बुटवल ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले तत्कालका लागि मासु व्यवसायीलाई आफ्नै व्यवसायिक प्रतिष्ठानमा स्वस्थ्य खसी बोका बध गरी विक्रि वितरणको व्यवस्था मिलाईदिन बुटवल उपमहानगरपालिकालाई अनुरोध गरेको छ ।
संघले बुधबार एक विज्ञप्ती जारी गरी वडा दशैंको सम्मुखमा तत्कालका लागि मासु व्यवसायीहरुले आफ्नो व्यवसायीक कार्यस्थलमा स्वच्छ तथा स्वस्थ मासु बेचबिखन गर्ने व्यवस्था गर्ने र बुटवल उपमहानगरपालिका तथा सरोकारवाला निकायले आवश्यक सहजिकरण गर्नको लागि आग्रह गरिएको हो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तीमा कानूनको व्यवहारिक कार्यान्वयन गरी चाडपर्वको समयमा मासुको सहज आपूर्ती हुने वातावरण बनाउन समेत अनुरोध गरिएको छ ।
वधशाला सञ्चालनमा आएसंगै मासु व्यवसायी र वधशाला सञ्चालक बिचको बिबाद र त्यसले आम उपभोक्तामा पारेको असर प्रति संघको गम्भिर ध्यानाकर्षण भएको बताउँदै विज्ञप्तीमा भनिएको छ–‘हिन्दुहरुको महान चाड वडा दशैंको सम्मुखमा उपमहानगरपालिका र व्यवसायी बिचको विवादले छरिएर रहेको परिवारका सदस्यहरु जम्मा भई हर्षउल्लाहासका साथ आफूहरुलाई मनपर्ने परिकार बनाई खाने तथा खुवाउने हाम्रो परम्परालाई समेत आघात हुने देखिएकोछ ।’
त्यसैगरी वधशाला निर्माणको प्रारम्भिक चरणदेखि सञ्चालनको प्रक्रियासम्म आइपुग्दा सार्वजनिक निजी साझेदारीको मर्म अनुसार सबैको पेशागत सुरक्षा र उपभोक्ताको स्वच्छ तथा स्वस्थ्य खाद्य अधिकारलाई सुरक्षित हुने बिश्वसनीय वातावरण कायम गर्न बुटवल उपमहानगरपालिका, मासु व्यवसायी र आम सचेत नागरिक समक्ष आग्रह गरिएको छ ।
साथै वधशाला स्थापना देखि हालसम्मका सबै बिषयका बारेमा स्वेतपत्र जारी गर्न पनि बुटवल उपमहानगरपालिकालाई अनुरोध गरिएको छ ।
व्यवसायीमाथि बुटवल उपमहानगरबाट भएको अनुगमन ज्यादतीका विरुद्ध नेकपा एमाले , माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, रास्वपा, राप्रपा र राष्ट्रिय जनमोर्चाले पनि व्यवसायीका पक्षमा ऐक्यवद्धता जनाएका छन् ।




