मोहन कुँवर
नेपालका राजनीतिक दलहरुबिच एक अर्काप्रति देखिएको दोषारोपणले विभिन्न दलका कार्यकर्ताहरुबिच पनि अराजकता बढाएको देखिन्छ । सत्तामा सँगै रहँदा उहीँ नेता सही देखिने तर सत्ता बाहिर रहेपछि फेरि उहीँ नेता गलत देखिने, विभिन्न दलका नेताहरुले सर्वप्रथम आफ्नो सोंचविचार परिवर्तन गर्न जरुरी छ । साथै कार्यकर्ताहरुले पनि आफ्ना पार्टीका नेताहरुले चालेका कदम र निर्णय सहि वा गलत छ भनेर छुट्याउन आवश्यक रहेको देखिन्छ । आफ्ना दलका उच्च तहका नेताहरुले कुनै पनि विषयमा बोलेको कुरा वा प्रतिकृयाप्रति गलत र सही नछुट्याई तल्लो तहका नेताहरु वा कार्यकर्ताहरुले समर्थन गर्नु र अन्य दलका नेता तथा कार्यकर्ताहरुले पनि सहि र गलत नछुट्याई सामाजिक सञ्जालबाट नै विरोध गर्ने प्रवृत्तिले पनि नेपालमा राजनीति अराजकता बढिरहेको छ ।
नेपालमा राजनीति व्यथितिको अवस्था देख्दा नेताले कार्यकर्तालाई राजनीतिक संस्कार सिकाउने कि कार्यकर्ताले नेतालाई सिकाउने भनेर सोच्न बाध्य भइन्छ । विभिन्न राजनीतिक दलका नेताहरु तथा कार्यकर्ताहरुबाट विश्वास, इमानदारीता, प्रतिबद्धता र संस्कार विस्तारै हराउँदै गएको हो कि भनेर पनि जनताहरुले साेंच्नुपर्ने अवस्था सिर्जना भएको छ । विगतका समयदेखि नै आफ्नो कार्यकालसमय अवधिभित्र अवसर र पहुँच हुँदा हँुदै पनि देश र जनताको हितमा कुनै सम्झनालायक काम नगर्ने तर सत्ता बाहिर गएपछि एक अर्कालाई मात्रै आरोप प्रत्यारोप गर्ने प्रवृत्तिले जनतामा थप निरासा मात्रै उत्पन्न गरेको छ ।
नेपालमा १० वर्षे जनयुद्धपश्चात् प्राप्त लोकतन्त्र तथा संघीय गणतान्त्रिक व्यवस्थाले देशमा परिवर्तनको मुहार फेर्नेछ साथै नागरिकलाई देशमै सजिलै रोजगार प्राप्त हुन्छ भन्ने आशा र विश्वास रहेता पनि त्यसो हुन सकेन बरु नेताहरु र केही कार्यकर्ताहरुको अवस्था र जीवनस्तरमा परिवर्तन भयो, तर सर्वसाधारण नागरिकहरुको अवस्था भने झनझन नाजुक हुँदै गइरहेको छ । नेपालको हकमा संघीय व्यवस्था देशको आर्थिक क्षेत्रलाई भार हुनुको साथै तल्लो तहका नेताहरुलाई भर्ती गराउने केन्द्र जस्तै बनेको छ । पछिल्ला क्रममा नेपालका नेताहरुबाट हुने गलत कदम र घटनाक्रमलाई हेर्दा देशमा १४ अञ्चल, ७५ जिल्ला, ५ विकाश क्षेत्र, ३ प्रदेश र राजतन्त्रसहितको व्यवस्था नै ठिक थियो भन्ने आवाज केही नागरिकहरुबाट पनि आउने गरेको सुनिन्छ ।
आज देशका न्यायिक अधिकार दिने अदालत, सन्चार माध्यम, शैक्षिक संस्था तथा स्वास्थ्य क्षेत्र, ठूलाठूला व्यापारीहरुलगायत विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरु गलत र सहीलाई नछुट्याई नेताहरुको इसारामा चल्ने गरेको पाइन्छ । दोषी व्यक्तिलाई निर्दोष र निर्दोष व्यक्तिलाई दोषी ठह¥याई अदालतले फैसला गर्यो भने पनि नागरिकले अचम्मित मान्नुपर्ने अवस्था छैन, यहाँ न्यायलयले नै नेताहरुको आदेश र पैसाको भरमा फैसला गर्ने गर्दछन् । सञचार माध्यमहरुले गलतलाई सही र सहीलाई गलत बनाई समचार सम्प्रेषण भएमा, शैक्षिक तथा स्वास्थ क्षेत्रको हरेक काममा राजनीति भागबण्डाको आधारमा कार्यसम्पादन भएमा, ठूला–ठूला व्यापारी र धनाढ्यहरु तथा अन्य क्षेत्रका व्यक्ति तथा नेताहरु विभिन्न मुद्दामा आरोपित भए पनि खुल्लेआम हिंड्दा जनताहरु अचम्मित हुनु पर्दैन यहाँ राजनीति दलका आडहरुमा जे पनि हुन सक्छ ।
देशमा सत्ता बाहिरका कार्यकर्ताहरुबाट यतिसम्म अराजकता बढिरहेको छ कि देशकै सम्माननीय प्रधानमन्त्री जस्तो व्यक्ति विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रमहरुलगायत विदेश भ्रमण जाँदा विदेशमै समेत कालोझण्डा देखाउने, कार्यक्रम स्थलमै गएर कार्यक्रम सुचारु हुन नदिने जस्ता अराजकता निम्त्याएको देखिन्छ । यस्ता गतिविधिहरुले देशकै बदानाम गर्ने हुनाले कार्यकर्ता नभएर नेपाली हुँ भन्ने भावानाले सम्मान गर्न सक्नुपर्दछ ।
रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगिको मुद्दामा प्रकाउ गरी कास्की जिल्ला अदालतले पोखरामा थुनामा राखि अनुसन्धानको प्रकृया अगाडि बढाएको छ, तर रास्वपाका कार्यकर्ताहरु देशभरबाट नै पोखरामा जुलुससहित नारा लगाउँदै विरोध गरिरहेका छन् । उनलाई मुद्दा लागिसकेपछि अदालतले छानविन गर्नु सामान्य कुरा हो, तर रास्वपाले त्यसरी विरोध गर्नु गलत कदम हो, यदि रास्वपा पुराना दलभन्दा फरक विचार र उद्देश्यसहित देश परिवर्तन गर्न आएको हो भने उहीँ पुराना दलका जस्तै व्यवहार देखाउनु भनेको नेपालको राजनीतिमा थप अराजकता निम्त्याउनु हो ।
सत्ता बाहिर रहँदा घाँटी सुक्ने गरी चिच्याउने, तर सत्तामा पुगेपछि चुइक्क पनि नबोल्ने युवा नेताहरुले आफ्नो पार्टीका नेताहरुबिच लागेका आरोपहरुमा पनि आवाज उठाई कानुनी दायराभित्र ल्याउन सक्नुपर्दछ, होइन भने देशका लागि युवा नेताहरु झन घातक भएर निस्कने छन् । यतिबेला केपी शर्मा ओलीको सरकारले रविलाई पक्राउ गरेसँगै केही आलोचना पनि खेपिरहेको छ, तर यही समयमा कांग्रेस, एमाले, माओवादीलगायत अन्य दलहरुका आरोपित उच्च तहका नेताहरुलाई पनि पक्राउ गरी कानुनी दायराभित्र ल्याई छानविन गर्न सक्ने हो भने राजनीतिको प्रतिशोधभन्दा पनि सरकारको कडा कदम भनेर सहजै स्वीकार गर्न सकिने अवस्था आउँछ, साथै नागरिकहरु पनि सरकार माथि विश्वास र भरोसाको वातवरण सिर्जना गर्नमा मद्दत पु¥याउन सक्दछन् ।
केही वर्ष पहिलासम्म राजनीति दलहरुले विरोधको सन्दर्भमा देश पूर्णरुपमा बन्द गर्ने, यातायातका साधनहरु जलाउने, तोडफोड गर्ने, उच्छृंखल र हिंसात्मक अराजक घटनाहरु घटाउने र सर्वसाधारण नागरिकहरुलाई निकै सास्ति दिने गर्दथे, तर पछिल्ला समय त्यस्ता कामहरु भएका छैनन्, तर नेता तथा कार्यकर्ताहरुले विरोध गर्नुको औचित्यबारे पूर्ण जानकारी हुन जरुरी छ । देशमा केही गर्छु भनेर आएका नयाँ दलहरुले पनि परिवर्तन मिठा– मिठा कुरा र कागजी पानामा मात्र होइन व्यवहारमा पनि लागु गरी आफ्ना कार्यकर्ताहरुलाई पनि सचेत बनाउन जरुरी छ । पछिल्लो समय सामाजिक सञ्जालमा हेर्ने हो भने अराजक निम्त्याउने पुराना दलका नेता र कार्यकर्ताहरु त थिए नै त्यो भन्दा अझ उग्र नयाँ दलका नेता र कार्यकर्ताहरुमा देखिन्छ त्यसैले देशमा बढ्दो राजनीति अराजकताप्रति नेता तथा स्वयम् कार्यकर्ताहरु पनि सचेत र जिम्मेवारी हुन जरुरी छ ।
सत्यवती–२, चेहेमी गुल्मी हाल जापान ओसाका




