अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-६, खिल्जीमा देउसी भैलो खेलिरहेका समुहलाई बसले ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ, ३३ जना घाईते छन्।
वडा नम्बर ५ र ६ काे सिमाना जयठाँटीमा सोमवार बेलुका ना ३ ख २४७१ नम्बरको बसले देउसी भैलाे नाचिरहेकाे स्थानमा ठक्कर दिएपछी घटना भएको हो । घटनामा २२ वर्षिय युवती तारा श्रेष्ठ र ७० वर्षिय रुनी खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख (डिएसपी) चक्र बहादुर मल्लले जानकारी दिए ।
घाईते ३३ जनामध्ये गम्भिर रहेका ९ जनालाई लुम्बिनि प्रादेशिक अस्पताल बुटवल पठाईएको छ । उद्धारमा व्यस्त भएकाले घाईतेहरुको विवरण लिन नसकिएको डिएसपी मल्लले बताए । प्युठानबाट भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल हुँदा बाटोमा भैलो खेलि रहेको अर्को समुहलाई ठक्कर दिएको थियो ।
घाईतेमध्ये ९ जनाको अवस्था गम्भिर रहेको छ । ८ जनाको मध्यम र १६ जनाको अवस्था सामान्य रहेको अस्पतालका मेसु डा. जगन्नाथ तिवारीले बताए ।
प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउसो भएको दुर्घटनामा परी घाईते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने बताएका छन ।
प्युठान बाट आएको बसले तिहारको भैलोमा रमाएका भैलेहरु र दर्शकलाई ठक्कर दिएको घटनाले दुखी र स्तब्ध बनाएको बताए । घटनामा घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुदैन ।
दुर्घटनामा मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै दुर्घटना बारे सत्य तथ्य पत्ता लगाउन समेत प्रहरी प्रशासनलाई निर्देशन दिएका छन ।




