सार्वजनिक निजी साझेदारी मोडलमा चलाउने पूर्व प्रतिबद्धता त्यागेर एउटा निजी कम्पनीलाई बुटवलको अत्याधुनिक वधशाला सुम्पेपछि बुटवल उप–महानगरपालिका अहिले मासु व्यवसायीविरुद्ध लागेको छ । बुटवल उप–महानगरपालिकाको भनाइ छ, कि वधशालामा खसी बोका वध गर, होइन भने मासु पसल बन्द गर । मासु व्यवसायी पूर्व प्रतिबद्धता त्यागेर धोका भएको भन्दै वधशालामा नजाने बरु बुटवलमा मासु व्यवसाय बन्द गर्ने घोषणा गरेका छन् । बुटवल उप–महानगरपालिका र मासु व्यवसायीबिचको टकरावले बुटवलमा व्यवसायिक वातावरण बिग्रिएको छ ।
बुटवल उप–महानगरपालिकाले वधशालामा वध नगरेको भन्दै अनुगमनका नाममा बलजफ्ती गर्ने, मासु जफत गर्ने रवैयाप्रति आक्रोश उठ्नु स्वाभाविकै हो । उप–महानगरपालिकाले पूर्व प्रतिबद्धता तोड्नुको कारण नबताएर दादागिरी देखायो भन्ने व्यवसायीको गुनासो जायज छ, पहिले गरेअनुसारको सहमति तोड्दा त्यसको कारण सरकारले दिन सक्नुपर्छ । व्यवसायीले किन पूर्व सहमति तोडियो भन्ने प्रश्नको उत्तर जान्न खोजिरहेका छन्, उनीहरुले गरेको प्रश्नको उत्तर दिन उप–महानगरपालिका किन खोजीरहेको छैन ? पूर्व सहमित तोड्नुको कारण बताएर अब वधशाला चलाउन मासु व्यवसायीको सहयोगको आग्रह गर्नुपर्छ । मासु व्यवसायीको सहयोग बिना वधशाला चल्दैन । राज्यको २३ करोड लगानी भएको वधशाला अलपत्र पर्दा आगामी दिनमा यस्ता आयोजनामा लगानी गर्न हच्किनुपर्ने देखियो । उप–महानगरपालिका स्थानीय सरकार हो, घरदैलोको सरकार सेवाग्राही र नागरिकप्रति विनम्र हुँदा राम्रो हो, सरकार नै दादागिरी र उदण्ड शैलीमा उत्रदा नागरिक प्रतिशोध महँगो पर्न सक्छ । अहिले बुटवलका मासु व्यवसायी तिलोत्तमा नगरपालिकामा सटर लिएर मासु बेच्न थालेका छन् । बुटवलमा अनुगमन भन्दै मासु जफत गर्ने र जरिवाना गर्ने रवैया बढेपछि उनीहरु विस्थापित हुनु बाध्यता भयो ।
यो द्वन्द्व लामो समयसम्म राख्नु हुन्न । बुटवलबाट व्यवसायीहरु धमाधम विस्थापित हुँदा त्यसले यहाँ नकारात्मक असर गर्छ । सटरभाडा महँगो हुँदा बुटवलमा व्यवसायिक वातावरण छैन भन्ने महशुस व्यवसायीले गरेका छन् । बुटवलको मुख्य बजारबाट व्यवसायीहरु धमाधम बाहिर निस्केर व्यवसाय गर्न थालिरहेका छन् । मासु व्यवसायीहरु संगठित रुपमा बुटवल बाहिर निस्केको घोषणा गर्दा त्यसले पार्ने प्रभाव ठूलो र जटिल खालको हुन सक्छ ।
अझैँ समस्या समाधानको संभावना टरेको छैन । वधशाला चल्ने र मासु व्यवसायी यही टिक्ने विन्दुको खोजी उप–महानगरपालिकाले खोज्नुपर्छ ।




