अर्घाखाँची । सन्धिखर्कमा एकैठाउँ मासु खाएका ३५ जना बिरामी परेका छन् । सन्धिखर्क-१ तारामार्ग निवासी दीपक केसीको देउराली पूजामा प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विपन कार्कीले बताए ।
हिंजो बेलुका २७ जनाको उपचार भएकोमा आज बिहान थप आठ जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन्।
बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने एकजनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताए। उनीहरू सबैको अवस्था सामान्य छ।
आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए। ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा. अशोक शाहले जानकारी दिए । दुईजना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।




