जाडो बढ्न थालिसकेको छ । तर डेंगुको प्रकोप कायमै छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष २८ हजार २ सय १२ संक्रमित भए । अझैँ केही साता डेंगुको संक्रमण कायमै रहने विज्ञहरुले बताइरहेका भए पनि डेंगुविरुद्धको अभियान सुस्त छ । डेंगुविरुद्धको अभियानअन्तर्गत पालिकाहरुले खोज र नष्ट गर अभियान अघि बढाउन ढिलाइ गरिरहेका छन् । पालिकाको बेवास्ताले पनि डेंगु संक्रमण बढिरहेको छ ।
जलवायु परिर्वतनको असरले केही वर्ष अघिसम्म तराईमा मात्रै फैलिएको डेंगु पछिल्लो वर्षदेखि पहाड हुँदै हिमाली जिल्लामा समेत उक्लिएको छ । ढिलोसम्म वर्षा भएको र जलवायु परिर्वतनको असरले लामखुट्टेका लागि अनुकुल मौसम तयार भएकाले डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । यो वस्तुस्थितिलाई ख्याल गरेर अघि बढ्नुको साटो तहगत सरकार आ–आफ्नै ढंगले अघि बढ्नु स्वाभाविक मान्न सकिंदैन । नेपालको संघीय शासन प्रणाली समन्वयात्मक र सहकारी संघीयता हो । तहगत सरकारबिच अधिकतम सहकार्यको परिकल्पना संविधानले पनि गरेकाले पनि महामारी नियन्त्रणमा तहगत सरकारबिच अधिकतम समन्वय हुनुपर्छ । संविधान कार्यान्वयनको नेतृत्व संघीय सरकारले गरेकाले पनि संघीय सरकारको मूल दायित्व हो । यद्यपी पालिकाभित्र डेंगुविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, डेंगुविरुद्ध खोज र नष्ट गर अभियान चलाउने मुख्य जिम्मेवारी पालिकाको हो । चाडबाडको बेला नागरिक डेंगु संक्रमणको जोखिममा परेका छन् । पालिकाले खोज र नष्ट अभियान चलाएको भए संक्रमण अहिले भन्दा न्यून हुन सक्थ्यो ।
डेंगु संक्रमण शहरी क्षेत्रमा बढी देखिएको छ । शहरमा संक्रमण बढी हुनुको कारण हो,—डेंगु सार्ने लामखुट्टेको सुरक्षित बसाई छ भन्ने हो । डेंगु सार्ने लामखुट्टेले सफा पानी जम्ने ठाउँमा फुल पार्छ । कुलर, फ्रिज, फुलदानी जस्ता ठाउँमा जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टेले फुल पार्छ । शहरमा असरल्ल छाडिएका टायरमा जमेको पानी लामखुट्टेका लागि उपयुक्त बासस्थान हुन्छ । तीन वर्षअघि बुटवलमा सबैभन्दा बढी डेंगुका बिरामी मैनाबगर क्षेत्रका थिए । त्यसो हुनुको कारण हो, मैनाबगर क्षेत्र ग्यारेज क्षेत्र हो, जहाँ टायर, टिनका डब्बाहरु असरल्ल छाडिएका छन् ।
डेंगु संक्रमण भएपछि उच्च ज्वरो आउने, जोर्नी र मांशपेशी बारम्बार दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुने यसको प्रमुख लक्षण हुन् । बिरामीका लक्षण देखिएपछि बेवास्ता नगरी डाक्टर कहाँ जानुपर्छ । धेरै बिरामी डेंगुलाई बेवास्ता गर्दा जोखिममा परेका छन् । ज्वरोले च्याप्दै गएपछि मात्रै अस्पताल जाने र समयमा उपचारमा ध्यान नदिँदा मृत्युको मुखमा पुगेका घटना आइरहेकाले डेंगु संक्रमणको याममा बेलैमा डेंगु जाँच गराउनु राम्रो हुन्छ ।




