प्यूठानको नौबहिनी गाउँपालिकाले निर्वाहमुखी कृषिलाई व्यवसायिक बनाउन पहल थालेको छ । निर्वाहमुखी कृषि प्रणालीमा चलेको हाम्रो समाजलाई बदल्ने एक अचुक उपाय हो, कृषिको व्यवसायीकरण ।
तहगत सरकारले कृषिलाई व्यवसायिक बनाउन उत्पादन, बजारीकरण र प्रविधिमा लगानी गरी सहयोग गर्न सक्छन् । कृषिमा संभावना नदेख्दा अहिले ठूलो जनशक्ति रोजगारीको लागि विदेश पलायन भइरहेको छ । गाउँका उब्जनीयोग्य खेतबारी बाँझा हुँदैछन् । यसले हामीलाई झनै परनिर्भर बनाउने जोखिम बढाएको छ । कृषिमा आत्मनिर्भर हुन र आयआर्जनको बाटो बनाउने नौबहिनी गाउँपालिकाको अभियान प्रशंसनीय छ । नौबहिनी गाउँपालिका-५ भेण्डाका किसानले उत्पादन गरेका तरकारी दाङ पठाउन थालेका छन् ।
भेण्डा टोल विकास संस्थामा आबद्ध भइ व्यवसायिक कृषि खेती सुरु गरेका २३ जना अगुवा किसानले उत्पादन गरेका ७ सय ५० किलो चौमासे जातको सिमी पठाइएको छ । चालु आर्थिक वर्षको चैत्र महिनामा त्यहाँका किसानलाई प्राविधिक र बीउ उपलब्ध गराएको पालिकाले अहिले उत्पादन निर्यात गर्न पनि सघाउ पु¥याएको छ । भेण्डाका ४९ जना किसानले एक-एक रोपनी जमिनमा उत्पादन गर्ने योजना बनाए । तर उत्पादनमा पहिलो सिजनमा २३ जना किसान जोडिए । पहिलो सिजनमा जोडिएका किसानको उत्पादनले बजार पाएपछि अब अरु किसान पनि जोडिने बाटो खुलेको छ ।
पहाड संभावनाको खानी हो । पहाडको भिरालो जमिनमा उत्पादन हुने बेला तराईमा तरकारी खेती संभव छैन । वर्षामास डुबानले धान खेती बाहेक अरु गर्न संभव नभएका बेला तराई-मधेसका शहरलाई तरकारी आपूर्ति गर्ने पहाडले हो । गत वर्ष सीमावर्ती भारतीय शहरमा नेपाली टमाटर निर्यात राम्रो भयो । पहाडमा संभावना खोजेर लगानी गर्ने हो भने आम्दानीको राम्रो संभावना छ । आम्दानीको संभावनालाई ख्याल गर्दै व्यवसायिक किसान तयार गर्ने र उनीहरुलाई आवश्यक सहयोगका लागि तहगत सरकारबीच समन्वय अपरिहार्य छ । नौबहिनी गाउँपालिकाले थालेको यो एउटा सानो प्रयास आशा जगाउने प्रस्थान विन्दु हो । गर्न पर्ने धेरै छ, त्यसका लागि योजना निर्माण र कार्यान्वयनका लागि बजेट विनियोजनलाई प्राथमिकता दिनुपर्छ । त्यसो गर्न सक्दा रोजगारीका लागि विदेश पलायन भइरहेको युवा जनशक्तिलाई यही रोक्न सकिन्छ ।




