सीमा अपराध र तस्करी नियन्त्रण गर्न दुई देशका सुरक्षा निकायको सक्रियता आवश्यक हुन्छ । नेपाल—भारत खुला सीमामा सुरक्षा निकायको समन्वयात्मक सक्रियताले मात्रै सीमा अपराध र तस्करी नियन्त्रण सहज हुन्छ ।
भारतमा सीमा सुरक्षा बल एसएसबी तैनाथ छ । नेपालमा सशस्त्र प्रहरी बलको युनिटले सीमा सुरक्षाको काम गर्दै आएको छ । सशस्त्र प्रहरी बलको सक्रियता बढ्दै गइरहे पनि अपेक्षित सीमा अपराध नियन्त्रण हुन सकिरहेको छैन । खुला सीमाकै कारण सीमा अपराध नियन्त्रणमा चुनौती छ । खुला सीमाको व्यवस्थापन र नियमन गर्न सीमा सुरक्षा बललाई प्रविधिमैत्री र साधनस्रोतले बलियो बनाउनुपर्ने छ । अहिले सीमा अपराधलाई नियन्त्रण गर्न पाँच जनाको प्रहरी टोलीसहित दुई वटा कुकुर परिचालन गरिएको छ । अपराधी पहिचान गर्न कुुकुरले सघाउ पु¥याउने भएकोले सीमा अपराध नियन्त्रण गर्न कुकुर परिचालन गर्नु स्वभाविक छ । हतियार, लागुऔषध र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न कुुकुर सहयोगी भएको छ । प्रहरीले खानतलासी गरेर मात्रै अपराधी समातिने होइन्, कुुकुरले हतियार, लागुऔषध र विष्फोटक पदार्थ ल्याएको व्यक्तिको पहिचान सहजै गर्ने भएकाले प्रहरीले गरेको परिचालन स्वभाविकै छ ।
सीमा अपराध नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरी बलको रूपन्देही युनिटले नौ महिनामा १० करोडको अवैध सामान नियन्त्रण गरेको छ । रूपन्देहीको ७० किमिमा खुला सीमामा हुने तस्करी नियन्त्रण सशस्त्र प्रहरीको एकल प्रयासले मात्रै संभव छैन । सशस्त्र प्रहरीका आफ्नै समस्या छन्, गाडी, इन्धनको पर्याप्त व्यवस्था छैन । जनशक्ति पनि ठूलो संख्या छैन । यसका बाबजुत सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बलको सक्रियता प्रशंसनी छ । नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई पनि सीमा अपराध नियन्त्रणमा सक्रिय बनाउन आवश्यक छ । ती युनिट सशस्त्र प्रहरी बलको कामको क्षेत्र हो सीमा सुरक्षाको विषय भनेर उम्किन पाउँदैनन् ।
एकातिर खुला सीमाको प्रयोग गरी अपराध हुने जोखिम बढी छ, अर्कोतिर चोरी तस्करी हुने जोखिम उत्तिकै छ । सीमा अपराध नियन्त्रणको पाटोसँगै तस्करी नियन्त्रण पनि उत्तिकै महत्वपूर्ण विषय हो । तस्करी हुँदा राज्यको आम्दानी गुम्छ, राज्यको राजस्वको स्रोतमा संकुचन आउँछ । तस्करी मौलाउँदै जाँदा सीमा अपराध बढ्दै जाने हो । नेपाल–भारत खुला सीमाको संवेदनशिलता बुझेर अपराध र तस्करी नियन्त्रण गर्न सुरक्षा निकायको परिचालन अझैँ चुस्त बनाउनुपर्छ ।




