बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्स सहित चार वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान शुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायीमा आशा र उत्साह पलाएको छ । विमानस्थल उद्घाटन भएको साढे २ वर्षपछि नेपाल एअरलाइन्स, थाइ एअर एशिया, जजिरा र फ्लाई दुबईले उडान थालेपछि व्यवसायीमा आशा पलाएपनि विगत दोहोरिने आशंकाले ढुक्क भने छैनन् ।
रुपन्देहीमा भिसा सेन्टर, मेडिकल, श्रम कार्यालय, नेपालीका लागि ई भिसा र उडानको डाइरेक्ट कनेक्टिभिटी नभएका कारण विगतमा जजिरा र हिमालयन एअरलाइन्सले उडान बन्द गरेकाले विमानस्थलमा आवश्यक सरकारी कार्यालय तत्काल सञ्चालनमा ल्याउन व्यवसायीले माग गरेका छन् ।
२०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलबाट जजिरा एअरलाइन्सले सोही दिन उडान गरेपनि विभिन्न कारण देखाउँदै पुस ६ देखि उडान रोकेको थियो । हिमालयन एअरलाइन्सले पनि केही उडान गरेर बन्द गरेको थियो । उडान नभएपछि व्यवसायीहरु आन्दोलित भएका थिए ।
विमानस्थल उद्घाटन भएको साढे २ वर्षपछि नेपाल एअरलाइन्स, थाइ एअर एशिया,जजिरा र फ्लाई दुबईले उडान थालेका छन् । थाई एअर एशियाले कार्तिक १५ गते परीक्षण उडान र कार्तिक २३ गते हिजो व्यवसायिक उडान गरेको छ । यो कम्पनीले अब साताको दुई उडान नियमित गर्ने विमानस्थलका प्रवक्ता विनोदकुमार राउत बताउंछन् ।
शनिबार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरवेजको जहाज अवतरण भई साढे ८ बजे फर्केको छ । जजिरामा कुवेतबाट १७१ यात्रु आएका थिए भने भैरहवाबाट १६७ जना चढेका थिए । जजिराले साताको तीन दिन भैरहवाबाट उडान गर्नेछ ।
शनिबारै दिउँसो १२ बजे फ्लाइ दुबईको जहाज आएको छ । फ्लाई दुबईबाट १५९ जना आएका मध्ये १० जना भैरहवा अवतरण गरेका छन् । फ्लाइ दुबईले हप्तामा सातै दिन उडान गर्ने छ । नेपाल एअरलाइन्सको विमानले पनि राति भैरहवाबाट उडान गरेको छ । नेपाल एअरलाइन्सको नियमित उडान तालिका अझै निश्चित नभएको विमानस्थलले जनाएको छ ।
३५ अर्ब ६६ करोड लगानी भएको विमानस्थलबाट उद्घाटन भएको साढे २ वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा व्यवसायीहरु निराश थिए । अन्तर्राष्ट्रिय उडानहरु नियमित र पर्याप्त नहुँदा विमानस्थल लक्षित गरी होटल र पर्यटन क्षेत्रमा निजी क्षेत्रले गरेको करिब ८० अर्ब रुपैयाँ लगानीका व्यवसाय जोखिम र संकटमा परेको व्यवसायीहरुको गुनासो छ । अहिले चार वटा विमान कम्पनीले उडान शुरु गर्नु सकारात्मक भएको बताउंदै यसलाई नियमित र पर्याप्त संख्यामा हुनुपर्ने माग राखेका छन् ।
विमानस्थल निर्माणमा जग्गाको मुआब्जासहित ३५ अर्ब ६६ करोड खर्च भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ गते शिलान्यास भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो ।
अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त संख्यामा हुनुपर्छ ः व्यवसायी
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विगतमा पनि जजिरा र हिमालयन एअरलाइन्सले केही समय उडान गरेका तर यात्रु अभाव र अन्य कारण देखाउंदै उडान बन्द गरेको उदाहरण ताजै रहेकाले अब पनि ढुक्क हुने अवस्था नभएकाले जोखिम अझै रहेको बताउँछन् ।
‘जजिरा र हिमालयनले उडान शुरु गर्दा हामी आशावादी भएकै हो तर त्यो आशा धेरै दिन नटिकेको तीतो यथार्थ ताजै छ’-अध्यक्ष श्रेष्ठले भने-‘सरकारले एअरलाइन्स कम्पनीहरुलाई आकर्षित गरेको छ, यो स्वागतययोग्य नै छ तर विगत नदोहोरिने गरी उडानलाई निरन्तरता दिन विमानस्थल प्रयोग गरेर विदेश जानेहरुका लागि आवश्यक श्रम स्वीकृति, स्वास्थ्य परीक्षण लगायतका काम हुने सरकारी काज कार्यालयहरु तत्काल सञ्चालनमा ल्याउनुपर्छ, विमान कम्पनीलाई दिने घोषणा गरिएका छुट र सहुलियत समयमै दिनुपर्छ ।’
पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले काठमाडौंको व्यापारिक स्वार्थ र केन्द्रीकृत मानसिकताका कारण उद्घाटनको साढे दुई वर्षसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त हुन नसकेकाले अब सरकारले भैरहवालाई न्याय गर्नुपर्ने बताउंछन् । ‘विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले रुपन्देहीमा पांचतारे सहित ठूला होटल र पर्यटन क्षेत्रमा करिब ८० अर्ब लगानी गरेको थियो, तर साढे २ वर्षसम्म अन्तर्राष्ट्रिय उडान नहुंदा व्यवसायी धराशायी हुने अवस्थामा पुगेका छन्’-श्रेष्ठले भने-‘भैरहवाको विमानस्थललाई असफल बनाउन काठमाडौंका व्यवसायीले प्रभावशाली मिडियालाई समेत प्रयोग गरेर वातावरण बिगारे,अनि विमान कम्पनीहरु आएनन्, सरकारले यो नोक्सान र व्यवसायीका पीडा बुझेर अब यहांबाट उडान शुरु गरेका विमान कम्पनीलाई निरन्तरता दिन र थप कम्पनीलाई ल्याउन जरुरी छ ।’
३२ वटा निजी संघ-संस्थाहरुको साझा संस्था सिद्धार्थ सञ्जाल रुपन्देहीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त संख्यामा गराउन सरकारसंग माग गर्दै एक वर्षसम्म चरणवद्ध सडक आन्दोलन नै गरेको हुंदा सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्स आकर्षित गरेको सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताए । ‘निजी क्षेत्रको आन्दोलनको दवावले पनि अहिलेसम्म चारवटा विमान कम्पनीले उडान गनेृ भएका छन्, अब यसलाई निरन्तरता दिन सरकारले कुनै कसर बांकी राख्न हुंदैन’-अध्यक्ष ज्ञवालीले भने-‘विगत नदोहोरियोस् भन्ने रुपन्देहीका व्यवसायीको माग हो, दोहोरिएको खण्डमा थेग्ने अवस्था छैन, अरबौं लगानी डुब्ने र व्यवसायीहरु संकटमा पर्ने निश्चित छ ।’
टुर एण्ड ट्राभल व्यवसायी सञ्जय वजिमयले विमान कम्पनीलाई आकर्षित गरेर मात्र विमानस्थल दीगोरुपमा नचल्ने औंल्याउंदै रुपन्देहीमा भिसा सेन्टर, मेडिकल, श्रम कार्यालय, नेपालीका लागि ई भिसा र उडानको डाइरेक्ट कनेक्टिभिटी जस्ता अति आवश्यक सरकारी कार्यालय तत्काल सञ्चालनमा ल्याउनुपर्न सरकारलाई सुझाए । सरकारले विमान अवतरण, गृह आश्रय, पार्किङ, सञ्चार तथा उड्डयन सहायता शुल्क र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।




