पाल्पा
पाल्पा रिब्दीकोटका कृषकहरुले खुर्सानी बेचेर दसैं खर्च जुटाएका छन् । गाउँपालिकाका १ हजार २ सय कृषकहरुले दसंै खर्च जुटाउने मुख्य आयश्रोत नै अकबरे खुर्सानी रहेको छ । गाउँपालिकाको पहिचान नै अहिले अकबरे खुर्सानी बनेको छ । गाउँपालिकाभित्रका ८ वटै वडाका किसानले अकबरे खुर्सानी खेती गर्दै आएका छन् । अकबरे खुर्सानीबाट रिब्दीकोटका कृषकले न्यूनतम ५० हजारदेखि अधिकतम ३० लाख रुपैयाँ वार्षिक रुपमा आम्दानी गर्दै आएका छन् । अहिले खुर्सानी बिक्री गर्न कृषकहरुको हार्थाेक संकलन केन्द्रमा दैनिक रुपमा भिडभाड बढेको छ । पहिले हप्ताको दुई दिन मात्र संकलन केन्द्रमा बिक्री हुन्थ्यो, अहिले दसंै नजिकिएसँगै संकलन केन्द्रमा दैनिक बिक्रीको व्यवस्था मिलाइएको छ
तीन हजार खुर्सानीका बिरुवा लगाएका दलबहादुर रानाले एक महिनाको अवधीमा एक लाख रुपैयाँको खुर्सानी बिक्री गरिसकेका छन् खुर्सानी बिक्रीबाटै दसंै खर्च जुटाएको रिब्दीकोट गाउँपालिका वडा नंं. २ का रानाले बताए । यो सिजनमा कम्तीमा दुई लाख रुपैयाँ खुर्सानी बेचेर कमाउने रानाले बताए ।
‘पहिले पहिले लाहुरे, जागिरेले मात्रै दसंैमा टन्न पैसा लिएर घरमा आउँथे, अहिले हामीले घरमै बसिबसि परिवारसँग रमाएर दसंै खर्च जुटाएका छौं ।’– रिब्दीकोट देउरालीका लक्ष्मण प्रसाद आचार्यले भने । दुई हजार खुर्सानीको बोटबाट पाँच लाख रुपैयाँ सजिलै कमाउन सकिन्छ, किन अमेरिका, जापाना, कोरिया जानु प¥यो र ? हाम्रै खेतबारीमा अमेरिका, जापाना छ, अलिकती मेहनत गरेमा खुर्सानी खेती गरेर वार्षिक पाँच सात लाख रुपैयाँ कमाउन सकिने आचार्यको अनुभव रहेको छ । पुरुषलाई मात्र होइन, रिब्दीकोटका महिलाहरुलाई पनि अहिले दसंैको खुसियाली छाएको छ । एक दुई रोपनी बारीमा लगाएको अकबरे खुर्सानीको आम्दानीले महिलाहरुले पनि दसंैको किनमेल राम्रोसँग गरेका छन् । ‘पहिले पहिले श्रीमानसँग दसंैमा किनमेलको लागि पैसा माग्नु पथ्र्याे भने अहिले हामीले कमाएर दसंै मनाउन श्रीमानलाई पैसा दिने वातावरण अकबरे खुर्सानीले दिलाएको छ ।’–रिब्दीकोट ४ भारकोटकी तिल कुमारी रानाले भनिन् । खेतबारीमा लगाएको अन्नपात बाँदर, बँदेल दुम्सी, राते मृग, सुगालगायतका वन्यजन्तुले हानी नोक्सानीबाट हैरान परेका किसानहरुको लागि अकबरे खुर्सानी विकल्पको रुपमा रोजेको रिब्दीकोट ३ की विनु गौतमले बताइन । रिब्दीकोटका अधिकांश किसानहरुले मकै तथा अन्य अन्नबालीको विकल्पमा खुर्सानी खेती गर्दै आएका छन् । अकबरे खुर्सानी बाँदर, बँदेल, दुम्सीले नखाने र मक,ै गहुँभन्दा राम्रो आम्दानी हुने भएकोले किसानहरु सक्रिय भएर खेतीमा जुटेका छन् ।
हामी मगर जातजातिको दसंैलगायत चाडपर्वमा खर्च ठूलो हुन्छ, पहिले पहिले म पनि विदेशमा कमाएर गाउँमा दसंै मनाउन पैसा पठाउँथे । अहिले ३ वर्षदेखि गाउँमै बसेर अकबरे खुर्सानी खेती गर्दै आएको छु । दसंै जस्ता चाडपर्वमा कोहि विदेशमा, कोही गाउँघरमा हँुदा नरमाइलो हुन्थ्यो, तर अकबरे खुर्सानीले हाम्रो पारिवारिक मिलन भएको छ , अहिले विदेश जान छोडेर खुर्सानी खेतीमा लागेको रिब्दीकोट २ देउरालीका कृषक जीवन रानाले अनुभव सुनाए । कृषक रानाले ३ वर्षअघि १ रोपनी जग्गामा लगाएको अकबरे खुर्सानी अहिले १२ रोपनीमा विस्तार गरेका छन् । रानाले खुर्सानी तथा तरकारी खेतीबाट मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए ।
गाउँपालिकाका पूर्व अध्यक्ष नारायणबहादुर जिसीले चलाएको अकबरे खुर्सानी अभियानबाट नै पाल्पाको रिब्दीकोट गाउँपालिका अकबरे खुर्सानीको पकेट क्षेत्रको रुपमा चिनिएको हो । पूर्व अध्यक्ष जिसीले कृषकको आय आर्जन वृद्धि गर्न २०७६ सालदेखि ८ वटै वडामा अकबरे खुर्सानी खेती अभियानमा सक्रिय भएर लागेका छन् । किसानहरुको अकबरे खुर्सानी प्रति विश्वास बढ्दै गएपछि रिब्दीकोटको ८ वटै वडा वडामा खेती विस्तार हँुदै गएको हो । अहिले रिब्दीकोटका किसानको लागि दसंैलगायतका चाडपर्वको खर्च पर्च जुटाउने प्रमुख आयश्रोतको रुपमा खुर्सानी खेती भएको छ । गत वर्ष चार करोडको खुर्सानी बिक्री भएकोमा यस वर्ष ६ करोडको अकबरे खुर्सानी बिक्री हुने अभियान्ता नारायणबहादुर जिसीले बताए ।
कृषकले उत्पादन गरेको अकबरे खुर्सानी रिब्दीकोट अकबरे खुर्सानी उद्योगले खरिद गर्ने व्यवस्था गरेको छ । पूर्व पालिका अध्यक्ष जिसीले उत्पादनको बजार र मूल्य सुनिश्चित नभइकन खुर्सानी उत्पादनमा दिगोपन हुँदैन भनी खुर्सानी उद्योग खाली चाउचाउ कम्पनीसँग बजार सुनिश्चित गरेका छन् । गाउँपालिका, किसान र रिब्दीकोट अकबरे खुर्सानी उद्योगबिच त्रिपक्षिय छलफलबाट खुर्सानीको नर्सरी राख्नु अगाडि नै प्रति केजी २२० रुपैयाँ समर्थन मूल्य कायम गरेर कृषकहरु खुर्सानी खेती लागेका छन् । उत्पादनअघि नै मूल्य सुनिश्चित भएपछि किसानहरु उत्साहित हँुदै अकबरे खुर्सानी खेतीमा लागेका हुन् । अहिले किसानले २६० रुपैयाँमा अकबरे खुर्सानी बिक्री गर्दै आएका छन् । अहिले दसंैको समयमा दैनिक जसो र अन्य समयमा शनिबार, आइतबार बुधबार खुर्सानी संकलन गरेर बुटवल, भैरहवा, पोखरा पठाउने गरेको संकलन केन्द्रका प्रमुख रंजिव कुँवरले बताए । संकलन केन्द्रमा रिब्दीकोटसहित रैनादेवी छहरा, बगनासकाली, माथागढी र तानसेनसम्मका किसानहरुले खुर्सानी बिक्री गर्न लैजाने गरेका छन् ।
रिब्दीकोटमा खुर्सानीकै कारण अधिकांश कृषकहरुमा खुसी छाएको छ । दसंै जस्ता चाडपर्वमा घरमै आम्दानीले रमाएका छन् । कृषकको अकबरे खुर्सानी अभियानलाई गाउँपालिकाले पूर्णरुपमा सहयोग गरेको छ । अकबरे खुर्सानीको बिउमा अनुदान, कृषको खुर्सानी नर्सरी व्यवस्थापनमा, रोग किरा नियन्त्रण, मल खादको व्यवस्थापनलगायतका विषयमा रिव्दीकोट गाउँपालिकाले सहयोग गर्दै आएको छ । गाउँपालिकाले आगामी दिनमा प्रदेश सरकारको सहयोगमा रेड परियोजनामार्फत् खुर्सानीलाई विविधिकरण गर्दै लैजाने गरी उद्योग सञ्चालनमा जुटेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । मिहिनेत गरे नेपालको माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् पाल्पा रिब्दीकोटका किसानहरु । वन्य जन्तुले पनि क्षति नगरेपछि खुर्सानी उत्पादनमा वृद्धि भएको हो । घरयासीको लागि मात्र प्रयोग हँुदै आएको खुर्सानी अहिले व्यवसायिक उत्पादन हुँदा गाउँमा करोडांै रुपैयाँ भित्रिएको छ ।




