मोहन कुँवर
पछिल्लो समय आम नेपालीहरुको रोजगारीको लागि प्रमुख गन्त्यव्य वैदेशिक भूमि बनेको छ । देशमा बढ्दो बेरोजगारी र राजनैतिक अस्थिरतासँगै नागरिकहरुमा देखिएको निराशाले दैनिकी हजारौँ युवाहरु देश छोडेर जान बाध्य भएका छन् । देशमै आफ्नो अध्ययन पूरा गरेर पनि सोचे जस्तो तलब र सेवासुविधा नपाउँदा पनि धेरै जसो युवाहरु विदेशीएका छन् ।
देशको चौतर्फी विकासको लागि युवाहरुलाई देशमै परिचालित गराउन सरकार अग्रसर हुनुपर्ने तर पछिल्लो समय नेपालको राजनैतिक अस्थिरताले गर्दा त्यसो हुन सकिरहेको छैन । देश प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हुदाँहुदैँ पनि त्यसको उचित तरिकाले प्रयोगमा ल्याउन नसक्दा पनि देशमा रोजगारको समस्याले गर्दा धेरै जसो युवाहरु विदेशिन बाध्य भएका छन् । देशमा जतिसुकै सरकार परिवर्तन भएता पनि नागरिकको हकहित सम्बन्धमा उचित नीतिनियम बन्न नसक्दा पनि देशका नागरिकहरुले विभिन्न किसिमका समस्याहरु अझँै पनि झेल्नुपरेको छ । देशमा गणतन्त्र आएपछि नागरिकरुलाई देशमै रोजगार, स्वास्थ्य, शिक्षालगायत अन्य आधारभूत कुराहरुमा सहज होला भन्ने ठूलो आशा र विश्वास थियो, तर नागरिकहरुले त्यसको ठिक विपरित अवस्था भोगिरहनु परिरहेको छ । नेताहरुले देश र जनताका लागि भन्दा पनि आफ्ना नजिकका आसेपासे र पार्टीका कार्यकर्ताहरुलाई प्राथमिकता दिएको देखिन्छ ।
देशमै लगानी गरेर केही गर्छु भन्ने युवाहरुलाई पनि बारम्बार सरकार परिवर्तनसँगै नीतिगत रुपमा हुने परिवर्तनले निराशा बनाएको छ । पछिल्लो समय उज्ज्वल भविष्यको बाटो खोजिरहेका ११÷१२ कक्षा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले पनि परीक्षा सकिने बित्तिकै विदेश अध्ययनको लागि हतार हतार योजना बनाएर निर्णय गरेको देखिन्छ । देशमै विभिन्न पेसा तथा व्यवसायमा आबद्ध व्यक्तिहरुले पनि आफ्नो पेसा तथा व्यवसायलाई छोडेर विदेशको यात्रा तय गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । देशमा भएका दक्ष जनशक्तिहरुको बढ्दो विदेश पलायनले देशको हरेक क्षेत्रलाई असर पु¥याउने हुँदा पनि सरकारले यसतर्फ ध्यान दिई अघि बढ्न जरुरी देखिन्छ । पछिल्लो समय जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत विश्वका विभिन्न विकसित मुलुकहरुमा विद्यार्थी भिसामा जानेहरुको मोह बढ्दो रहेको छ । यसलाई कम गर्नको लागि राज्य मात्र नभएर स्वयम् अभिभावकहरु पनि जिम्मेवारी हुन जरुरी रहेको छ । अध्ययनको लागि विदेशको भिसा लागेर केक काट्न हतार हुने अभिभावकरुले विदेश गएपछि आउने चुनौतीहरुको बारेमा पनि नेपालबाट नै शिक्षा दिन जरुरी छ । लाखौँ रुपैयाँको ऋणको भारी बोकेर अध्ययन गर्न गएका विद्यार्थीहरु आफ्नो पढाइ र स्वास्थ्यप्रति भन्दा पनि काम प्रति बढी चिन्तित र समय व्यतित गरेका हुन्छन् । नेपालमा हुँदा खानासम्म पकाउन नआउने विद्यार्थीहरुले एकैपटक विदेशमा गएपछि आफँै पकाउने, खाने, कलेज शुल्क, घरभाडा शुल्कलगायत सबै जिम्मा आफ्नै टाउकोमा लिदा उनीहरुलाई शारीरिक र मानसिक रुपमा नै निकै गाह्रो र कठिन हुने गर्दछ । फलस्वरुप कतिपय व्यक्तिहरुको सुतेकै अवस्थामा मृत्यु हुने गर्दछ भने कतिपयले आत्महत्यासम्म गरेका हुन्छन् ।
विदेशमा विद्यार्थी भिसामा भविष्य सुरक्षित गर्न नेपालबाट सोचेभन्दा केही कठिन हुन सक्दछ, सुरुमा धेरै काम गर्न नसकिने र कलेज शुल्कलगायत अन्य सामान्य खर्चहरुको मूल्य पनि महङ्गो हुने भएकोले केही वर्ष नेपालबाट आर्थिक व्यवस्थापन गर्न सक्ने हो भने केही रुपमा भए पनि सहज हुन्छ, तर सबैको त्यो अवस्था नहुन पनि सक्छ । यतिबेला देशमा भएका युवाहरुको विदेश पलायनले गाउँहरु युवाविहीन जस्तै हुन पुगेको छ, डाडाँपाखाका उर्वरा खेतबारीहरु पुरै बाँझो भएका छन्, गाउँमा बुढा बा, आमा, श्रीमती र छोराछोरीहरु मात्रै रहेका छन्, विवाह, पूजाआजा, मृत्युमा युवाहरु पाउन निकै मुस्किन देखिन्छ ।
विदेशले परिवारको खुशिको लागि पैसा त दिएको छ, तर जवानीदेखि अन्य धेरै कुराहरु लुटिदिएको छ । महान चाडपर्वहरुमा स्वदेश फर्किने मन हुँदाहुँदै पनि वर्षौँ समय विदेशमै बिताउनु पर्ने कैयौँ परदेशीहरुको बाध्यता रहेको छ । बुढा बा आमालाई उचित स्याहार नपुगि बिरामी हुँदा बेलैमा औषधि उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था कैयौँ बुवाआमाको रहेको छ । घर खर्च चलाउँदै छोराछोरीहरुको अध्ययनको लागि पैसा पठाउँदा पठाउँदै रित्तो हात जवानी सकेर फर्किनु पर्ने आम नेपालीहरुको समस्या रहेको छ । केही व्यक्तिहरु काम गर्ने क्रममा शरीरमा चोटपटक लागि अङ्गभङ्ग भइ अपाङ्ग समेत हुने गर्दछन् भने कहिलेकाहीँ लास समेत बाकसमा फर्किने पनि गर्दछन् । परदेशी जीवन आफैँमा एउटा जिम्मेवारी र बाध्यताको यात्रा पनि हो, तर देशको अवस्था र आर्थिक अभावले गर्दा कैयौँ नेपालीहरु विदेशिन विवश छन् ।
कुनै पनि देशको चौतर्फी विकासको लागि सबैभन्दा बलियो हतियार भनेको युवाशक्ति हो । कुनै पनि देशको युवावर्ग पलायन हुनु भनेको स्वदेशी सिर्जनाको मूल शून्यतामा झर्नु हो । त्यसैले आजका युवावर्गको त्यो सीप, क्षमता, समय, ऊर्जा र ज्ञानलाई प्रयोग गरेर राज्य अगाडि बढ्न अत्यावश्यक भएको छ र यो कुरालाई राज्यले पनि गम्भीरताका साथ सोच्न जरुरी छ, होइन भने अबका केही वर्षमा देशमा नै युवाहरुको अभाव देखापर्ने छ । त्यसैले नेपाली युवाहरू किन विदेश पलायन हुँदै छन् भन्नेबारे सोचेर देशमा युवामुखी विभिन्न कानुन तथा कार्यक्रम तर्जुमा गरेर तत्काल लागू गर्नुपर्ने देखिन्छ । युवावर्गको विदेश पलायनको मनोविज्ञान बुझेर अगाडि बढ्न नसके राज्यलाई कालान्तरमा ठूलो घाटा नहोला भन्न सकिन्न । पछिल्लो समय नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिवेशलाई हेर्ने हो भने पनि हरेक व्यक्तिमा राष्ट्रभाव र मातृत्व हुदाँहुँदै पनि देश छोड्न बाध्य भैरहेका छन् । देशमा निजी तथा सरकारी क्षेत्रमा लामो समयसम्म काम गरेका व्यक्तिहरु पनि पछिल्लो समय जागिर छोडेर विदेश पलायन तिर लागेका छन् र यसको प्रमुख कारण आर्थिक पाटो नै रहेको देखिन्छ । दैनिकी उपभोग्य वस्तुहरुको चर्को रुपमा मूल्यवृद्धि हुँदै जाँदा पनि सरकारले नागरिकको समस्यालाई बुझ्न नसक्नु नै आजको प्रमुख समस्या रहेको छ । केही निजी तथा सरकारी क्षेत्रका कर्मचारीहरुको मासिक आम्दानीले आफ्नो परिवार पाल्नलाई नै निकै कष्टकर रहेको बढ्दो महँगीले प्रष्ट पारेको देखिन्छ ।
देशमा पर्यटन व्यवसायको उच्च सम्भावना हुदाँहुदैँ पनि व्यवस्थित रुपमा सञ्चालन गर्न नसक्नु, हिमाली भेगमा उत्पादित वस्तुहरुले समयमा नै उचित मूल्यमा बजार नपाउनु, कृषिलाई आधुनिकीकरण गर्न नसक्नु, देशमा भएका कच्चा पदार्थको उत्पादनलाई प्रयोग गर्न औद्योगिक बजारको अभाव हुनु, साना किसिमका उद्योगका लागि नीतिगत प्रकृया झन्जटिलो हुनु, विदेशी लगानीकर्ताहरुलाई नीतिगत प्रकृयामा सहज बनाउन नसक्नु, देशमा गुण्डागर्दी र अपराधीहरुलाई राज्यका उच्च तहका व्यक्तिहरुद्वारा संरक्षण गर्नु साथै देशमा भ्रष्टचार र कालोबजारी मैलाउनु जस्ता विभिन्न कारणहरुले गर्दा पनि देशले साेंचे जति परिवर्तनको फड्को मार्न सकेको छैन ।
त्यसैले यस्ता किसिमका समस्याहरुबारे राज्यको जिम्मेवारी निकायहरुले जबसम्म गम्भीर रुपमा सोंच्दैनन् तबसम्म देशमा नेपाली युवाहरुको विदेश पलायन निरन्तर बढ्नेछ । पछिल्लो समय देशमा बढिरहेको युवा पलायनलाई कम गर्नको लागि ग्रामीण क्षेत्रको विकासलाई विशेष ध्यान दिँदै देशमै रोजगारको सिर्जनाको लागि औद्योगिक कलकारखानालगायत देशको स्वास्थ्य, शिक्षालगायत अन्य कुराहरुलाई पनि विशेष ध्यान दिन जरुरी छ ।
विदेशबाट आर्जन गरेका ज्ञान, सीपलाई स्वदेशमै प्रयोगमा ल्याउनको लागि राज्यले लगानी क्षेत्रलाई सहज बनाउँदै विशेष प्राथमिकता दिन जरुरी पनि छ । देशमा भएका युवाहरुलाई देशमै रोजगार तथा लगानीको सहज वातावरण बनाउँदै विदेशमा भएका युवाहरुलाई पनि देशमै उचित किसिमको रोजगार र व्यवसायको अवसर प्रदान गरी अघि बढेमा मात्र पछिल्लो समय देखिएको युवाहरुको विदेश पलायनलाई रोक्न सकिन्थ्यो कि !
सत्यवती–२, चेहेमी गुल्मी, हाल जापान ओसाका




