गौरीशंकर जयसवाल
परासी
जिल्ला प्रहरी कार्यालय नवलपरासीले अहिलेसम्मकै सबैभन्दा बढी राजस्व संकलन गरेको छ । एक वर्षको अवधिमा राजस्व संकलनसहित मुद्दा फछ्र्याैटसमेत अहिलेसम्मकै सबैभन्दा बढी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट सरुवा भएर जान लागेका एसपी काजीकुमार आचार्यको एक वर्षे कार्य अवधिमा भएका कामको बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार भेटघाट कार्यव्रmममा प्रहरी निरीक्षक सुर्दशन पन्थीले जानकारी दिएका हुन् ।
२०८० जेठ २४ गते नवलपरासी आएका आचार्यको काठमाडौं अपराध महाशाखामा सरुवा भएको छ । सरुवा भएर आएको एक वर्षे अवधिमा कुल ११ करोड ५४ लाख ९५ हजार राजस्व संकलन भएको प्रहरी निरीक्षक पन्थीले जनाए ।
जिल्ला प्रहरी कार्यालयले एक वर्षको अवधिमा संकलन गरेको राजस्व अहिलेसम्मकै बढी भएको प्रहरी निरीक्षक पन्थीले बताए । संकलन भएको राजस्वमा सबैभन्दा बढी भन्सार छली ल्याइएका अवैध सामान बरामदबाट ९ करोड ७० लाख ५८ हजार र नदीजन्य पदार्थको अवैध उत्खनन्बाट ५८ लाख ७१ हजार रहेको छ ।
त्यसैगरी वन पैदावरको अवैध ओसार पसार, सुन चाँदी बरामदलगायतबाट उक्त राजस्व संकलन भएको प्रहरीले जनाएको छ । एक वर्षको अवधिमा अदालतबाट फैसला भई फरार रहेका ४९४ जना पव्रmाउ परेको, लागुऔषध सम्बन्धीका २५ कसुरमध्ये २४ वटा मुद्दा फछ्र्यौट भएको, करणीसम्बन्धीका १६ कसुरमध्ये १३ फछ्र्यौट, सवारी ज्यानसम्बन्धी कसुर २४ मध्ये २३ वटा फछ्र्यौट भएको, कर्तव्य ज्यानसम्बन्धी ८ कसुरमध्ये ६ फछ्र्यौट भएको प्रहरीले जानकारी दिएको छ ।
लागुऔषध २४ वटा मुद्दा दर्ता गरी ४१ जनालाई दर्ता गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा पाँच सय ९३ निवेदन र जिल्ला प्रशासन कार्यालयमा पाँच सय ८४ निवेदन उजुरी परेकोमध्ये एक हजार ४४ वटा फछ्र्याैट भएको प्रहरीले जानकारी दिएको छ । यसैबीच सरुवा भएर जान लागेका एसपी आचार्यको नवलपरासीको कार्यकाल उत्कृष्ट रहेको भन्दै विभिन्न सामाजिक संस्था र स्थानीयहरुले सम्मान गरेका थिए ।




