पिपल बहुगुणी र बहुउपयोगी रूख हो । धार्मिक र साँस्कृतिक महत्वका साथै औषधीय गुणले भरिएको पिपल नेपाली समाजमा जताततै देख्न सकिन्छ । पिपल रोप्ने र चौपारी बनाउने प्रचलन नेपाली समाजमा निकै पुरानो हो । पिपलको चौपारीमा बस्दा शितल हुने भएकाले पैदलमार्गको ठाउँ-ठाउँमा पिपल रोपिन्थ्यो । नेपाली समाजमा पिपल रोप्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।
गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले टोल विकास संस्थामार्फत् ३ सय ५८ वटा वर पिपल रोप्ने काम सुरु गरेर समाजमा पिपल रोप्ने कामलाई जीवन्त बनाउन खोजेको छ । रूरू क्षेत्रले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा १ हजार ८ धार्मिक वृक्ष र १ सय ८ रिचार्ज पोखरी खन्ने ५ वर्षे योजना सार्वजनिक गरेर वातावरण संरक्षणमा पालिकाको सकारात्मक पहलकदमी सुरुवात गरेको छ । गत बर्खाको समयमा नै स्थानीय र विभिन्न संघसस्थाको सहयोगमा पालिकाभर धार्मिक बिरुवा रोप्न सुरु गरेको हो । गाउँपालिकाले यही आर्थिक वर्षमा वडा नं. १ मा एक सय ८ र अन्य वडामा ५० वटाका दरले वर पिपल रोपेर पालिकामा जानकारी दिन सूचना जारी गरेको छ ।
धार्मिक र साँस्कृतिक रुपले महत्वपूर्ण मानिएको यो रूख पर्यावरण सन्तुलन कायम गर्न पनि महत्वपूर्ण मानिन्छ । चराचुरूङ्गी र बाँदरलगायत वन्यजन्तुको आहारा पनि हो पिपल । अक्सिजन राम्रो पाइने र लामो आयु भएको यो रूख नेपाली समाजमा धेरै पहिले रोप्न थालिए पनि पछिल्ला वर्ष रोप्न ध्यान दिइएको छैन । पहिले व्यक्तिले नै पिपलको चौपारी बनाउने काम गर्थे । पूजाआजा गर्थे । अहिले व्यक्तिले त्यस्तो काम गर्न छाड्दै गएको बेला पालिकाले पहलकदमी लिएर राम्रो गरेको छ ।
अहिले मोटरबाटो बन्दै गएपछि पुराना पैदलमार्गहरु नासिदै गएका छन् । पैदलमार्ग नासिदै जाँदा बहुगुणी पिपलको संरक्षणमा पनि ध्यान पुग्न सकेको छैन् । सडकलगायत विभिन्न पूर्वाधार बनाउँदा पिपल मास्न कुनै अप्ठारो नमान्ने प्रवृत्ति मौलाएको छ । बुटवल-बेलहिया सडक विस्तार हुँदा दर्जनौं पिपलका रूख काटिए । ती काटिएका पिपलको रूखको साटो बुटवलको वरिपरिको वनमा दोब्बर पिपलका रूख रोपेर हुर्काउन ध्यान दिएको भए जवाफदेही काम हुन्थ्यो । त्यसतर्फ पटक्कै चासो गएन् ।
रूरू क्षेत्र गाउँपालिकाले पिपल रोप्न अगुवाइ गरेको छ । अरु पालिकाले पनि सिकुन् । पालिकाले समुदायलाई परिचालन गरेर रोप्ने अभियान चलाएकाले समुदायले नै जोगाउन चासो दिनुपर्छ । केही वर्षमा अरु ठाउँका मान्छे रूरूमा हुर्केका पिपल हेर्न र समुदायको संरक्षण अभियान हेर्न आउने वातावरण बन्नुपर्छ ।




