्राद्ध गर्ने भनेर अर्थराउने उप्रेतबाहरुले पढ्ने गरेको शास्त्रीय मान्यतालाई तोडेर सोह्र घरमा गएर श्राद्ध गराउने सबै सोहोर्ने भन्ने मान्यता स्थापित गर्न खोजेको देखिदैछ । यो क्या हो थाहा छैन । देखिएको कुरा यही हो ।
यस्ता विषयमा निर्दाेष बालकहरु(श्राद्ध कर्ता क्रियाकर्ता) हरुले जिज्ञासाका प्रश्नहरु राखे भन्ने उत्तर कसरी–आउँछन् होला । यस्ता ग्रन्थहरु लेख्ने हाम्रा उप्रेतबाहरुले हाम्रा पितृहरुलाई भटेर आएको पितृलोकमा गई भेटेर आएको हामीले थाहा पाएका छैनौं । उहाँहरु भन्ने गर्नुहुन्छ–सुन बालक ! संस्कृतभाषा सबैभन्दा पुरानो भाषा हो, लिपिमा पनि संस्कृत लिपि पुरानो हो त्यसैले यसलाई देवनागरी लिपि भनिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत संस्कृत भाषामा देवताका वाणीहरु छापिएका छन् ।
लिपि र अक्षरको आविष्कार भएको त इ.पू.छैठौं शताब्दीमा देखिन्छ । किनकि सिद्धार्थ गौतमबुद्धको जन्म हाम्रै लुम्बिनी ५६३ मा भएको हो । र, उहाँले बुद्धको पालामा लेखिने लिपि ब्राह्मी लिपि र बुद्धले देसना(उपदेश) दिने गरेको भाषा पाली भाषा हो । यही ब्राह्मी लिपिमा सम्राट अशोकले पाली भाषामा लुम्बिनीको अशोक स्तम्भमा आपूm लुम्बिनी आएको लेखेका छन् ।
अब देवता भनेको के हो ? दशैं पर्वकै सेरोफेरोबाट कुरा गर्ने हो भने रामचन्द्र देवता हुन्, उनी मर्यादा पुरुष हुन्, पुरुषोत्तम हुन्, अयोध्याका कसैले युद्ध गर्न नसक्ने र नजित्ने देशको न्यायी राजा हुन् । भनेर उल्लेख गरेको पाइन्छ । यति हुँदाहुँदै पनि रामचन्द्र कि रानी, सीता–जानकीलाई लङ्काका राजा रावणले अपहरण ग¥यो र हनुमान को नेतृत्वमा वानर सेना (श्रमिक हुनुपर्छ )लाई प्रयोग गरेर लंकाबाट सीताको उद्धार गरियो । रामचन्द्रको यसरी विजय भएपछि, विजयको उपलक्ष्यमा दशैं पर्व मनाउन थालिएको बताइन्छ । रामचन्द्र समतेले देवी दुर्गाको आरधना प्रार्थना ‘या देवी सर्व भूतेषु शक्ति रुपेण संस्थिता’ नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमःजस्ता गीतगान गरेको र देवीको कृपाले विजय प्राप्त भएको, रावण, सुम्भ निसुम्भ मंहिषासुरलगायत सबै राक्षसको सम्हार भएको उपलक्ष्यमा दशैं पर्व मनाउन थालेको कथा प्रसंग बाल्मीकि रामायण, तुलसीकृत रामयण र भानुभक्तीय रामायणलगायतमा पाइन्छ । यो पंक्तिकारले त रामायण कथा एउटा होइन १०० वटा रामायणको सार पढेको छ । तिनमा भने अलग विश्लेषण छ ।




