बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईले खुला सीमाको फाइदा उठाउंदै भारतबाट कुखुरा सहित विभिन्न वस्तुको अवैध आयात हुने गरेको स्वीकार गर्दै यसलाई रोकेर नेपाली किसानलाई बचाउन सुरक्षा निकाय इमान्दार भएर चेकजांचमा कडाई गर्नुपर्ने बताए । तस्करी भएको सूचना पाए आफूलाई जानकारी गराउन आग्रह गर्दै संयोजक चापागाईलेसम्म आफू तस्करी रोकेर स्वदेशी किसानलाई संरक्षण गर्न सधै तत्पर रहेको स्पष्ट पारे । सीमा क्षेत्रका नेपाली कुखुरा फार्ममा दिनभर कुखुरा नहुने तर राति भारतबाट ल्याएर अर्को दिन नेपाली कुखुरा भन्दै बेच्ने गरिएको समेत औंल्याए ।
उनले विगतमा भारतीय सेतो अण्डालाई विस्थापित गरे जस्तै भारतीय कुखुरा र चल्लाको तस्करीलाई पनि सबै मिलेर विस्थापित गर्नुपर्ने बताए । संयोजक चापागाईले ठूला व्यापारी र ठूला किसानले साना ब्यापारी र किसानलाई माथि उठ्न नदिई तहसनहस बनाउने गरी काम गरिरहेको भन्दै त्यस्तो नगर्न सचेत गराए । उनले बुटवलको बधशाला सञ्चालनमा किसान र व्यवसायीलाई सहभागी नगराउनु दुर्भाग्य भएको भन्दै उक्त बधशालाको अनुगमन गर्न जिल्ला समन्वय समिति प्रमुखलाई नदिई तानाशाही चरित्र प्रदर्शन गरिएको बताए । त्यस्तो तानाशाही नचल्ने चेतावनी दिंदै उनले बधशाला मापदण्ड अनुसार नचलेको हुंदा आफूलाई अनुगमन गर्न नदिई गेटबाटै फकाईएको स्पष्ट पारे । अहिले खसी बोका जस्तै भविष्यमा कुखुरा, राँगा, बंगुर आदिको पनि बधशाला बनाउने र सबैमा ठूला व्यापारी आएर हजारौं साना व्यवसायीलाई विस्थापित गराउन सक्ने भन्दै चापागाईले व्यवसायीलाई एकजुट हुन आग्रह गरे ।
भारतबाट ठूलो मात्रामा अवैधरुपमा बोइलर कुखुरा भित्रिएर नेपाली बजारमा विक्रि हुंदा स्वदेशी कुखुरापालक किसान सधैं मारमा परेको गुनासो गरेका छन् । सुरक्षा निकायले चेकजांचमा कडाई नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित भई छुट दिंदा अवैध आयात झनै मौलाएको किसानहरुको गुनासो छ ।
कुखुरापालक किसान संघ रुपन्देहीका अध्यक्ष ऋषिराम काफ्लेका अनुसार भारतसंग सीमा जोडिएका नवलपरासी, रुपन्देही र कपिलवस्तुका दक्षिणी क्षेत्रका विभिन्न नाकाहरुबाट रुपन्देहीमा मात्रै दैनिक करिब ३० क्विन्टल कुखुरा भारतबाट अवैधरुपमा नेपाल भित्रिने गरेको छ ।
भारतमा चल्ला, दाना र औषधिको मूल्य नेपालमा भन्दा धेरै सस्तो हुने भएकाले भारतीय कुखुराको मूल्य पनि स्वतः सस्तो हुने र भन्सार छलेर नेपालमा ल्याउंदा माग भन्दा आपुर्ति बढी भई नेपाली किसानले लागत मूल्य समेत पाउन नसकी मारमा परेका अध्यक्ष काफ्लेले बताए ।
रुपन्देही बोइलर कुखुरा उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा भारतबाट ठूलो मात्रामा भित्रिंदा नेपाली किसानको कुखुरा विक्रि नहुने र विक्रि हुंदा लागत मूल्य पाउन नसकेकाले अवैध आयात तत्काल रोकिनुपर्ने किसानको माग छ ।
कुखुरापालक किसान संघ रुपन्देहीका सचिव विशाल थापाले विगतका सरकारले अमेरिकाबाट कुखुराको मासु आयातलाई रोकेको अवस्थामा अहिलेको सरकारले खुला गरेर नेपाली किसानलाई पेशाबाटै पलायन हुने अवस्थामा पु¥याउन लागेकाले उक्त गलत निर्णय सच्याउन माग गरे ।
किसान आफैले स्वयंसेवक टोली गठन गरी अनुगमन
सरकारी निकायले कुखुराको अवैध आयात पूर्णरुपमा रोक्न नसक्दा पेशा नै संकटमा परेपछि किसान आफैले अवैध आयातलाई निरुत्साहित गर्न स्वयंसेवक टोली गठन गरी अनुगमन गर्न शुरु गरेको थापाले बताए ।
बुटवलबाट शुरु भएको अनुगमन टोली १६ वटै पालिकामा गठन गरी सुरक्षा निकायसंग मिलेर भारतबाट हुने तस्करी रोक्ने आफूहरुको तयारी रहेको थापाले बताए ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले भारतबाट अवैधरुपमा भित्रिने कुखुरा र मासुले स्वदेशी किसान र व्यवसायी मारमा परेको स्वीकार गर्दै स्थानीय तहहरुले अवैध आयात रोक्न किसानसंग मिलेर लाग्नुपर्ने बताए ।
रुपन्देहीका सबै स्थानीय तह,सुरक्षा निकाय, किसान र व्यवसायी मिलेर तस्करी रोक्नुपर्ने अन्यथा किसानहरु पेशाबाट विस्थापित हुनुपर्ने मेयर पाण्डेयले औंल्याए । चल्ला र दाना ब्यापारीले महंगो मूल्यमा बेच्ने तर किसानको कुखुरा तयार भएर बेच्ने बेला अनेक खेल गरेर लागत मूल्य पनि नपाउने अवस्था बनाइदिने गरेको भन्दै यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठक, विषादी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष हुमाकान्त लम्साल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय रूपन्देहीका पशु विकास अधिकृत पार्वता भुसाल, बुटवल उपमहानरपालिका पशु पंक्षी शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडे, नेपाल भेटेरीनरी एशोसीयसन लुम्बिनी प्रदेश अध्यक्ष डा। युवराज पन्थ लगायतले आ आफ्नो भनाई राखेका थिए ।




