गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको झण्डै साढे दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडानहरू नियमित र पर्याप्त मात्रामा हुन सकेको छैन । यसले गर्दा सरकारको चौतर्फी आलोचना भइरहेको थियो । राज्यको अर्बाैं लगानी भएको विमानस्थल राम्ररी नचल्दा औचित्य पुष्टि हुन नसकको भन्दै विभिन्न कोणबाट विश्लेषण भइरहेका थिए । सँगसँगै विमानस्थललाई हेरेर निजी क्षेत्रले ठूला होटेल र पर्यटन व्यवसायमा अरबौं रुपैयाँको लगानी गरेका थिए । ती व्यवसाय समेत विमानस्थल राम्ररी नचल्दा संकटमा परेका थिए । व्यवसायीहरूले पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय उडानहरू नियमित सञ्चालन गरी विमानस्थल पूर्ण क्षमतामा चलाउन माग गर्दै लामो समयदेखि आन्दोलनमा थिए ।
निजी क्षेत्रको चर्को दबाबकाबिच सरकारले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अग्रसरता लियो । फलस्वरूप तीन वटा विदेशी एअरलाइन्स र एउटा नेपाली एअरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरेका छन् । र भोलिदेखि नै नियमित उडान सुरु हुनेछन् ।
नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले भैरहवा–दुबई उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले भोलि शुक्रबारदेखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गर्नेछ ।
साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९ः३० बजे काठमाडौंबाट उडान भर्ने नेपाल एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ । यस्तै संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजीरा एयरवेज र थाइल्याण्डको थाइ एयर एशियाले पनि नियमित उडान गर्ने भएका छन् ।
फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक रूपमा र कुवेतको जजीरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेको छ ।
जजीरा एयरवेजले सातामा मंगलबार, बिहीबार र शनिबार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।
लामो समयदेखि अन्तर्राष्ट्रिय उडान हुन नसकेको सन्दर्भमा चार वटा एअरलाइन्सले धमाधम अन्तराष्ट्रिय उडान सुरु गर्ने भएपछि सरकारी र निजी क्षेत्रमा उत्साह जागेको छ । अब नियमित उडान भएमा भैरहवा र समग्र रूपन्देहीको पर्यटन व्यवसाय गुल्जार हुने आशामा व्यवसायी छन् ।
सरकारले एअरलाइन्सहरूलाई ग्राउण्ड ह्याण्डलिङसहित विभिन्न छुट दिने र विमानस्थल हुँदै विदेश जाने यात्रुहरूका लागि आवश्यक श्रम स्वीकृति, मेडिकललगायतका अत्यावश्यक सरकारी काम हुने सबै कार्यालय विमानस्थलमा तत्काल सञ्चालनमा ल्याउनुपर्छ । अन्यथा विगतमा जस्तै यात्रु अभावको कारण देखाउँदै फेरि विमान कम्पनीहरूले उडान बन्द गर्न सक्छन् । त्यो हुन गएमा यो विमानस्थलप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै नकारात्मक छाप पर्न जानेछ, जुन रूपन्देहीवासीका लागि दुर्भाग्य हुनेछ । त्यसैले सरकारी र निजी क्षेत्र मिलेर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त गराउन आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न जरुरी छ ।




