दसैँ हिन्दु नेपालीको महान पर्व हो । बहुसंख्यक नेपाली हिन्दु धर्म संस्कृति मान्ने भएकाले यो पर्व राष्ट्रिय पर्वको रुपमा स्थापित भएको छ । अध्ययन, रोजगारी र व्यवसायका लागि घर छाडेकाहरु पर्व मनाउन घर फर्कन्छन् । पारिवारिक र सामाजिक मिलनको पर्वको रुपमा पनि दसैँलाई लिइन्छ ।
चाडपर्वमा सुरक्षा जोखिम उच्च हुन्छ । गाउँमा शहरबाट गाउँ पसेकाहरुबिच बेमेल हुनसक्छ । शहरमा यही बेला हो, चोरी डकैती हुने जोखिम । चोरी नियन्त्रण गर्नका लागि प्रहरीले चाडपर्व विशेष सुरक्षा योजा बनाएर अपराध नियन्त्रणमा सक्रिय छ । यद्यपी प्रहरीलाई पर्याप्त उपकरण र साधनको अभाव छ । सीमित प्रहरी जनशक्तिले पनि सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयनका लागि अहोरात्र खटिएका छन् । अहिले नेपाल प्रहरीको संख्या एक लाख हाराहारीमा छ । यो जनशक्तिको परिचालनले मात्रै सुरक्षा योजना कार्यान्वयन प्रभावकारी बनाउन चुनौतीपूर्ण छ । प्रहरीलाई समुदायको साथ र सहयोग आवश्यक पर्छ । समुदायप्रति प्रहरीको जति सकारात्मक भाव आवश्यक छ, प्रहरीप्रति नागरिकको सहयोग जरुरी छ ।
चाडपर्वमा कतिपय प्रहरीले गरेका कमजोरीका कारण सिंगो प्रहरी संगठन बदनाम हुने जोखिम छ । ओभरलोड बोक्ने र सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कानुनी कारबाही गर्नुको साटो आँखा चिम्लिएर छुट दिने प्रवृत्ति पनि छ । प्रहरीले आँखा चिम्लिएर मनपरी गर्न छुट दिँदा दुर्घटनाको जोखिम छ । चाडपर्वमा हुने दुर्घटना सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोकेकै कारणले धेरै भएका छन् । गाडीको गति नियन्त्रण नगर्ने, सवारी साधन चालकले चलाउनुको साटो सह–चालकले चलाउने जस्ता प्रवृत्ति नियन्त्रण गर्न पनि प्रहरी कतिपय बेला चुकेको छ । यी जिम्मेवारीप्रति जवाफदेही बनाउन प्रहरी नेतृत्व सजग हुनुपर्छ ।
असोज ११ गते गृहमन्त्रालयले रातिमा गाडी नचलाउन प्रहरीलाई निर्देशन ग¥यो । प्रहरीले कार्यान्वयन गर्न बेवास्ता गर्दा झ्याप्ले खोलामा पहिरोमा गाडी पुरिदा ३५ जनाको निधन भयो । रातिमा गाडी चलाउन रोकेको भए ठूलो मानवीय क्षति नहुनसक्थ्यो । गाडी चलाइसकेपछि झ्याप्ले खोलाको जाम खुलाउन चासो दिएको भए पनि ती गाडी पास हुन्थे । त्यो दुर्घटना नहुन सक्थ्यो । तसर्थ प्रहरी सजगता महत्वपूर्ण छ । चाडपर्वमा सामान्य घटना र दुर्घटना भइहाल्छ नि भनेर बेवास्ता नगरी परिस्थितिलाई निरन्तर सामान्य बनाउन प्रहरी सक्रियता आवश्यक छ ।




