गुल्मी । गुल्मीको हाडहाडे गाउँमा ओल्लो र पल्लो डाँडा जोड्ने आकाशे पुल बने पछि स्थानीयको करिब डेढ दुई घण्टाको पैदल यात्रा १५ मिनेटमै आवतजावत गर्ने सुविधा प्राप्त भएको छ ।
धुर्कोट गाउँपालिका ३ हाडहाडेको सोमरभोमर र पारी न्युन्युखर्क जोडने कुमलडाँडा ठुलाडाँडा ३ सय मिटर लामो आकाशे पुल बने पछि ती दुई गाउँवासीलाई यस्तो सुविधा प्राप्त भएको हो ।
सोमरभोमर गाउँका भारतीय सेनाबाट अवकाश प्राप्त क्याप्टेन प्रेमबहादुर रानाको पहलमा नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेश सरकारका योजना आयोगका पूर्व सदस्य दामोदर भुसालले प्रदेश सरकारबाट योजना पारिदिए पछि वारी धनमुडा, सोमरभोमर र पारी न्युन्युखर्कका सयौँ घरधुरी बासिन्दा लाभान्वित हुँदै आएका छन् । हिँड्न सक्ने मान्छेलाई एक घण्टा र वृद्ध वृद्धा, बालबालिकालाई झन्डै दुई घण्टा सम्मको पैदल यात्राको सास्ती खेप्नु पर्दथ्यो, न्युन्युखर्कका बासिन्दा सुरेन्द्र सुनारले भने।
लुम्बिनी प्रदेश सरकारको दुई करोड १५ लाख लागतमा ३ सय २८ मिटर लम्बाई र २९८ मिटर उँचाइको उक्त पुलको योजना पार्नमा लुम्बिनी प्रदेश सरकारका तत्कालीन योजना आयोगका सदस्य तथा गुल्मीका काँग्रेस नेता दामोदर भुसालले पहल गरे पछि आफूहरूले ठुलो सुविधा पाएको स्थानीय पहल कर्ता क्याप्टेन प्रेम बहादुर रानाले बताए ।
गुल्मीको हकमा एक देखि अर्को डाँडा जोडने आकाशे पुलको सुरुवात गर्ने उनै काँग्रेस नेता डाक्टर दामोदर भुसाल हुनुहुन्छ । उहाँले २०६९ , ०७० तिर पौदीअमराईको अरेवा देखि पारी बाग्लुङ्गको सक्न्यारा जोडने पुलको योजना पार्न भएको थियो । लगत्तै इस्मा गाउँपालिकाको घर्तिफाँट, इस्मारजस्थल र हाडहाडेको उक्त पुलको योजना स्थानीय समाज सेवी प्रेमबहादुर रानाको पहलमा आफूले पारेको नेता भुसाल बताउँछन् ।
अरेवा , सक्न्यारा देखि सुरु भएको एक देखि अर्को डाँडा जोडने आकाशे पुल गुल्मीमा धमाधम निर्माण हुन थाले पछि स्थानीयले नसोचेकै सुविधा प्राप्त गर्न थालेका छन् । यस कार्यमा गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी र २ का सांसद गोकर्णराज विष्टले पनि अगुवाइ गर्दै आएका छन् । एक देखि अर्को डाँडा जोडने यस्ता पुलहरूले बारीवारिका बासिन्दाहरूले सुगम सुविधा उपभोग गर्न पाएकोले अन्य स्थानमा पनि यस्ता पुलहरू धमाधम बन्नु पर्ने माग उठ्न थालेको छ ।




