बुटवल । प्रमुख जिल्ला अधिकारी, एमाले सहित ६ दलको आग्रहलाई कुल्चिंदै बुटवल उपमहानगरले मासु व्यवसायी माथि निरन्तर अनुगमनको नाममा धरपकड र ज्यादती जारी राखेको छ । मंगलबार सुख्खानगरस्थित सुपा देउराली मासु पसलमा सशष्त्र, जनपथ र नगर प्रहरी सहित पुगेको उपमहानगरको अनुगमन टोली मध्ये नगर प्रहरीले समातेर पसलधनी विमा थापालाई समातेर दुव्र्यवहार गर्दै करिब २५ केजी मासु कब्जा गरेर ५० हजार जरिवना काटेपछि घटनाले झण्डै अप्रिय रुप लिएन ।
अनुगमनका क्रममा तनाव उत्पन्न भयो । वर्षौंदेखि गुणस्तरीय मासु बेच्दै आएकी व्यवसायी महिलामाथि नगर प्रहरीको दुव्र्यवहारले सार्वजनिक बेइज्जत र अपमान महसुस गर्दै विक्षिप्त बनी पसल धनी विमाले विष सेवन गरी आत्महत्या प्रयास गरेको र अरुले रोकेर अप्रिय घटना हुन नपाएको मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले बताए । ‘राम्रो मासु बेचेर नाम कमाएको पसलमा गएर उपमहानगरको अनुगमन टोलीमा गएका नगर प्रहरीले महिलाई समातेर मासु कब्जा गरेको घटनाले विमा थापाले असाध्यै अपमानित महसुस गरेर अब ब्यवसाय गर्न नपाइने रहेछ भन्दै आत्महत्याको लागि विष सेवन गर्न लागेको थाहा पायौं, तत्कालै गएर कब्जा भएको मासुको मूल्य बराबर रकम म दिन्छु भनेर सम्झाएर अप्रिय घटना हुनबाट रोक्यौं’– अध्यक्ष थापाले भने–‘यदि कुनै व्यवसायीमाथि अप्रिय घटना भएको त्यसको जिम्म्ेवारी उपमहानगर नेतृत्वले लिनुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अनुगमन गरेपनि तत्काल कारवाही नगर्न आफूले निर्देशन दिएको स्पष्ट पार्दै सरोकारवालाबीच छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा उपमहानगरबाट गलत भएको बताए ।
उपमहानगर एकलौटी ढंगले अघि बढेमा त्यो प्रत्युत्पादक हुने प्रजिअ अर्यालले बताए ।
बुटवल उपमहानगरको अनुगमन ‘ज्यादती’ विरुद्ध एमाले,माओवादी, रास्वपा, विप्लव नेतेत्वको नेकपा, राप्रपा, राजमो लगायतका दल व्यवसायीको आन्दोलनको पक्षमा छन् । तर उपमहानगर सरोकारवाला पक्षसंग छलफल नगरी एकलौटी ढंगले अघि बढेको छ । बुटवलमा अनुगमन गर्नुपर्ने क्षेत्र अरु नभए जस्तो गरी दिनहुं मासु व्यवसायीमाथि धरपकड गरेर व्यवसायीलाई चाडपर्वको मुखमा रुवाएको एमाले नेता बाबुराम भट्टराईले बताए ।
बुटवल उपमहानगरले किसान र व्यवसायीसंगको पुर्व सहमति तोडेर निजी कम्पनीलाई बधशाला ठेक्का दिई त्यसलाई जबरजस्ती चलाउन अनुगमन र जरिवानामार्फत पेशाबाटै विस्थापित गर्न खोजेको भन्दै व्यवसायी भद्र अवज्ञा आन्दोलनमा छन् ।
बाख्रापालक किसान र मासु व्यवसायीको सहभागितामा सार्वजनिक–निजी–उत्पादक साझेदारी (फोर पी) अवधारणामा बधशाला चलाउने पुर्व सहमति तोडेर बुटवल उपमहानगरले टेण्डरमार्फत निजी कम्पनीलाई दिएपछि बुटवलमा व्यवसायिक वातावरण खल्बलिएको व्यवसायीहरुको भनाई छ ।




