सहकारी ठगी प्रकरणको अनुसन्धान गर्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्व गृहमन्त्री रवि लामिछाने समेत संलग्न भएको भेटिएपछि प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । रवि सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठन भएको संसदीय समितिले दोषी ठहर भएका व्यक्ति हुन् । अहिले उनी पक्राउ भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गर्दै आएको छ ।
उनलाई सत्तारुढ दलले पूर्वाग्रह राखेर नियतबश फसाउन खोजेको आरोप रास्वपा कार्यकर्ताको छ । रविको मुद्दाको निष्पक्ष न्यायिक निरुपण हुुनका लागि सघाउ गर्नुपर्नेमा सडक आन्दोलनले रास्वपा विवादमा तानिएको छ । जुन नयाँ केही गर्ने, विधि र थिति बसाल्ने भनेर प्रचार गरेको रास्वपाले नागरिकमाझ नयाँ केही गर्ने होइन्, कानुन हातमा लिने उदण्ड र अराजक शैली देखाएको छ । राजनीतिप्रति चरम निराशा बढेको समाजमा यो प्रकरणले झन निराशा र आक्रोश थप्ने छ । यो स्वस्थ लोकतन्त्रका लागि राम्रो होइन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एंव कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइए । एमाले सचिव टोपबहादुर रायमाझी अझैँ जेलमा छन् । राजनैतिक दलका यी उपल्ला तहका नेता बाहेक अरु धेरै व्यक्ति दल निकट पक्राउ परी मुद्दा झेल्दैछन् । सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परे । यी मुद्दालाई लिएर कांग्रेस, एमाले र माओवादीले राजनीतिकरण गरेनन् । उनीहरुले अनुसन्धान र अभियोजन निष्पक्ष गर्न झक्झकाए ।
समाजमा अपराधको राजनीतिकण र राजनीतिको अपराधीकरण बढ्दो छ । अपराध र राजनीतिको कनेक्सन डरलाग्दो ढंगले बढिरहेको छ । राजनीति र अपराध जेलिदै जाँदा समाज भ्रष्ट हँुदै जाने र बेथिति मौलाउँदै जाने डरलाग्दो बाटोमा अघि बढिरहेको छ । अपराधलाई राजनीतिक आवरणमा ढाकछोप गर्ने प्रवृत्तिले लोकतन्त्रको संस्थागत विकासमा पनि अवरोध गरिरहेको छ । दल, नेता, विभिन्न व्यवसायिक संस्था, राज्य संयन्त्रका विभिन्न अंगलाई राजनीति र अपराधको कनेक्सनले छियाछिया पारिरहेको छ । जसले राज्यलाई कमजोर बनाइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउने औजार चुनाव हो । चुनाव जित्नका लागि चाहिने पैसाका लागि राजनैतिक दलले त्यो कनेक्सनलाई बलियो गरी साथ दिँदै जाँदा पार्टीभित्रका इमान्दार नेता कार्यकर्ता ओझेलमा पर्ने र किनारा लाग्दै जाने जोखिम नेपाली लोकतन्त्रका लागि घातक छ ।
पूराना दलले बिगारेको थिति र विधिलाई सही बाटोमा ल्याउने भन्दै रवि लामिछाने नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले थिति र विधि बसाल्ने नभई आफ्नोमा लिएर अराजक समाज निर्माणको बाटोमा लागेको छ, यो मुलुकका लागि घातक छ । थिति र विधि बसाल्ने कानुनको सही कार्यान्वयन गर्नका लागि बाटो खुला गर्दा मात्रै संभव छ । लोकतन्त्र विधिको शासन हो भन्ने मर्मलाई व्यवहारमा उतार्ने हो भने कानुनको प्रयोगलाई सही ढंगले गर्नका लागि सहयोगी भूमिका खेल्नुपर्छ, त्यो भूमिकाले मात्रै लोकतन्त्र तंग्रिदै अघि बढ्न सक्छ ।




