तिहार पर्व नजिकिंदै जाँदा पटका पड्काउनेहरु बढेका छन् । पटका पड्काउँदा यसले पर्यावरणलाई असर गर्छ नै, पटकाले मान्छेको जीवनलाई समेत जोखिममा पारेको छ । पटका बालबालिकाले धेरै प्रयोग गर्ने भएकाले उनीहरु जोखिममा छन् । पटकाले गर्ने क्षतिबारे हेक्का नहुँदा कतिपय बालबालिकाको ज्यान समेत गएको छ । कतिपय घाइते भएका छन् । हरेक वर्ष आउने तिहारले उल्लास लिएर आउँछ, यो उल्लासमा रमाइलो गर्दा कतिपय विषयप्रति नजरअन्दाज गर्दा तिहारले विनाशको पीडा बोकाइरहेको छ ।
नेपाल–भारतको खुला सीमाका राम्रा–नराम्रा दुवै पक्ष छन् । खुला सीमाले नागरिक तहको सम्बन्धलाई दरिलो बनाएको छ । खुला सीमालाई व्यवस्थापन गर्न दुवै देशका अधिकारीहरुको पहलकदमी नहुँदा अवैध कारोबार र ओसारपसार भइरहेका छन्, जसले सुरक्षा चुनौती बढाएको छ । खुला सीमाको दुरुपयोग गर्दै भइरहेका अवैध कारोबार रोक्ने काम सीमा सुरक्षा अधिकारीहरुको हो । अहिले रूपन्देहीमा अवैध कारोबार मौलाएको व्यवसायीहरुको गुनासो बढिरहेका बेला पटकाको अवैध ओसार पसार पनि स्वाभाविक रुपमा भएको छ । केही दिनयता लगातार बुटवल, भैरहवालगायत शहरी इलाकामा साँझमा पटका पड्किरहेका छन् । लगातारको पटकाको आवाजले समाज आतंकित भएको छ । ध्वनि प्रदुषण भएको छ । चर्को आवाज दिने पटकाको आवाजले मुटु लगायत दीर्घरोगीलाई असर पुगेको छ । पटका पड्काउनेलाई प्रहरीले नियन्त्रण गर्न सक्छ । कानुनले पटकाको प्रयोग र ओसारपसारगर्नेलाई कारबाहीको दायरामा ल्याउने अधिकार दिएको छ । पटका पड्काउनेलाई नियन्त्रण गर्न किन प्रहरी सक्रिय हुन सकिरहेको छैन ? शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी पटकाको चर्को आवाजका सामु किन निरिह र मौन छ ? प्रहरीको मौनताले समाजले शान्ति सुरक्षाको अनुभूति गर्न सक्तैन ।
प्रहरी नागरिकको साथी हो, भरोसा होे । नागरिकको साथ र भरोसा प्रहरीको मौनताले अवैध कारोबारीलाई बल पुग्छ । समाजमा अपराध र अराजकता बढ्छ । समाजमा अपराध नियन्त्रण गर्न र अराजकताबाट समाजलाई बचाउन कानुनको कार्यान्वयन गर्न सक्रियता बढाउँदा प्रहरीप्रति नागरिकको भरोसा बढ्ने हो । राज्य व्यवस्थाप्रति अपनत्व र विश्वास जाग्ने हो ।




