१. प्रायशः नेपालीको क्षमता प्रदर्शन गाली पुराणमा केन्द्रित छ । हामी नेपालीले विपनामा मात्र होइन सुतेपछि सपनामा पनि अरुको टीका टिप्पणी गर्न व्यस्त छौं, मस्त छौं । खूब बर्बराउँछौं फलनाले यति अरब भ्रष्टाचार ग¥यो, तिलनाले खरब ग¥यो, आदि इत्यादि । सरकारले युवालाई रोजगारी दिएन, तर खेतबारी बाँझै राखेका छन् ।
२. यो सरकार नै भ्रष्टाचारीलाई बचाउन र भ्रष्टाचार गर्न बनेको हो, हो, हो ।
३. हो हो हो । फलनाले भनेको ठीक हो ।
४. भ्रष्टाचारीलाई कारबाही गर्न थाल्योे भने तिनै मान्छे हामी फेरि उफ्रन्छौं । पाइँदैन, पाइँदैन, पाइँदैन अमुक व्यक्तिलाई फसाउन पाइँदैन । यो सरकारले अमुक व्यक्तिलाई फसाइरहेको छ आदि ।
५. फेरि आवाज आउँछ, फलना जेल मुक्त गर ! तिलानालाई जेल मुक्त गर ! फलानालाई हिरासतमा राख्न पाइँदैन । छोड ! छोड ! चाँडै छोड !!!
प्रधानमन्त्री मूर्दावाद ! गृहमन्त्री मूर्दावाद, स्वास्थ्य मन्त्री, पर्यटनमन्त्री, उद्योगमन्त्री यस्तै यस्तै मन्त्रीहरुले राजीनामा दे । अब आन्दोलन सुरु भयो । यो वा त्यो सरकारको अन्त्यका दिन आए दिन गन्ती सुरु भयो । आदि इत्यादि ।
कानमा यस्तै आवाज गुंजित छन् ।
५. सारतः यसरी नै समय बित्दैछन् । रात दिन बित्दै छन् । हामीहरु यसरी नै बित्दैछौं । सदाचार पनि छैैन ।
यस्तै आवाजले १२ महिनामा १२ वटा गठबन्धनको सरकार बन्छ कि झैं लाग्न थाल्यो । किनकि भइरहेछ यस्तै ।
६. भ्रष्टाचार गर्न पनि नछोड्ने, सदाचारी हुन पनि नजान्ने, भ्रष्टाचारीलाई कारबाही गर्न थाले । हामीले न्वारनदेखिको बल निकालेर विरोधमा उत्रन्छौं, मूर्दावाद भन्छौं, रेलिङ भाँच्छौं, पर्खाल भत्काउँछौं, पुलिसलाई ताकेर ढुंगा मूढा पनि गर्छौं । हामी कम बहादुर छैनांै ।
७. हामी क्रान्तिकारी हौं, हामी राष्ट्रवादी हांै, हामी तोपबहादुर हौं, बमबहादुर हौं, के ठानेको हामीलाई । नभए हामी बन्दुक बहादुर हौं, गनबहादुर हौं ।
८. यो देशको बेथितिको कारक तत्व दल र नेता हुन्, झोले कार्यकर्ता हुन् । हामीले भन्छौं, हामी कुर्लन्छौं ।
९.दल र नेताभन्दा राजा असल थिए । राजा जाति छन्, हुन भन्न थालेका छौं । राजतन्त्रले सताएको कुरा अहिलेका हामी क्रान्तिकारीलाई थाहा नभएर के भयो र ? राजा त ठीक थिए भन्छौं हामी क्रान्तिकारी युवाले र क्रान्तिकारी भनेको के हो त ? हामीलाई यसको के मतलब !
१०.हामीलाई त सुविस्तापूर्वक गर्ने रोजगारी चाहियो । यति ठूलो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थामा काम नगरी बसी बसी खान पाउनु प¥यो । त्यसो नगर्ने हो भने सरकार किन चाहियो ?
११. अब यहाँ पनि बंगलादेशमा झैं उफ्रने हो । यी नेताहरुलाई एक एक गरी धपाउने छौं भनेर हामी आफँै कुर्लन्छौं । हामीले, के भन्न खोजेको हो ? के गर्न खोजेको हो ? हामी आफैँलाई थाहा छ कि छैन । यो पनि एउटा विषय हो । थाहा हुन पनि परेन । हामीलाई त सुख चाहिएको छ । दुःख गर्न सकिन्न । एक, दुई, तीन सकिन्न । हामी त पढेका, लेखेका मान्छे पो त ! चानेचुने ठान्ने ?
१२. सुख नदिने हो भने सरकार किन चाहियो ? प्रधानमन्त्री किन चाहियो ? मन्त्री किन चाहियो ? सांसद् किन चाहियो ?
१३. खोई हामीले त कहिल्यै सत्ता पाइएन ? सत्तामा त उनीहरुकै रजगज ? अब हुन्न । यसरी हुन्न ।
१४.अब त युवाको शासन चाहिन्छ । युवा नै राष्ट्रपति, युवा नै प्रधानमन्त्री, मन्त्री र सांसद पनि युवा नै बन्नु पर्छ, बूढाहरुले केही जान्दैनन्, गर्न पनि सक्दैनन् । पिण्डखानेहरुबाट के आश गर्ने !
१५.हामी युवाले दर्शन, सिद्धान्त, विचार, कार्यक्रम किन जान्न प¥यो । युवा भए त भैगयो !
१६. हामी प्रौढ पाकालाई अराजक भीडले गाली गर्छन्, सत्तोसराप गर्छन्, देशमा प्रजातन्त्र÷लोकतन्त्र÷गणतन्त्र ल्याउन हामीले कति त्याग, संघर्ष ग¥यौं, आजकालका धेरै युवालाई के थाहा ? इतिहास पढ्दैनन् । लोकतन्त्र, गणतन्त्र भनेको के हो, डिक्स्नेरी पढ्दैनन्, कहाँबाट बुझ्ने शब्द ज्ञान पनि छैन !
अहिले उनीहरुको समय पाका पुराना योद्धाहरुलाई सत्तोसराप गर्नमा हामीले लगानी गरेका छौं । हामी युवा भन्छौं, तर युवाको कर्तव्य के हो ? १५ मिनेट बुझ्नेतिर हामीलाई मन पर्दैन । बुढाहरुको अर्ती उपदेशलाई हामी गुडगुडे हुँक्काको गनगन जस्तो ठान्दैछौं र घृणा गर्न मन लाग्छ । नयाँ काम कुरा क्या हो ? तिनीहरुलाई के थाहा ? २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको राजाको निर्दलीय पञ्चायत विरोधी आन्दोलन र २०६२÷०६३ को राजा ज्ञानेन्द्रको तानाशाही शासनको विरुद्धमा गरिएको आन्दोलनको कुरा सुनाउन थाल्यौं भने त यी वर्तमान नेताहरु भन्दा त राजा ज्ञानेन्द्र ठीक हो भनेर बहस पैरवी गर्न थाल्छौं, हामी आफँै । तथ्य र तर्कलाई मान्दैनौं । हामी आफैँ जान्ने, हामी आफँै सुन्ने ठान्छौं । हामी भनेका पुराना होइनौं । हामी भनेका नयाँ हौं, नयाँले त नयाँ कुरा गर्ने हो भन्छौं । तर व्यवहारमा सिन्का भाँच्नतिर लाग्दैनौं । हामी युवा !
१७. हामी पाका नेता पनि त्यस्तै त्यस्तै छौं । बुढो गोरुले झैं ठाम नछोडेर ठिङ्ग उभिएझैं उभिन मज्जा मान्छौं । संविधान पनि त्यस्तै बनायौं । स्थिरता कहिल्यै नआउने खालको ! सधैं अस्थिरतालाई निम्ताइरहेको संविधान !
जुन पार्टीले संसदमा थोरै सीट प्राप्त गर्छ उसले नै प्रधानमन्त्री, मन्त्री पाउने, नत्र सरकार ढलाइदिन्छु भनेर घुर्की दिने संविधान ! मुसा बिरालाको चाल बिरालालाई भन्दा मुसालाई प्रधानमन्त्री ! मन्त्री बन्ने अवसर जुराइदिएको संविधान ! त्यस्तै कानुन !
त्यसैले देशमा अस्तव्यस्त सदाचारले हावा खायो, बहाली हुन डरायो । सरकार बनाउन र टिकाउन भ्रष्टाचारीको साथ लिनु पर्ने हामीले संविधान बनायौं ।
१८. हामी पुरानो पिंढीले नयाँ पिंढीलाई समन्वय गर्न सकेका छैनौं । नयाँ पिंढीले पुरानो पिंढीलाई टेर्न छोडे । कम्तिमा पाका पुरानाबाट अनुभव ग्रहण पर्ने हो, त्यो त मतलबै छैन ।
त्यसैले हाम्रो काम भनेको बिहान झुल्के घामदेखि घाम नअस्तायसम्म अर्काको विरोध गर्नु, वरको सिन्को पर नसार्नु र अरुलाई सत्तोसराप गर्दै फेसबुक रंगाउनुमा रहेको छ ।
१९. निष्कर्षः
कुरा गरे धेरै हुन्छ ।
महाभारत बन्न सक्छ ।
भन्न पनि लाज लाग्छ । लेख्न पनि लाज लाग्छ । देश त ‘न’ को भकारी भयो । पातलो ‘स’ को सकारात्मक बन्न सकेन । निउरे मुन्टे ‘न’ होइन सरकार पातलो ‘स’ को ‘स’ कसरी बनाउने सरकार ! सोंच ? जताततै ‘न’ को भकारी भयो ! सकारात्मक ‘स’को भकारी बनाऊ सरकार ! प्रतिपक्ष दलका नेता कार्यकर्ताहरुले पनि सोंच, सत्ता पक्षका नेता कार्यकर्ताहरुले पनि जिम्मेवारीपूर्वक सोंच ।
आफ्नो घाउ कोट्याएर आफ्नो बेइज्जत अब नगर । जनता पनि जनता नै बन्ने कोशिस गर्नुपर्छ । जनताको ‘त’ मा पनि तर्कुल्ले लाग्नु हुँदैन । भ्रष्टाचारको ‘भ’ नकारात्मकताको निउरे मुन्टे मूर्दावाद ।
सकारात्मकताको ‘स’ र सदाचारिताको ‘स’ जिन्दावाद !!




