तिलोत्तमा । उद्घाटन भएको दुई वर्षसम्म पनि सञ्चालन हुन नसकेको तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा बनेको तिलोत्तमा वहुउद्देश्यीय टावर छिटो सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
तिलोत्तमा नगरपालिका र वनवाटिकाको साढे ११ करोड लगानीमा बनेको टावर सञ्चालन नगर्दा राम्रो सन्देश नगएको भन्दै ठेक्का पाएको कम्पनीले नचलाउने भए ठेक्का रद्द गरेर अरुलाई दिनुपर्ने आवाज उठेको छ ।
२०७८ साल चैत १५ गते तत्काली प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टावरको उद्घाटन गरेका थिए ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको १४ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा वक्ताहरुले भ्यू टावर छिटो चलाउनुपर्नेमा जोड दिएका हुन् ।
भ्यु–टावर अहिलेसम्म सञ्चालन नहुँदा तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका)ले कुनै लाभ लिन सकेका छैनन् ।
भ्यु टावर निर्माण भए पनि ठेक्का लगाउँदा टावर परिसरमा पौडी पोखरी, पानीको फोहोरा, पार्किङ, रेस्टुरेन्ट, निर्माण गरी एकीकृत रूपमा सञ्चालन गर्ने योजना थियो । त्यही अनुसार ठेक्काको प्रक्रिया अगाडि बढाए पनि दोस्रो चरणको संरचना निर्माण अझैसम्म पूरा नभएपछि ठेक्काको लागि कबोल गरेको ठेकेदार कम्पनीले सम्झौता नगरी बसेको छ ।
पछिल्लो संरचना निर्माणका लागि तिलोत्तमा नगरपालिका र संघीय सरकारको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ५ करोड बजेटमा काम सुरु गरिएको थियो । जसमध्ये नगरपालिकाले आफ्नो रकमले काम गरे पनि संघीय सरकारले पर्यटन प्रवद्र्धन अन्तर्गत रकम नपठाएका कारणले संरचना पूरा नभएको तिलोत्तमा नगरपालिकाको भनाई छ ।
नगरपालिकाका अनुसार पाल्पाको अनुपम निर्माण सेवा कम्पनीले २०७८ फागुनमा २०७९ साल साउनदेखि भ्यु टावर चालु गर्ने गरी वार्षिक ३९ लाख ५० हजार रुपैयाँ बुझाएको थियो । एक वर्षको बैंक ग्यारेन्टी पनि उक्त कम्पनीले गरेको थियो ।
साउनमा सञ्चालन गर्न असार अन्तिमसम्म ठेकेदारले राखेको सर्तहरू पूरा नभएपछि उक्त कम्पनीले सम्झौता नै गरेन । कम्पनीले भ्यु टावरमात्रै हुँदैन, पौडी पोखरी, रेस्टुरेन्ट, पानीको फोहोरा जस्ता संरचना तयार नभएकाले आफूले सम्झौता नगर्ने अडान लिएपछि रोकिएको हो ।
भ्यु–टावर १० तलाको छ, जसको उचाइ १३४ फिट छ ।
भ्यु टावर निर्माण गर्दा ७० प्रतिशत खर्च तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत खर्च शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले बेहोरेका हुन् । दोस्रो चरणमा भने सङ्घीय सरकार र नगरपालिको लगानी हो ।
टावरमा पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् । सातौँ तलादेखि मात्रै दृश्यावलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ ।
कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्यु–टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च कक्ष, डिपार्टमेन्ट स्टोर, कार्यालय कक्ष, शौचालयसहित वातानुकूलित कोठाहरु तथा पुस्तकालय लगायतका संरचना छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले टावर सञ्चालनमा ल्याउंदा पर्यटकले सुविधा पाउने, पर्यटक आगमन बढ्न र नगरपालिका र वनवाटिका दुबैलाई आम्दानी हुने भएकाले अब छिटो चलाउनुपर्नेमा जोड दिए ।
ठेक्का पाएको कम्पनीले सञ्चालन नगर्ने हो भने ठेक्का रद्द गरेर भएपनि छिटो चलाउने बाटोमा जान सांसद घिमिरेले सुझाव दिए । भ्यू टावर सञ्चालन गर्ने विषयमा आफूले नगर प्रमुख रामकृष्ण खांणसंग ३ पटक सम्म कुरा गरेको तर सञ्चालनमा नआउंदा राम्रो सन्देश नगएको बताए ।
दुई दशक अघि उक्त ठाउं जंगल, झाडी र गौचरन रहेको तर अहिले सुन्दर ,रमणीय र व्यवस्थित पर्यटकीय थलो बनेको भन्दै घिमिरेले यो सबैको साझा सम्पति भएको बताए । आफ्नै पालामा भ्यू टावर समेत बनेको भन्दै उनले बन बाटिकाको विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सबैको पहलमा गौतमबुद्ध विमानस्थलबाट छिटै अन्तराष्ट्रिय उडानहरु हुन लागेको भन्दै वनवाटिकाको भविष्य उज्जवल रहेको उनले बताए ।
नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठले वनवाटिका पश्चिम नेपालको उत्कृष्ट पर्यटकीय स्थल बनेको भन्दै अब नाम अनुसार अध्यन अनुसन्धानको काम पनि गर्न सुझाब दिए ।
तिलोत्तमाका मेयर रामकृष्ण खांणले वनवाटिका तिलोत्तमाको मात्र नभई प्रदेश र देशकै गहना भएको बताए । वनवाटिकालाई अझै विकसित बनाउन आवश्यक रहेको भन्दै बहुउद्देश्यीय भ्यू टावर सञ्चालनमा आएपछि पर्यटक आगमन बढ्ने बताए । बहुउद्देश्यीय भ्यू टावर सञ्चालन गर्न नगरपालिकाले यस वर्ष एक करोड बजेट राखेको भन्दै यसै वर्ष देखि सञ्चालन हुने मेयर खांणले बताए ।
वनवाटिका जस्ता ठूला पार्कले वातावरण संरक्षण गर्दै नागरिकलाई स्वस्थ र दीर्घायु बनाउने भन्दै मेयर खांणले यसबाट रोजगारी सिर्जना र आर्थिक विकासमा समेत योगदान पुगेको बताए । वडा नं १ का ध्यक्ष फर्सुराम गिरीले २० बर्ष अघि कांडे झाडी रहेको वन क्षेत्र थियो अहिले उत्कृष्ट पर्यटकीय स्थल बनेको भन्दै लुम्बिनि आउने पर्यटकलाई पनि वनवाटिकासम्म ल्याउने योजना बनाउन सुझाए । वनवाटिका तिलोत्तमाको वडा नं १ देखि ४ वडासम्मका वडावासी नागरिकको सबैभन्दा नजिकको घुमफिर गर्ने साझा थलो भएकाले यसको विकासमा विशेषगरी ४ वटा वडावासीको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले वनवाटिकामा एक वर्षमा साढे ४ लाख पर्यटक घुम्न आउने र वार्षिकरुपमा सरकारलाई करिब ५० लाख कर तिर्ने गरेको जानकारी गराए । आफ्नो कार्यकालमा २ वर्ष कोरोना महामारीले काम गर्न नपाएपनि बांकी ३ वर्षमा विकास निर्माण र संस्थागत सुधारका धेरै काम भएको बताए । विगतमा ऋणमा रहेको संस्थालाई अहिले नाफामा लगेको शर्माले बताए ।
शंकरनगर सामुदायिक बनका अध्यक्ष रवीन्द्र बस्नेतले सामुदायिक बन र बाटिका एक अर्काका परिपूरक भएका र स्थानीय विकासका लागि दुई संस्थाबीच समन्वय सहकार्य हुंदै अघि बढेको बताए । सो अवसरमा संस्थाका उपाध्यक्ष खिमलाल पाण्डे, सचिव फर्सुराम भण्डारी,पार्षदको तर्फबाट कमला ज्ञवाली , आजीवन सदस्य लोकनाथ पाण्डे, लक्ष्मण अर्याल, टेकबहादुर थापा, केशव न्यौपाने, किशोर सुवेदी,हरिलाल पाण्डे लगायतले वनवाटिकाको तिलोत्तमाको गहना भएको भन्दै यसको विकासमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने आग्रह गरे ।




