सिद्धार्थनगर नगरपालिकाले लामो समयदेखि नगरको फोहरमैला डण्डा नदी किनारमा फाल्दै आएको छ । नदी शहरको सुन्दरता हो । प्रकृतिले दिएको यो उपहारलाई जोगाएर राख्दा पर्यावरणीय सन्तुलन हुन्छ नै, अर्कोतिर पर्यटकीय शहर सिद्धार्थनगरको सौन्दर्य बढाउन पनि डण्डालाई उपभोग गर्न सकिन्छ । नगरको सुन्दरता नदीमा फोहर फालेर नगरपालिकाले लापरबाही गरिरहेको छ ।
संसारमा कतिपय ठूला नदी किनारमै छन्, तर शहरको फोहर नदीमा बग्दैन्, तर हामीकहाँ शहर र नदीसँगै रहन नसक्ने बनाइएको छ । काठमाडौंले बागमती जोगाउन सकेन् । बागमतीमा अहिले ढल बग्छ । तिनाउ नदीलाई जोगाउन बुटवलको पटक्कै ध्यान पुगेन । बुटवल उप–महानगरपालिकाले पनि तिनाउ नदी किनारमै फोहर फाल्दै आएको छ । नदी किनारमा हुँदै आएको फोहर व्यवस्थापनको विकल्प खोज्न ढिलाइ भइरहेको छ ।
सिद्धार्थनगर नगरपलिकाले अहिले बेलहिया—बुटवल सडक खण्डको नजिकै फोहर फाल्दा सडक यात्रुलाई समेत समस्या हुन थालेको छ । पहिले डण्डा किनारमै सडक क्षेत्रभन्दा केही दुरीमा फाल्दै आएको फोहर अहिले सडक नजिकै फाल्नुको बाध्यता हो, पहिले फोहर फाल्ने ठाउँ बस्ती नजिकै थियो । आसपासको बस्तीले विरोध गरेपछि सडक नजिकै विकल्प खोजेको नगरपालिकासामु अब फोहरमैलाको दिगो व्यवस्थापन गर्न दबाब बढेको छ । अहिलेसम्म फोहरमैलाको दिगो व्यवस्थापन किन हुन सकेन् ? यो प्रश्न खडा भएको छ ।
सिद्धार्थनगर पर्यटकीय नगर हो । पर्यटकीय नगरको फोहरमैला व्यवस्थापनमा नगरपालिकाको योजनाबद्ध प्रयास खोई ? अहिले जहाँ नगरपालिकाले फोहर फाल्दै आएको छ, केही वर्ष पहिले त्यही पर्यटकका लागि स्वागतद्वार बनाइएको छ । पर्यटकलाई फोहरले स्वागत गर्नका लागि पक्कै त्यहाँ फोहर फालिएको होइन् ।
सिद्धार्थनगर नगरपालिकाको पहिलो प्राथमिकता फोहरमैला व्यवस्थापन हुनुपर्छ । त्यसो त अरु नगरपालिका र गाउँपालिकाको पहिलो काम फोहरमैला व्यवस्थापन हुनुपर्छ । दोस्रो छाडागाईवस्तु व्यवस्थापन हो । स्थानीय तहले गर्नुपर्ने यी दुई काम गर्न सक्दा स्थानीय सरकारप्रति नागरिकको भरोसा र विश्वास बढ्छ ।
रुपन्देहीका पालिका मिलेर फोहरमैला व्यवस्थापनको एकीकृत योजना कार्यान्वयन गर्न सक्छन् । फोहरमैला प्रशोधन केन्द्र हुने भएकाले अब फोहरमैला व्यवस्थापन गरी स्थानीय तहले आम्दानी समेत गर्न सक्छन् । एउटै पालिकाको प्रयासबाट मात्रै फोहरमैला प्रशोधन केन्द्र बन्न सक्तैन् । संभव हुने पालिका मिलेर फोहरमैला प्रशोधन केन्द्र निर्माण गरी फोहरमैला व्यवस्थापन गर्न ढिलाइ गर्न हुन्न ।




